• ७ मंसिर २०८१, शुक्रबार

समर्थनको पर्खाइमा सभापतिका आकाङ्क्षी

blog

समसामयिक भेटघाट भन्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले ७ असोजमा सामाजिक सञ्जालमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितको एउटा तस्बिर सार्वजनिक गर्नुभयो । जुन तस्बिर ६ असोजको साँझ महाराजगन्जस्थित कोइराला निवासमा भएको राजनीतिक संवादपछिको थियो । 

१५ औँ महाधिवेशनको सन्दर्भमा चर्चा सुरु भएपछि कांग्रेसभित्र ‘विरासत’ बोकेका तीन जना नेता अनौपचारिक संवादमा जुटेको बारे धेरैको मत छ, महाधिवेशनसम्मै एकै ठाउँमा हुनुस् शुभकामना । राजनीतिप्रति चासो राख्ने धेरैलाई थाहा छ, डा. कोइराला बिपीका, निधि महेन्द्रनारायणका र सिंह गणेशमानका छोरा हुनुहुन्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अगुवा नेतात्रयको योगदान अद्वितीय छ । तिनै जना कांग्रेसका संस्थापक नेता हुनुहुन्छ । डा. कोइरालाको अग्रसरतामा भएको पछिल्लो भेटमा अब समान धारणा बनाएर सबैलाई समेट्दै अघि बढ्न त्रय नेतापुत्र सहमत हुनुभएको छ । तीमध्ये एक नेताको भनाइमा कांग्रेसको १५ औँ महाधिवेशनसम्म सकेसम्म सबैलाई टिममा समेटेर अघि बढ्नु भेटको प्रमुख उद्देश्य हो । उहाँको भनाइमा जुन भेटमा पार्टीको आन्तरिक जीवनबारे पनि लामो कुराकानी भएको थियो । 

हुन त १४ औँ महाधिवेशनअघि पनि यी तीन नेताबिच भेटघाटको लामै शृङ्खला चलेको थियो । त्यतिबेला भेटघाटको सुरुवात निधि निवास बानेश्वरबाट भएको थियो । ती भेटमा नेतात्रयबिच सहमतिका साथ अघि बढ्ने भनिए पनि महाधिवेशनमा तीनतिर फर्केका थिए । निधि र सिंह सभापति पदमा प्रतिस्पर्धा गर्नुभएको थियो भने कोइराला केन्द्रीय सदस्यमा । त्यसबाट शिक्षा लिएर १५ औँ महाधिवेशनमा तिनै जनाको एउटै ‘भ्वाइस’ बनाएर जाने सहमति भएको छ । ‘नेपाली कांग्रेसको अवस्था अहिले जे–जस्तो छ, यसलाई सुदृढीकरण कसरी गर्ने र तिनै जनाको ‘भ्वाइस’ एउटै बनाएर जानु प¥यो भन्ने प्रस्ताव थियो,’ शशाङ्क निवासमा भएको कुराकानीबारे जानकारी दिँदै ती नेताले भने, “यसमा तिनै नेता सहमत भयौँ, यस्ता बैठकलाई निरन्तरता दिएर अघि बढ्ने छौँ ।” २०४६ सालको आन्दोलनताकाका क्रियाशील, त्यसअघिका र त्यसपछि पार्टीमा जोडिएका नेता, कार्यकर्तासँग पनि संवाद गर्दै जाने उनीहरूबिच सहमति भएको छ । ‘सबैलाई एकताबद्ध गरेर पार्टीलाई बलियो बनाउन जरुरी छ, त्यसका लागि हामी तीन जनाले अग्रसरता लिऔँ भन्ने कुरा भयो,’ ती नेताले भने । आगामी बैठकमा आउँदो महाधिवेशनलगायत पार्टीभित्रका आन्तरिक विषयमाथि पनि छलफल गर्ने उहाँहरूबिच समझदारी भएको छ । आउँदो महाधिवेशनसम्मै यस्ता छलफललाई निरन्तरता दिने प्रतिबद्धता पनि उहाँहरूले जनाएका छन् । 

‘रिटायर्ड’ को पर्खाइ

२७ भदौमा पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले उमेर र अन्य कारणले ‘रिटायर्ड’ को बेला भइसकेको भन्दै १५ औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने सङ्केत गरे । कसलाई हस्तान्तरण गर्ने हुन् त्यो भने उनले खुलासा गरेका छैनन् । दुई पटक सभापति भइसकेका देउवालाई कांग्रेसको विधानले तेस्रो पटक सभापति पदमा उम्मेदवार हुन रोक लगाउँछ । देउवाको यस्तो अभिव्यक्तिले विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि सभापति बन्न उहाँ इच्छुक हुनुहुन्न भन्ने कुराको सुनिश्चितता गरेको विश्लेषण कांग्रेसभित्र भइरहेको छ । 

नेपाली कांग्रेसको विधान २०१७ (दसौँ संशोधन २०७८) को दफा ४३ मा भनिएको छ, पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने छ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने छ । त्यस कारण विधान अनुसार कांग्रेसको १५ औँ महाधिवेशन मङ्सिर २०८२ मा हुनु पर्छ । असाधारण परिस्थितिमा एक वर्ष थप गर्दा मङ्सिर २०८३ सम्म महाधिवेशन हुनु पर्छ । अर्कातिर नेपालको संविधान २०७२ को धारा को दफा ४ (ख) मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनु पर्छ, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भन्ने उल्लेख छ । यसो हुँदा जेठ २०८३ सम्मको अवधि सभापतिले पाउनु हुने छ । यति भनिरहँदा १७ असारमा एमालेसँग भएको सातबुँदे सहमतिको चौथो बुँदामा भनिएको छ, ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मङ्सिरमा हुने आमनिर्वाचनसम्म कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने ।’ यो सहमतिबाट प्रस्ट हुन्छ कि सभापति देउवा एमालेसँगको सहमति अनुसार २०८३ असारमा प्रधानमन्त्रीको पर्खाइमा हुनुहुन्छ । जुन सहमति कार्यान्वयन हुँदा देउवा छैटौँ पटक मुलुकको प्रधानमन्त्री बन्नु हुने छ । २०८४ मा पार्टी सभापतिका हैसियतमा टिकट वितरण गर्ने र निर्वाचन गराएपछि देउवा उहाँकै शब्दमा बल्ल सभापतिबाट ‘रिटायर्ड’ हुनु हुने छ । त्यसो भए जेठ २०८३ मा महाधिवेशन गराउनै पर्ने बाध्यतालाई कसरी मिलाइन्छ त ? निकटहरूले वडा अधिवेशनबाट महाधिवेशन प्रक्रिया सुरु हुने तर्क गरेका छन् । 

देउवा ‘रिटायर्ड’ हुँदै गर्दा १५ औँ महाधिवेशनपछि कांग्रेस हाँक्ने नेताबारे चर्चा परिचर्चा सुरु हुन थालेको छ । यो चर्चा परिचर्चाका बिच भावी सभापतिमा पुराना मात्र होइन, नयाँ पुस्ताका नेताहरूले पनि देउवाको सहयोग र समर्थन खोजेका छन् । देउवाको समर्थन नभई सभापति बन्न नसकिनेमा आकाङ्क्षी ढुक्क छन् । पार्टीभित्र देउवाको पकड कति बलियो छ भन्ने यसबाट पनि प्रस्ट हुन्छ । देउवा समूहबाट विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का आकाङ्क्षी हुनुहुन्छ भने इतर समूहबाट डा. शेखर कोइरालादेखि गगन थापासम्म तथा डा. शशाङ्क कोइरालादेखि र कृष्णप्रसाद सिटौलासम्म पनि सभापतिका सम्भावित उम्मेदवार हुनुहुन्छ । आफ्नो समूहका मात्र होइन, इतर समूहका नेता पनि नेतृत्वमा पुग्न सभापति देउवाको आशीर्वाद पर्खेर बसेका छन् । देउवाले कसलाई आशीर्वाद दिने हुन् अहिले नै भन्न सकिने अवस्था छैन । पार्टी विभाजन हुँदादेखि देउवालाई साथ दिएका निधि १४ औँ महाधिवेशनमा सभापति पदका प्रतिस्पर्धी भए पनि दोस्रो चरणमा समर्थन गरेका कारण देउवाको आशीर्वाद पाउनेमा आशावादी छन् । दोस्रो चरणमा देउवाकै पक्षमा समर्थन गरेका सिंह पनि आशीर्वादको पर्खाइमा हुनुहुन्छ । अर्कातिर, उपसभापति खड्का आफूलाई सभापतिको स्वाभाविक दाबेदार ठान्नुहुन्छ । एमालेसँगको सत्ता सहयात्रामा फरक मत राख्नुभएका कारण सभापति देउवासँग पछिल्लो समय खड्काको दुरी बढेको चर्चा कांग्रेसभित्र छ । डा. शशाङ्कले १४ औँ महाधिवेशनमा देउवाका पक्षमा नखुले पनि शेखरको समर्थन नगरेका कारण १५ औँ महाधिवेशनमा समर्थन पाउने आशमा हुनुहुन्छ । डा. शशाङ्क मात्र होइन, १३ औँ महाधिवेशनमा तेस्रो धारको नेतृत्व गरेर सभापतिमा प्रतिस्पर्धा गरेका सिटौला पनि देउवाको समर्थन पाउन सके सभापति बन्न सकिने आशमा हुनुहन्छ । त्यस कारण सभापतिका सबै आकाङ्क्षीमा शेरबहादुरलाई चिढ्याउनुभन्दा खुसी बनाएर अघि बढ्दा नै राजनीतिक लाभ हुने बुझाइ छ । 

देउवा समूह र देउवासँग निकटस्थ मात्र होइन, इतर समूहका डा. शेखर र गगन पनि देउवाको समर्थन पाइन्छ कि भन्ने झिनो आशमा हुनुहुन्छ । त्यसका लागि सकेसम्म देउवालाई नचिढ्याउने उहाँहरूको नीति रहेको बुझ्न सकिन्छ । अर्कातिर, देउवा पनि समर्थनको आश देखाएर शेखर र गगनलाई ‘इन्गेज’ गराइराख्ने रणनीतिमा देखिनुहुन्छ । त्यसै कारण सहकारीको रकम हिनामिना प्रकरणमा महामन्त्री थापाले उठाएको विषयको प्रशंसा गरेर आफूले निकट व्यवहार गरेको सङ्केत देउवाले दिनुभएको छ । आफ्नै समूहबाट महामन्त्री जितेका थापा सभापतिको बलियो दाबेदार हुने भएपछि डा. शेखर पनि यही अवस्थामा सभापति बन्न कठिन हुने निष्कर्षका साथ देउवाको समर्थन जुटिहाल्छ कि भन्ने आशमा हुनुहुन्छ । आकाङ्क्षीले आफूबाट यस्तो आशा राखेका कारण सभापति देउवा पार्टीभित्र थप बलियो देखिनुभएको छ । सभापतिका आकाङ्क्षीको यस्तो आशाका बिच देउवाले कसलाई समर्थन गर्नुहुन्छ वा १४ औँ महाधिवेशनमा रामचन्द्र पौडेल जसरी मौन बस्नुहुन्छ अहिल्यै केही भन्न सकिने अवस्था छैन ।

Author

रामजी दाहाल