• १९ असोज २०८१, शनिबार

शक्ति लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

blog

कन्सल्टेन्ट प्रशिक्षकसम्बन्धी सम्झौता पत्र आदानप्रदान गरिँदै ।

काठमाडौँ, असोज १९ गते । राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।

लुम्बिनी लायन्सका‌ मालिक ईश्वर जिसी र गौचनले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । लुम्बिनीले सम्झौतालाई एक वर्षको रहेको र भविष्यमा समेत निरन्तरता पाउने बताइएको छ ।

एनपिएलको आयोजनाले क्रिकेट खेलाडीको व्यावसायिकता र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै गौचनले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई धन्यवाद दिनुभयो । उहाँले आफूलाई मौका दिएको लुम्बिनीलाई धन्यवाद दिँदै टोलीलाई जिताउन सक्दो प्रयास गर्ने बताउनुभयो । 

लुम्बिनीका मालिक जिसीले गौचनलाई टोलीमा समावेश गर्न पाउँदा खुसी लागेको बताउनुभयो । क्यानका सचिव पारस खड्काले नेपाली‌ क्रिकेटमा गौचनको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो ।

लुम्बिनीका मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल हुनुहुन्छ । क्यानको आयोजनामा मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने एनपिएलमा आठ टोलीको सहभागिता रहनेछ ।