कावासोती समाचारदाता
कावासोती, भदौ २७ गते । पछिल्लो समय सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिक्षा आर्जनले प्रयोगात्मक रूपमा प्रयोगमा ल्याउने सिप भएन भने त्यसले खास अर्थ राख्दैन । यही कुरालाई व्यवहारमा उतार्ने प्रयासमा कावासोतीका सामुदायिक विद्यालय लागिपरेका छन् ।
कावासोती नगरपालिका शिक्षा शाखाका अधिकृत राजन पाण्डेले कावासोती नगरपालिकाका २० वटा सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागु गरिएको बताउनुभयो । नगरपालिकाको समन्वय र विद्यालयको आफ्नो मौलिकतामा विद्यालयले ‘पढ्दै कमाउँदै आयमूलक कार्यक्रम’ सञ्चालन गरिरहेको र यो कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई सिपसँग जोड्ने काम गरिरहेका छन् । विद्यार्थीलाई सिकेका ज्ञान प्रयोगमा उतार्न विद्यालय हाताभित्र नै तरकारी खेती गरी ज्ञानलाई सिपसँग जोड्ने काम गरेका छन् ।”
नवलपुरको कावासोती नगरपालिका–२ मा रहेको शिव नमुना विद्यालय परिसरमा रहेका बारीमा विभिन्न प्रजातिका तरकारी बाली लगाइएको छ । ज्ञानलाई सिपसँग जोड्ने र सिपलाई श्रमसँग जोड्ने र आत्मनिर्भर बनाउने राज्यको नीति अनुसार विद्यार्थीलाई सिपसँग जोड्ने काम गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले बताउनुभयो । दिवा खाजालाई अर्गानिक तरिकाले अगाडि बढाउने, विद्यालयको परिसरलाई हराभरा बनाउने र विद्यालयमा खेर गएका स्रोतसाधनलाई प्रयोग गर्ने मुख्य उद्देश्यसहित यो कार्यक्रमलाई लागु गरिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
विद्यालयमा गत वर्षदेखि सुरु भएको पढ्दै कमाउँदै कार्यक्रममा कक्षा ४ देखि ७ सम्मका विद्यार्थीलाई सहभागी गराइएको छ । कावासोती नगरपालिकाले करेसाबारी कार्यक्रम अन्तगर्त २५ हजार रकम बजेट विनियोजन गरेपछि विद्यालयले चार कट्ठा विद्यालयको जग्गामा उक्त कार्यक्रम सुरु गरेको हो ।
यस्तै कावासोती १५ मा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ७, ८, ९ र १० मा विद्यार्थीले ‘पढ्दै कमाउँदै आयमूलक कार्यक्रम’ अन्तर्गत विद्यालय परिसरसँगै जग्गा भाडामा लिएर खेती गरेका छन् । विद्यार्थीले दुई बिघा १० कट्ठामा अहिले तिल, धान र मास खेती गरेका छन् । एक बिघा १५ कट्ठामा तिल, १० कट्ठामा धान र पाँच कट्ठामा मास लगाइएको छ ।
खेतीमा श्रमदान गरेर आम्दानी भएको रकम आफ्नै विद्यालयमा अध्ययन गर्ने निम्न आर्थिक अवस्थाका विद्यार्थीको शैक्षिक सामग्री र सिर्जनात्मक काममा खर्च गरिँदै आएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी न्यौपानेले बताउनुभयो ।
कावासोती–१५ का वडाध्यक्ष तेजप्रसाद श्रेष्ठले शिक्षण सिकाइ सँगसँगै आयमूलक कार्य र व्यावहारिक ज्ञान प्रदान भएकाले यो कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । कावासोती–१५ ले खेती लगाउनका लागि आर्थिक वर्ष २०८०/८१ मा १ लाख ७५ हजार बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
विद्यालयमा विद्यार्थीले उत्पादन गरेका तरकारी बिक्री गर्ने गरिएको छ । बिक्री गरिएको तरकारीबाट भएको आम्दानी विद्यालयको प्रयोगात्मक अभ्यास र प्रयोगशालामा खर्च गर्ने गरिएको छ । विद्यालयको करेसाबारीमा विद्यार्थीले उत्पादन गरेको तरकारीलाई विद्यालयको दिवा खाजामा प्रयोग गरिने गरिएको छ ।