• ११ असोज २०८१, शुक्रबार

पर्यटन विकास र विश्व शान्ति

blog

विश्वका विभिन्न राष्ट्रका विमानस्थलबाट एकअर्का देशमा आवागमन गर्ने यात्रुको सङ्ख्या सन् २०२३ मा चार अर्ब २० करोड पुग्यो । सन् २०२२ मा तीन अर्ब २० करोड यात्रुले हवाई मार्ग प्रयोग गरेकामा एकै वर्षमा एक अर्ब बढ्नु तथा हवाई उडान सङ्ख्या बढेर तीन करोड ५० लाख पुग्नु पर्यटन पुनरुत्थानका दृष्टिले सुखद पक्ष छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार विमानस्थल प्रयोग गर्ने यात्रुको सङ्ख्या बढ्ने क्रमसँगै हवाई दुर्घटनामा पनि उल्लेख्य कमी आएको छ अर्थात् सन् २०२३ मा प्रति १० लाख उडानमा दुर्घटनाको सङ्ख्या १.८७ मात्र रहेको छ ।

एसिया–प्रशान्त क्षेत्रका राष्ट्रहरूको प्रसङ्गमा करिब २० करोड ८० लाखभन्दा बढी अन्तर्राष्ट्रिय यात्रुले एसिया–प्रशान्त क्षेत्रका विमान सेवाबाट यस वर्षको सात महिनामा एकअर्का देशका यात्रा गरे । कोभिड महामारीले विश्व पर्यटन थला परेको पृष्ठभूमिमा २०१९ को तुलनामा यस क्षेत्रमा हवाई यात्राबाट आवागमन गर्ने यात्रुको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको छ । पर्यटनसँग सम्बद्ध अन्तर्राष्ट्रिय निकायहरूले गरेको अध्ययन अनुसन्धान अनुसार कोभिड १९ महामारीबाट उत्पन्न सङ्कट अन्त्य भएपछि विश्व पर्यटक आगमन सन् २०२४ मा कोरोना महामारीपूर्वकै स्थितिमा फर्कने निश्चित देखिन्छ ।

वल्र्ड इकोनोमिक फोरमको हालैको अध्ययनमा कोभिड १९ सँग सम्बन्धित यात्रा प्रतिबन्ध विश्वव्यापी रूपमा हटाइएपछि अन्तर्राष्ट्रिय पर्यटक आगमन तथा विश्व कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान कोभिड महामारीपूर्वको स्थितिमा पुग्ने अपेक्षा गरिएको छ । पर्यटक आगमन वृद्धिमा सफलता प्राप्त गर्ने प्रमुख राष्ट्रमा संयुक्त राज्य अमेरिका, स्पेन, जापान, फ्रान्स, अस्ट्रेलिया र चीन लगायत पर्छन् । अन्तर्राष्ट्रिय पर्यटक आगमनतर्फ मध्यपूर्वमा सबैभन्दा उच्च सफलता हासिल भएको छ भने एसिया, युरोप, अफ्रिका र अमेरिकी महाद्वीपका अन्य राष्ट्रमा यो वर्ष अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन जगतले हाल भूराजनीतिक घटना, आर्थिक मन्दी, मुद्रास्फीति, कतिपय ठाउँमा द्वन्द्व र युद्धका कारण अनेकन खतरा र चुनौती सामना गर्नु परे पनि विश्वका अधिकांश राष्ट्रमा हवाई सन्जाल विस्तार, अन्तर्राष्ट्रिय सीमा खुला, प्राकृतिक तथा सांस्कृतिक सम्पदामा पर्यटकको बढ्दो अभिरुचि, पर्यटन उद्योगमा बढ्दो लगानी, पूर्वाधारको विकास विस्तार तथा भिसा प्रक्रियामा सरलीकरण जस्ता कतिपय कारणले पर्यटन आगमनमा यो वर्ष उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको हो ।

विश्व पर्यटन क्षितिजमा आशा र प्रगतिका सम्भावना बढ्दै गएको परिपेक्षमा यस वर्ष सेप्टेम्बर २७ मा अन्तर्राष्ट्रिय जगत्ले विश्व पर्यटन दिवस मनाएर पुनः एकपल्ट पर्यटनको गुणात्मक विकास र विस्तारमा सरकार तथा गैरसरकारी क्षेत्रको प्रतिबद्धता पुनर्पुष्टि गर्ने छ । सन् १९७९ मा स्पेनमा सम्पन्न एक राष्ट्रसङ्घीय सम्मेलनको निर्णय अनुरूप सन् १९८० देखि विभिन्न विषय र नारासहित विश्व पर्यटन दिवस मनाइने क्रम जारी छ । विश्व पर्यटन दिवसको उद्देश्य संसारभरि पर्यटन क्षेत्रलाई गतिशील पार्न विद्यमान समस्या तथा चुनौतीको समाधानका लागि एक्यबद्ध प्रयास गर्नतर्फ परिलक्षित रहँदै आएको छ । विश्व पर्यटन दिवस मनाउने क्रममा राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनले यस वर्षको मूल विषय ‘पर्यटन र शान्ति’ निर्धारण गरेको छ । प्रत्येक वर्ष पर्यटनसँग सम्बद्ध जल्दाबल्दा विषयलाई मूल विषयवस्तु बनाउने गरिएको छ सन् १९८० देखि नै ।

विश्व पर्यटन दिवस २०२४ को मूल समारोह आतिथ्यको जिम्मेवारी यो पल्ट सन् १९९१ मा तत्कालीन सोभियत सङ्घबाट पृथक् भएको पूर्वी युरोपको राष्ट्र जर्जियाले पाएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसद्वारा विश्व पर्यटन दिवसले पर्यटन र शान्तिबिचको अन्तरसम्बन्धलाई प्राथमिकता दिएकाले यस वर्ष विश्वका तनावग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्न विश्वव्यापी प्रयास जारी राख्नुपर्ने आवश्यकता औँल्याइएको छ । दिगो पर्यटन विकासले विश्वभरिका समुदायको आर्थिक सामाजिक रूपान्तरण गर्ने, नयाँ रोजगारी सिर्जना गर्ने तथा स्थानीय अर्थतन्त्रको विस्तार हुने छ । पर्यटन क्षेत्रको विकास विस्तारले विभिन्न राष्ट्रबिच अन्तरसम्बन्धको विस्तारका साथै सहयोग अभिवृद्धि, शान्तिपूर्ण विकासमा टेवा पुग्नुका अतिरिक्त जनता र राष्ट्रबिच पारस्परिक विश्वास र समझदारी वृद्धि हुने हुनाले यस वर्षको पर्यटन र शान्तिको नारा सामयिक र महìवपूर्ण रहेको छ । हालका अवधिमा पर्यटकमा लामो समयपछि विभिन्न राष्ट्रहरूको भ्रमण गर्ने उत्सुकता बढ्दै गएको तथा आन्तरिक पर्यटन प्रवर्धनमा व्यापक सफलता हासिल भएकाले यस वर्ष तनावग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्न सकिएमा अझै उच्चतम सफलता हासिल हुनेमा सन्देह छैन ।

यस वर्ष सेप्टेम्बर १० मा न्युयोर्कमा सुरु भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाले ‘कसैलाई पनि पछाडि नछोडौँ, वर्तमान र भावी पुस्ताका लागि शान्ति दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गरौँ’ मूल विषय अन्तर्गत विश्वका विभिन्न भूभागमा विद्यमान द्वन्द्वको स्थिति समाधान गर्न उच्च प्राथमिकता दिने अठोट गरेको छ । राष्ट्रसङ्घको महासभामा १९३ सदस्य राष्ट्रहरूका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा प्रतिनिधिको सहभागिता भएकाले विश्वका विभिन्न भागमा विद्यमान सङ्घर्षको स्थिति अन्त्य गर्न महासभाको प्रयास हुने भए पनि अपेक्षित उपलब्धि हासिल हुने सम्भावना छैन । 

विगत तीन दशकमा सबैभन्दा बढी हिंसात्मक सङ्घर्ष गतवर्ष विश्वले अनुभव ग¥यो । शीत युद्धको अन्त्यपछि सबैभन्दा हिंसात्मक वर्ष ठानिएको सन् २०२३ मा विश्वमा ५९ वटा सङ्घर्ष रेकर्ड गरिएको र त्यसमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा ३४ राष्ट्र सामेल भएको नर्वेस्थित पिस रिसर्च इन्स्टिच्युटको अध्ययनले देखाएको छ । दशकौँदेखि विश्वका विभिन्न भूभागमा राष्ट्रिय तथा क्षेत्रीय रूपमा भएका सङ्घर्ष अन्त्यका लागि लामो समयदेखि प्रयास जारी राखिए पनि हालसम्मका उपलब्धि त्यति अर्थपूर्ण हुन सकेका छैनन्, यद्यपि अन्तर्राष्ट्रिय सम्बन्धमा केही सकारात्मक उपलब्धि हासिल भएका छन् । 

मध्यपूर्व, एसिया र अफ्रिकाका कतिपय राष्ट्रमा विद्यमान सङ्घर्ष विश्व शान्तिका लागि मुख्य चुनौतीका रूपमा रहिआएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमास लडाकुले २५० व्यक्तिलाई बन्धक बनाएपछि इजरायलद्वारा गाजामा सुरु गरिएको बर्बर आक्रमण विश्व राजनीतिमा अहिले सर्वाधिक चिन्ताको विषय बनेको छ । इजरायलले गाजामा आक्रमण सुरु गरेपछि अहिलेसम्म त्यहाँ ३९ हजार व्यक्तिको मृत्यु भइसकेको छ, ९० हजारभन्दा बढी घाइते हुनुका साथै १९ लाख प्यालेस्टिनी आफ्नो भूमि छोडेर अन्यत्र भाग्न विवश भएका छन् । गाजा क्षेत्र र मध्यपूर्वका अन्य राष्ट्रमा रहेका लाखौँ लाख प्यालेस्टिनीले दशकौँदेखिको पीडा र यातना गाजा क्षेत्रमा इजरायली आक्रमणपछि अझ बढी सहनु परेको छ । 

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय समुदाय तथा इजरायलको मूल समर्थक अमेरिकी राष्ट्रपतिले बारम्बार युद्ध रोक्न इजरायलमाथि दबाब सिर्जना गरे पनि अझै त्यस क्षेत्रमा युद्ध अन्त्य हुने सम्भावना छैन । गाजा क्षेत्रका लाखौँ लाख व्यक्ति अद्यापि खानेपानी, खाद्यान्न, स्वास्थ्योपचार जस्ता जीवनका आधारभूत आवश्यकताबाट विमुख पारिएका छन् । सन् २००८ पछि इजरायल र हमासबिचको यो पाँचौँ भीषण युद्धको आगो अहिले मध्यपूर्वका अन्य क्षेत्रहरू–लेबनान, सिरियालगायतका राष्ट्रमा सल्किँदै गएको छ र तत्काल मध्यपूर्वको युद्ध अन्त्य हुने स्थिति छैन । मध्यपूर्वमा सल्किएको युद्धले विश्व अर्थतन्त्रमा अत्यन्त प्रतिकूल असर पारेकाले पर्यटन क्षेत्र पनि निकै प्रभावित भएको देखिन्छ ।

रुसले सन् २०१४ मा युक्रेनमाथि गरेको आक्रमण पूर्ण रूपमा अन्त्य नहुँदै २४ फेब्रुअरी २०२२ मा पुनः भीषण आक्रमण गरेपछि रुस–युक्रेन युद्ध विश्व युद्धपछि युरोपको सबैभन्दा ठुलो सङ्घर्ष प्रमाणित भएको छ । रुसी आक्रमण पछि युक्रेनका ८० लाख बासिन्दा आन्तरिक रूपमा विस्थापित भएका छन् । ४२ लाख देश छोडेर अन्यत्र शरणार्थीको जीवन बिताउन विवश छन् भने रुस र युक्रेन दुवैतर्फ ठुलो सङ्ख्यामा मानवीय क्षति भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको महत्वाकाङ्क्षाको कारण युक्रेनमाथिको रुसी आक्रमण पनि तत्काल अन्त्य हुने सम्भावना देखिँदैन ।

एक अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार हाल मध्यपूर्व र उत्तर अफ्रिकाका राष्ट्रहरूमा ४५ सशस्त्र सङ्घर्ष, अफ्रिकाका विभिन्न राष्ट्रमा ३५ सशस्त्र सङ्घर्ष, एसियामा अफगानिस्तान म्यानमा, फिलिपिन्स समेत विभिन्न देशमा २१ सशस्त्र सङ्घर्ष, युरोपमा सात सशस्त्र सङ्घर्ष तथा ल्याटिन अमेरिकामा छ सशस्त्र सङ्घर्षको कारण विश्व शान्तिको आकाङ्क्षा अधुरो रहेको छ । कतिपय राष्ट्रले बेलाबखत आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई युद्धग्रस्त र आन्तरिक सङ्घर्ष भएका राष्ट्रको भ्रमण नगर्न यात्रा सूचना जारी गर्ने गरेकाले यसको प्रत्यक्ष/परोक्ष असर विश्व पर्यटन उद्योगमा परेको जगजाहेर छ । 

यस अर्थमा राष्ट्रसङ्घीय निकाय विश्व पर्यटन सङ्घले सन् २०२४ को विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति छनोट गरेर शान्ति स्थापनामा सबैको सहयोगको आग्रह गरेको छ । विश्व पर्यटन अब यस वर्ष सन् २०१९ अघिको स्थितिमा पुनरावृत्त हुने दिशातर्फ उन्मुख छ । सन् २०२४ को सात महिनामा ७९ करोड पर्यटकले एकअर्का मुलुकको भ्रमण गरिसकेका छन् र यो प्रवृत्ति निरन्तर बढ्दै छ । पर्यटन क्षेत्रको योगदान विश्वको कुल गार्हस्थ उत्पादनको करिब ३.५ प्रतिशत अर्थात् अमेरिकी डलर तीन खर्ब चार अर्ब नाघेको छ र झन्डै सन् २०१९ को हाराहारीमा पुगेको देखिन्छ । एसिया–प्रशान्त क्षेत्रका कतिपय राष्ट्रहरूले पर्यटक आगमन वृद्धि गर्न आकर्षक रणनीति अवलम्बन गरेका कारणसमेत उल्लेख्य सफलता हासिल गरेका छन् पछिल्ला केही महिनामा ।

यस पृष्ठभूमिमा विश्वव्यापी रूपमा सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसले पर्यटन र शान्ति विषयलाई मूल विषय बनाएर विश्व समुदायमा यसप्रति जनचेतना जागृत गर्न अग्रसरता चालेको छ । विश्वका अधिकांश भूभागमा शान्ति स्थापना भएमा दिगो पर्यटन विकासले नयाँ रोजगारीको सिर्जना, स्थानीय अर्थतन्त्रको सुदृढीकरण, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा एकआपसमा सहयोग र शान्तिपूर्ण विकासको भावना अभिवृद्धि गर्न सघाउ पुग्ने छ । 

विभिन्न भूभागका सरकार, समुदाय तथा पर्यटन उद्यमी सबैले दिगो विकासका लक्ष्य प्राप्तिका लागि एकीकृत कार्यक्रम कार्यान्वयन गरी शान्ति स्थापना एवं जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानमा सामूहिक प्रयास गर्न सकेमा शान्ति र पर्यटनका लागि राष्ट्रसङ्घको मूलभूत उद्देश्यमा आंशिक रूपमा भए पनि योगदान पुग्ने छ र यो औपचारिकतामा सीमित हुने छैन । दिगो पर्यटन विकासका लागि शान्ति अपरिहार्य छ र यसले मात्र विकसितदेखि विकासशील र अल्पविकसित राष्ट्रहरूमा आर्थिक समृद्धिको यात्रा सहज पार्न सक्ने छ ।

Author

रमेश तिवारी