• २५ पुस २०८१, बिहिबार

पर्वतका होम-स्टे पर्यटकको पर्खाइमा

blog

पर्वतको मोदी गाउँपालिका–१ भुकमा रहेका पुराना शैलीका घरहरु । तस्बिर : गणेश पौडेल

गणेश पौडेल

पर्वत, भदौ २७ गते । वर्षा लागेसँगै आन्तरिक पर्यटकको आगमन नहुँदा सुनसान बनेका पर्वतका विभिन्न ठाउँमा सञ्चालित ‘होम–स्टे’ (घरवास) पर्यटकको पर्खाइमा छन् । कोभिडका कारण बन्द भएका होमस्टेहरू गत २ वर्ष राम्रोसँग सञ्चालन भएको भए पनि आर्थिक मन्दी हुँदा र वर्षाका कारण सडक पहुँच बन्द हुँदा सुनसान बनेका हुन् ।

पर्वतमा पाँच दर्जन बढी होम–स्टे सेवा सञ्चालनमा छन् । वर्षाका कारण सडकको पहुँच नहुँदा आन्तरिक एवम् बाह्य पर्यटकहरू आएका छैनन् । असोजको अन्तिम सातादेखि पर्यटकहरूको चहलपहल हुने गरेको भुक होमस्टेका सञ्चालक टेक बहादुर गुरुङले बताउनुभयो । ‘राउण्ड अन्नपूर्ण लगायत बिदा मनाउन आउनेहरू मौसम सुधार भएपछि मात्रै हिँड्ने भएकाले चहलपहल छैन,’ उहाँले भन्नुभयो ।

अहिले पर्वतका सात वटै पालिकामा गरी ६२ वटा घरवास सेवा सञ्चालनमा रहेका छन् । उद्योग तथा पर्यटन कार्यालय पर्वतका अनुसार कुस्मा नगरपालिकामा ११, फलेवास नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा १९, जलजला गाउँपालिकामा ६, महाशिला गाउँपालिकामा ९, पैयुँमा तीन र विहादीमा सातवटा होमस्टे सेवा सञ्चालनमा रहेका छन्। यी सामुदायिक होमस्टे हुन् भने दुईवटा निजी होम–स्टेसमेत सञ्चालनमा रहेका छन् । 

जिल्लाको कुस्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्ग, वडा नं. १४ आर्थर, फलेवास नगरपालिका वडा नं. २ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशिला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुंखु, विहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे तथा पैंयु गाउँपालिकाको नेकर्गा र चिन्नेखर्क लगायतका स्थानमा सञ्चालित घरवास हिउँदको समयमा चल्ने भए पनि वर्षायाममा भने सुनसान बन्ने गरेका छन् ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ पछि ठप्प जस्तै बनेका अधिकांश घरवासमा गत वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य मात्रामा चहलपहल बढेको थियो । गत वर्ष कोभिडभन्दा अगाडिकै अवस्थामा पर्यटकहरू आएका सञ्चालकहरू बताउँछन् ।  

गण्डकी प्रदेशकै अग्रणी घरवास सेवा दिँदै आएको पर्वतको मोदी गाउँपालिका ८ चित्रेस्थित पञ्चकोशी सामुदायिक होमस्टेमा मात्र गत वर्षमा चार हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका थिए । धेरैको रोजाइमा पर्दै आएको ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’ मा नेपालका विभिन्न जिल्लावाट पाहुनाहरू आउने क्रम अब सुरु हुने होम–स्टे व्यवस्थापन समितिका अध्यक्ष शुसिलादेवी गुरुङले बताउनुभयो । 

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरूको मन जित्दै आएको छ । अहिले वर्षायाम भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या शून्यजस्तै रहेको छ । अब बिस्तारै हिउँदयाम सुरु भएपछि पर्यटकहरू आउने क्रम सुरु हुने उहाँको भनाइ छ ।

चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरूको सङ्ख्या धेरै छ । पछिल्लो समय स्थानीय तहहरूले समेत होमस्टे सञ्चालनका लागि आर्थिक सहयोग गरेसँगै पूर्वाधार विकास भई गुणस्तरीय सेवा समेत पाइने गरेको छ । यसका साथै सडक सञ्जाललाई समेत पहिलो प्राथमिकता दिएर काम गरिएको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताउनुभयो ।