• २५ पुस २०८१, बिहिबार

अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ह्विलचेयर वितरण गर्नुहुँदै । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, भदौ २७ गते ।
 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । लक्षित वर्गलाई समेट्न गरी नीति, कार्यक्रममा सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो ।

‘‘प्रादेशिक अपाङ्गता नीति निर्माण भएर कार्यान्वयन भइरहेको छ, अपाङ्गताको क्षेत्र केन्द्रित भएर काम गर्ने गरी अपाङ्गता निर्देशन समिति छ’’ बिहीबार राष्ट्रिय अपाङ्ग कोषले आयोजना गरेको ह्विलचियर वितरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘अपाङ्गतासम्बन्धी ऐनको तयारी भइरहेको छ ।’’

प्रदेश सरकारले निर्माण गर्ने संरचना अपाङ्गमैत्री हुनुपर्ने नीति लिइएको बताउँदै उहाँले कार्यान्वयनका लागि प्रदेश सरकार मातहतका सबै निकायलाई निर्देशन दिइएको बताउनुभयो ।

‘‘यसअघि बनेका पुराना संरचना धेरैजसो अपाङ्गमैत्री छैनन्, अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने नीति सरकारको छ,’’ उहाँले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण, सशक्तीकरण, क्षमता विकास, सहायता सामग्री वितरण लगायतका काम सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालय मार्फत प्रदेश सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

‘‘सबै खालको अपाङ्गता भएकाहरूलाई समेट्ने गरी अपाङ्गता निर्देशन समितिमा १० प्रकारको अपाङ्गता प्रतिनिधित्व गर्नेहरू हुनुहुन्छ । यो समितिले नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनमा सरकारलाई सहयोग गर्नेछ,’’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

जिल्लास्थित सामाजिक विकास कार्यालयमार्फत अपाङ्गता क्षेत्रमा सहयोग पुग्ने गरी हक अधिकार लागि बहस, पैरवी, समुदायमा आधारित पुनः स्थापना, बिउँ पुजी वितरण लगायतका कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेले अनुरोध गर्नुभयो ।

प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, व्यवसाय सञ्चालन लगायत कार्यक्रम र अपाङ्गता भएकालाई प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरेको बताउँदै उहाँले भन्नुभयो, ‘‘सरकारको साधन स्रोत, क्षमताले भ्याउँदासम्म सहयोग थप्दै लगिनेछ ।’’ यस क्षेत्रमा काम गर्ने दातृ निकाय, विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा सरकारले समन्वय र नीतिगत सहजीकरण गर्दै जाने उहाँले बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग कोषले दैनिक आवश्यक पर्ने सहायक सामग्री कृत्रिम हात खुट्टा, क्यालिपर, बैसाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचियर जस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको सभापति डेकराज भट्टराईले जानकारी दिनुभयो । बिहीबार कोषले विशेषज्ञबाट नापजाँच एवम् तालिमसहित ओम हङ्ग गिल ह्यूमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचियर मुख्यमन्त्री पाण्डेले ३२ जनालाई  वितरण गर्नुभयो ।