• ११ असोज २०८१, शुक्रबार

चाडपर्वमा चलायमान अर्थतन्त्र

blog

नेपाली संस्कृति र परम्परा विशिष्ट खालकै छ । साउने सङ्क्रातिपछि बिस्तारै चाडपर्वले माहोल बनाउन थाल्छ । महिला विशेष रमाउने तिजले केही वर्षदेखि नेपाली बजारलाई चलायमान बनाउँदै छ । यो पटकको तिजमा पनि पैसाको विस्तार राम्रै गरी भएको व्यवसायी बताउने गर्छन् । कतिपय व्यवसायले अलि कोल्टो फेर्न पाए । राजधानीलगायत देशका मुख्य सहरका पार्टी प्यालेसले पनि अलिकति जोहो गर्न पाए । अहिले सोह्रश्राद्ध लागेको छ । तरकारी तथा फलफूलको भाउ उकालो छ । कुखुराको मासु तथा अण्डा अलि सस्तिएको छ । यो सामान्य चाडपर्वको असर हो । बिस्तारै अब नेपालीका ठुला चाँड आउँदै छन् । अर्को सातापछि नौरथा लाग्दै छ तर अहिल्यै राजधानीलगायतका बजारमा भने बिस्तारै दसैँको माहोल बन्न थालेको छ । दसैँका निम्ति व्यवसायीले आयात गरिसके, गर्दै छन् । यो पटक बैङ्क तथा वित्तीय संस्थामा सस्तो ब्याजदर हुँदा व्यवसायीलाई सहज नै छ । यो सहजता उपभोक्तासम्म अलि पुग्न सकेको छैन । केन्द्रीय बैङ्कका स्फीति दरसँग बजार महँगीले मित लगाउन सकेको छैन ।

नेपाली चाडपर्वको आआफ्नै विशेषता थिए तर बिस्तारै ती विशेषतालाई आधुनिकीकरणले नराम्ररी थिचेको छ । त्यसको असर अर्थतन्त्रमा प्रत्यक्ष पर्न थालेको छ । केही दशक अघिसम्म चाडपर्वले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँथे । चाडपर्व गाउँ र सहरी अर्थतन्त्रका सेतु थिए । दसैँ आउनुपूर्व गाउँबाट खसी, बोका, राँगा सहर पस्न थाल्थे । भदौ लाग्दा नलाग्दै खसी, बोका र राँगा व्यापारी गाउँमा सल्बाउँथे । पूर्वी पहाडी जिल्ला उदयपुर, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बुतिर यस्तो प्रवृत्त थियो, अन्यत्र पनि हुँदो हो । व्यापारी भरसक उधारोमै लिन खोज्थे । गाउँघरकै व्यापारी भएकाले त्यो सहज पनि थियो । उधारोको मोल राम्रो हुन्थ्यो । दसैँ अगावैको भाखामा खासै तलबितल हुँदैन थियो । भइहाले ब्याज थपिएर आउँथ्यो ।

गाउँभरिबाट जम्मा गरेका खसी, बोका, राँगा दुई तीन साता लगाएर उनीहरू काठमाडौँ आउँथे । यातायातको आजको सुविधाको कल्पना पनि थिएन । ती व्यापारीले काठमाडौँमा खसी, बोका, राँगा बेचेर सायद राम्रै भाउँ पाउँथे होलान् । उहीहरूको हाँसीखुसी साथ गाउँ पुग्दाको सानले त्यो देखाउँथ्यो । कतिपयले यताबाट लुगाकपडा, जुत्ता आदिको व्यापार लैजान्थे । उधारो ल्याएका खसी, बोका, राँगाको तिरणभरण तिनै सरसमान भरसक भिडाउन खोज्नु अन्यथा होइन । आवश्यकता हेरी त्यस्तो व्यवहार चलेकै थियो । बाँकी तिरणभरण मिलाउँथे । कतिपय व्यापारी भने दसैँमा घर पुग्दैन थिए । उनीहरू उपत्यका वरपरका गाउँ छिरेर फेरि अर्को खेप खसी, बोका, राँगाको व्यापार गर्न लाग्थे । दसैँ पछि गाउँ पुगेकाले उधारो ल्याएका ती खसी, बोका र राँगाको ब्याजसहित तिर्थे । सँगसँगै तिनले काठमाडौँ उपत्यकाबाट अनेकौँ मिठा मिठा खबर गाउँ पुर्‍याउँथे । सञ्चार र यातायातको सुविधा नभएको त्यख बखत उनीहरूले गाउँ सहर जोडेका थिए ।

सायद दसैँले यसै गरी गाउँ सहरलाई युगौँदेखि जोडेको थियो । गाउँघरका कपडा पसले उधारैमा पनि थानका कपडा च्यातेर दिन्थे । भाउँ जे जस्तो भए पनि कसी कसाउ सायदै गर्थे, तिर्ने भाखा बढीमा माघे सङ्क्रान्तिसम्मको हुन्थ्यो । मङ्सिरमा खेतीबाली पाकेपछि किसान बिस्तारै त्यसैलाई बेखबिखन गरेर साहुको ऋण चुक्ता गर्थे । बनिबुतो गर्नेले पनि खेतीबाली उठाउन पाखुरा बिक्ने हुँदा साहुको ऋण तिर्न केही होलो हुन्थ्यो । ‘दसैँ आयो ढोलबजाइ, दसैँ गयो ऋण बोकाइ’, भन्ने उखान भने राम्रै गरी चलेको थियो । गाउँको अर्थतन्त्र केही मात्रामा चलाउमान बनाए पनि धेरै मानिस गरिबीको रेखामुनि थिए । खसी, बोका, राँगा गाउँका मध्यम र निम्न मध्यम वर्गमा मात्र हुन्थ्यो । पशुपालन स्रोत र मेहनतसँग जोडिने हुँदा सबैको बुताभित्र थिएन ।

चाडपर्व धेरै सहज नभए पनि चौपट्टै रमाइलो माहोल भने बन्थ्यो । गाउँघरमा रमाइलो दसैँको त्यो पाटो बिस्तारै ओझेलमा पर्दै गएको छ । गाउँघरमा अब पशुपालन घट्दो क्रममा छ । गाउँबाट खसी, बोका, राँगाको आपूर्ति बिस्तारै कमजोर हुँदै छ । पशु आपूर्ति न्यून हुने क्रमसँगै गाउँबाट सहरतिर पस्ने अन्नपात पनि घटेको छ । नेपालका सहरबजार आधुनिकीकरण त हुँदै छन्, सँगसँगै आयातित वस्तुले बजार ढाकेको छ । स्वदेशी उत्पादनको हिस्सा क्रमशः कमजोर हुँदै छ । आयाती वस्तुहरूकै बजार गाउँगाउँसम्म पुग्दै छ । गाउँको उत्पादन, गाउँकै उपभोग संस्कृतिमा बिस्तारै विराम लाग्दै छ । गाउँघरका घर क्रमशः खाली हुँदै छन् । धनहर खेत, उब्जाउशील बारी बाँझो हुँदै जाँदै छन् । पुर्खाले कठिन मेहनतले भिरपहरा, पाखा, बुट्याउन फाँडेर बनाएका खेतबारी फेरि बन्जर हुँदै बुट्यानतिर अग्रसर छन् । जङ्गली जनावरको पहुँच बढेसँगै खेती गर्छु भन्नेहरूका निम्ति पनि अब असहज हुँदै गएको छ । चाडपर्वमा यसको प्रत्यक्ष असर भनेको आयातमा आधारित अर्थतन्त्रतिर उन्मुख हुनु हो ।

साठी लाखभन्दा बढी नेपाली अहिले विदेशमै हुँदा प्राप्त विप्रेषणले चाडपर्व धान्दै छ । चाडपर्व खर्चिला हुँदै छन् । त्यो त यो बढेको खर्चले निश्चय पनि अर्थतन्त्र चलायमान हुने छ । आय र विप्रेषणमा पहुँच नहुनेका निम्ति भने ऋण लिएर पनि चाडपर्व मान्नेपर्ने बाध्यता छ । सरकारी सेवामा हुनेका निम्ति चाडपर्व केही सहज हुने नै भयो । एक महिनाको तलब थपिएर आउँछ । सरकारी सङ्घसंस्था, निजी क्षेत्र सबैतिर चाडपर्वमा थपेरै तलब दिने प्रचलनले रोजगारीमामा हुनेका निम्ति चाडपर्व केही सहज हुन्छ । त्यही सहजताले बजार क्रियाशीलता बनाएको देखिन्छ । राजधानीका मुख्य बजारका चहलपहल अहिल्यैदेखि बढ्न थालिसकेको छ । यताका दुई महिना पुँजी बजारमा कारोबार बढ्यो । झन्डै एक हजार विन्दुले बढेको नेप्से परिसूचक अहिले तल आएको छ । दिनकै झन्डै ३० अर्ब रुपियाँसम्मको कारोबार पुगेको बजार दसैँसम्म निरन्तर हुनु सकेको भए यो चाडपर्व धेरैका निम्ति अझै सुखद हुने थियो । कतिपय लगानीकर्ता निराश छन् ।

असारमा नयाँ सरकार आएपछि पुँजी बजारमा छाएको हरियाली लामो समय टिक्न नसक्दा सरकारलाई पनि दबाब परेको अनुभूति हुन्छ । अर्थमन्त्री विष्णु पौडेल स्थलगत रूपमै पुगेर अधिकारीहरूसित पुँजी बजारको अहिलेको प्रवृत्तिको जानकारी लिनुभयो । बजारका अवरोधक चिर्न नीतिगत कठिनाइ नजिकबाट नियाल्दै फुकाउने ध्येय पनि अर्थमन्त्रीको हुन सक्छ । निश्चय नै चाडपर्वको अघि बजार अलि सुस्ताउँदा धेरै लगानीकर्ता खुसी हुन सक्ने कुरा भएन । अब बजारमा चाडपर्वको कस्तो प्रभाव पर्छ ? भन्ने विषय पनि अझै चासो हुने नै भयो । विगतमा भन्ने हो चाडपर्वको नजिक बेच्ने प्रवृत्ति अलि बढी भएकाले बजार दबाबमा रहने गरेका कतिपय स्मरण छन् ।

हिजोको ग्रामीण अर्थतन्त्र चाडपर्वलाई जोड्ने कडी थियो भने ती ठाउँ बिस्तारै पुँजी बजार जस्ता अर्थतन्त्रको आधुनिक औजारले विस्थापित गर्दै लैजानु पनि स्वाभाविक विकल्प जस्तै हुन्छ । कुनै बेला खसी, बोका, कुखुरा, राँगा बेचेर मानिस चाडपर्वको गर्जो टार्थे भने अब आफूसँग भएका सेयरका कतिपय अंश बेचेर पनि चाडपर्वको गर्जो टार्नु स्वाभाविक हुन आउँछ । कतिपय कम्पनीले दसैँअगावै साधारण सभा गरेर बोनससमेत वितरण गर्ने गरेको छन् । गाउँ सहरका कतिपय सहकारीले दसैँअगावै साधारणसभा सम्पन्न गरेर सदस्यलाई बोनस दिने छन् । देशका केही दर्जन ठुला सहकारीले पद र शक्तिको दुरुपयोग गरेर सर्वसाधारणको अर्बौं रुपियाँ अपचलन गर्ने अपराध कुकर्मको यही बेला चर्को बहस चलेको छ । हजारौँ सहकारीले अहिले पनि ग्रामीण अर्थतन्त्रमा धिपधिपे बत्ती बालिरहेका छन् । सहरकै पनि कतिपय सहकारीले राम्रो गरेको छन् । चाडपर्व पूर्वको अर्थतन्त्रमा आर्थिक क्रियाशीलता ल्याउन त्यस्ता सहकारीको योगदान महìवपूर्ण छ ।

दसैँ नजिकै आउँदै गरे पनि देशभरकै सडकको अवस्था भने राम्रो छैन । बर्सातले नराम्ररी बिगारेका छन् । मौसम यो वर्ष केही लम्बिने सङ्केत पनि देखिँदै छ । गाउँसम्म पुग्ने सडक मर्मतसम्भार तत्कालै गर्नुपर्ने छ । स्थानीय, प्रदेश र सङ्घ अर्थात् तीनै तहका सरकारका सम्बद्ध निकायले अविलम्म सडक मर्मतमा ध्यान दिनु पर्छ । चाडपर्वमा मानिसको ओहोरदोहोर बढ्दो हुन्छ । गाउँसम्म पुग्न तथा आपूर्ति व्यवस्था सहज बनाउन सडक सुधार गर्नेपर्ने ठाउँलाई अब तत्काल ध्यान पुर्‍याउनु पर्छ । यसले तिनै तहका सरकारको थोरै भए पनि पुँजीगत खर्च बढाउन पनि सहयोग गर्छ । साथै, श्रमिकहरूसम्म रोजगारी पुग्ने छ । सडक मर्मतका क्रममा निर्माण कम्पनीहरूले काम पाउने छन् । सिमेन्ट, गिटीबालुवा आदिको आपूर्तिले आर्थिक क्रियाशीलतामा सहयोग पुग्ने छ ।

अर्थतन्त्र अझै पनि सुस्त छ । न्यून ब्याजदरमा पनि कर्जा प्रवाह बढ्न सकेको छैन । सीमा क्षेत्रका नेपाली बजारमा पनि समस्या नै छ । पारितिरै उपभोक्ता झुम्मिने प्रवृत्ति छ । चोरी व्यापारमा प्रभावकारी नियन्त्रण हुन सकेको छैन । यसले चाडपर्वको नजिक पनि सीमावार नेपाली बजारमा खुसियाली छाउन सकेको छैन । यसले सरकारले पाउने राजस्वमा पनि प्रतिकूल असर परिरहेको छ । भरसक नेपाली उत्पादन र बजारलाई सहजीकरण गर्न तीन तहकै सरकार क्रियाशील हुनु पर्छ । सरकारले सुपथ मूल्यका पसल सञ्चालन गरेर बजार सन्तुलन कायम गर्न खोजेको छ तर यो अभ्यास मात्र पर्याप्त छैन । उत्पादन र आपूर्ति व्यवस्थालाई सहज बनााउँदै बजार शुद्धताको अभ्यास अगाडि बढाउनुु पर्छ । उपभोक्ता महँगीको मारमा पर्नुहुन्न । सरकारसँगै निजी क्षेत्रका सङ्घसंस्थाले पनि बजार सहजीकरणमा गम्भीर ध्यान दिनुपर्ने छ ।

Author

जुनारबाबु बस्नेत