• ८ पुस २०८१, सोमबार

सोह्रश्राद्ध [कथा]

blog

केही दिनदेखि कैलाश बसेको सहरको बाटोमा हिँड्दा पहेँलो केसरीको टीका लगाएका मानिसहरू प्रशस्त देखिन्थे । आश्विन कृष्णपक्षको समय थियो । यसलाई पितृपक्ष र बोलीचालीको भाषामा सोह्रश्राद्ध पनि भनिन्छ । कोही माइतीबाट, कोही मावलीबाट, कोही ससुरालीबाट यिनीहरू श्राद्धमा गएर फर्केका थिए । त्यसैले त श्राद्धमा गएर फर्किएकाका निधारमा पहेँलो टीका देखिन थालेको थियो । यी सबैले आफ्ना दिवङ्गत भएकालाई सम्झिए होलान् । श्राद्धमा गएकाले आफ्नो जीवनकालमा त्यो स्वर्गीय भएको व्यक्तिलाई देखेका भए त सम्झिए होलान् । नदेख्नेले त केवल श्राद्धमा खाए रमाए पनि होलान् । संसारमा मानिस जन्मेपछि सधैँ यो धर्तीमा बस्न पाइँदैन । एक दिन त यो संसार छोड्नै पर्ने । यो कुराको ज्ञात हुँदाहुँदै पनि जाल, झेल, अरूलाई दुःखपीडा दिएर रमाउने मानिस प्रशस्तै समाजमा भेटिन्छन् । 

यो पितृपक्षमा कैलाशलाई पनि कहिले कहाँ त, कहिले कहाँ श्राद्धमा निम्ता मनाउन जानु पर्‍यो । श्राद्धको खिर, फुलौरा र अन्य गरिष्ठ परिकारको सेवन गरेर आएपछि पेट गरुङ्गो हुन्थ्यो । अबको केही दिनपछि त उनले पनि आफ्नो घरमा श्राद्ध गर्नु पर्थ्यो । आफन्त, छोरीबेटी, भान्जाभान्जी र इष्टमित्र सबैलाई डाक्नु पर्थ्यो । श्राद्ध गराउने बाहुनबाजेलाई पनि जजमानहरूकहाँ श्राद्ध गराउँदा गराउँदै फुर्सदै थिएन । एकैदिन दिनको तीन चार ठाउँ पनि भ्याउनु पर्थ्यो । जजमानकहाँ कहिले त बाहुनबाजे धेरै ढिलो आइदिन्थे । जजमान त्यतिन्जेल त भोकभोकै पनि बस्नु पर्थ्यो । यी सबै कारणले गर्दा जब कैलाशको घरमा श्राद्ध सकिन्थ्यो, तब उनलाई हाइसन्चो हुन्थ्यो । ततपश्चात् कैलाश खुसी हुन्थे । किनकि उनलाई आफ्ना पितृ तृप्त भए, उनीहरूको उद्धार भयो भन्ने मनमा पर्थ्यो ।

कैलाशकी श्रीमती पनि असाध्यै धार्मिक प्रवृत्तिकी र उनीभन्दा धर्मकर्मको मामलामा सचेत, अनुशासित थिइन् । सोह्रश्राद्ध नसकुन्जेल उनलाई धेरै नियम कानुन पालना गर्न लगाउँथिन् । यो खान हुन्छ, यो खान हुन्न, भुजा एक छाक मात्र खानु पर्छ, दिनहुँ नुहाउनु पर्छ भनेर कैलाशलाई सम्झाउँथिन् । कैलाश पनि सबै कुरा मानिदिन्थे । श्रीमान् श्रीमती दुवै उनीहरूसँग भएको अथाह श्रीसम्पत्ति पितृ खुसी भएर प्राप्त भएको हो भन्नेमा विश्वस्त थिए । 

हिजो मात्र कैलाशकहाँ सोह्रश्राद्धको तिथि परेको थियो । उनले विधिपूर्वक श्राद्ध सम्पन्न गरे । श्राद्ध सम्पन्न गर्दा अपराह्न ३ बजिसकेको थियो । गाईकहाँ लगेर पिण्ड खुवाउनु, पाहुनालाई खुवाएर मात्र आफू खाने गर्दा त उनले खाइपिई गर्दा करिब ४ बजिसकेको थियो । पाहुनापाछा त करिब सन्ध्याकालसम्मै थिए । उनीहरूसँग पनि भलाकुसारी गर्नै पर्‍यो । केही बेर तास खेलमा पनि जम्नै पर्‍यो । यी सबै कारणले गर्दा उनी थकित भएका थिए ।

कैलाशले पैसा पनि निकै कमाएका थिए । श्राद्ध पनि मन फुकाएर गर्थे । छोरीबेटीलाई पनि दक्षिणा मनग्गे दिए । भोजनमा पनि कुनै कन्जुस्याइँ थिएन । श्राद्धमा आएका निम्तालुलाई पनि हिँड्ने बखतमा पितृप्रसाद भनेर मिठाईका पोका बाँडे । यी सबै कारणले गर्दा उनका घरमा श्राद्ध पनि एउटा ठुलै उत्सव झैँ लाग्थ्यो ।

सबै पाहुना आआफ्ना घर फर्किसकेका थिए । घरमा कैलाशका परिवार मात्र थिए । घरका सदस्यबिच आज सम्पन्न भएको श्राद्धमा आएका पाहुनाका बारेमा फलानो त यस्तो फलानो त उस्तो भनेर चियोचर्चो हुन थाल्यो । यस्तै अनेक थरी नानाभाँतीका कुरा पनि भए । त्यसपछि थकित भएका कैलाश आफ्नो कोठामा सुत्न गए । कोठाको बत्ती निभाए । कोठा पूर्ण रूपले अन्धकार भयो । उनी निदाउने कोसिस गर्थे तर निद्रादेवीले शरण लिएकी थिइनन् । कैलाशलाई मनमा अनेक थरी तर्कना आउन थाल्यो । कहिले अफिसको कुरा, कहिले पाहुनाका कुरा, कहिले घरका कुरा, एकपछि अर्को तर्कनाले उनको निद्रा बिथोलिरह्यो । त्यही बखत उनको अँध्यारो कोठामा अम्बाको फल जत्रो चहकिलो एउटा प्रकाशपुञ्ज आएर फनफनी घुम्न थाल्यो । यो देखेर उनी आश्चर्यमा परे । 

बिस्तारै त्यो प्रकाशपुञ्जबाट एकपछि अर्को गरेर उनका आमाबाबु र अरू दिवङ्गत भएका आफन्त पूरै सेता लुगा लगाएर कैलाशका अगाडि निस्कन थाले । यो देखेर उनी डराए । कैलाश डराएको देखेर आफन्तहरू हाँस्न थाले । उनीहरूको हाँसो अट्टहासपूर्ण थियो । यो देखेर कैलाश थर्थरी काम्न थाले । उनलाई भाग्न मन लाग्यो, चिच्याउन मन लाग्यो तर उनी न भाग्न सक्थे न त चिच्याउन ।

पितृहरू उनका नजिक आउन थाले । तीमध्ये सबैभन्दा बुढा देखिने लामो सेतो कपाल र दाह्रीजुँगा भएक पितृ उनको अगाडि आए । कैलाशको अगाडि आउँदा पितृको मुद्रा गम्भीर देखिन्थ्यो । मुखमण्डलमा आभा फैलिएर चारैतिर उज्यालो भएको थियो । उनी एउटा सिद्ध पुरुष झैँ देखिन्थे । अरू पितृमध्ये कुनै एकले उहाँ त तेरो हजुरबुवा हो भनेको कैलाशको कानमा पर्‍यो । उनले हजुरबुवा कहिल्यै पनि देख्न पाएका थिएनन् । उनका हजुरबुवा त कैलाश जन्मनुभन्दा अघि नै स्वर्गीय भइसकेका थिए । कैलाश त झन् अकमक्क परे । उनलाई के गरूँ के गरूँ भयो । फेरि त्यही पितृको समूहबाट उनलाई कसैले हकार्‍यो, 

“मूर्ख ! तँ के चुप लागेर बसिरहेको, आफ्नो हजुरबुवालाई दण्डवत् गर्नु पर्दैन ?” त्यसपछि उनी आफ्नो त्यो सेतै भएका हजुरबुवालाई ढोग्न अगाडि बढे । यो देखेर उनका हजुरबुवा बोल्न थाले, “पर्खी, मलाई अहिले नढोग् । पहिले तँसँग मलाई धेरै कुरा गर्नु छ ।”

कैलाश ढोग्न गएको हजुरबुवाको अगाडि गएर ठिङ्ग उभिए । फेरि उनका हजुरबुवाले बोल्न सुरु गरे, “पापी, तैँले मलाई ढोग्नु पर्दैन । आज खुबै श्राद्ध गरी पितृहरूको उद्धार गरेँ भन्ने छ हैन तँलाई । तैँले त हामीलाई नर्कमा हालिस् । बुझिस् सरकारको नुन खानु भनेको जनताको नुन खानु हो । जे जति सरकारबाट तलबभत्ता पाउँछस्, त्यो सबै जनताले तिरेको कर हो । जनताबाट पालिएको तँ जनतालाई नै दुःख दिई घुस लिने, भ्रष्टाचार गर्ने, अनि अकुत सम्पत्ति जम्मा गर्ने ? अनि धुमधामसँग हाम्रो श्राद्ध पनि गर्ने ? तैँले चढाएको पिण्ड, पानी, फलफूल हामीकहाँ आउँदा अभक्ष्य खानेकुरामा परिणत हुन्छ । त्यस्तो कुरा हामीले कसरी ग्रहण गर्ने ? तैँले गरेको कुकृत्यले हामीलाई पोल्ने मात्र गर्छ । आज हामी पितृलोकबाट मत्र्यलोकमा आयौँ तर अहिलेसम्म पनि हामीलाई भोजन प्राप्त भएको छैन । हामी भोकभोकै छौँ । अब कसरी हाम्रो भोक शान्त गर्छस् । तँसँग भएको सबै द्रव्य चोखो छैन । त्यस्तो बिटुलो धनबाट बनेको खाद्य पदार्थ हामी ग्रहण गर्न सक्दैनौँ ।”

कैलाशलाई सबै पितृले राता राता आँखा लगाएर खाऊँला झैँ गरेर हेर्न थाले । उनलाई त्यहाँबाट दौडेर भाग्न मन लाग्यो । उनी आफ्नो कोठाबाट हतारिँदै बाहिर निस्की फटाफट हिँड्न थाले । सबै पितृ पनि उनीसँगै आई उनलाई घेर्न थाले । त्यहाँ पुरुष पितृ मात्र थिएनन्, महिला पितृ पनि थिए । तीमध्येकी एउटी सेतै जगल्टा भएकी पितृले बोल्न थालिन्, “यो घुस्याहा मात्र हैन, यो त पतित पनि छ । यसले स्त्री जातिको सम्मान कहिल्यै गर्न जानेन । स्त्रीहरूलाई यसले राम्रो दृष्टिले कहिल्यै हेरेन । यो यौन दुराचारी पनि हो । यसलाई अब हामीले हाम्रो लोकमा लगेर भकभकी उम्लिरहेको तेलको कराईमा लगेर डुबाउनु पर्छ । यो दुराचारीलाई त्यसो गरेमा मात्र हामीले शान्ति पाउँछौँ । खै यसलाई म आफैँ समातेर लान्छु ।”

यो देखेर कैलाश पछि पछि सर्दै गए । पछि सर्दै जाँदा उनी बारीको कान्लाबाट तल झरे । त्यसपछि उनी झल्याँस्स बिउँझिए । उनी त सुतेकै खाटबाट तल झरेका थिए । आज यत्रो सोह्रश्राद्ध गरेको दिनमा पनि कस्तो डरलाग्दो सपना देखेँ भनेर विचारमग्न भए । पितृहरू मेरो कर्मसँग सन्तुष्ट छैनन् भन्ने महसुस गर्दै फेरि उनी खाटमाथि गए । रात छिप्पिँदै थियो तर उनी चिन्तित भई निदाउनै सकेनन् ।