• ९ मंसिर २०८१, आइतबार

सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै

blog

पर्वत समाचारदाता 

पर्वत, भदौ २७ गते । पर्वत जिल्लामा सुत्केरी गराउनेभन्दा गर्भपतन गराउने सङ्ख्या बढी छ । पछिल्लो तीन वर्षदेखिको तथ्याङ्क हेर्दा जिल्लामा गर्भपतन गराउने महिलाको सङ्ख्या उच्च रहेको पाइएको हो । स्वास्थ्य कार्यालय पर्वतका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७९२ जना सुत्केरी भएका थिए भने सोही अवधिमा एक हजार १४ जनाले गर्भपतन गराएका हुन् । आव २०७९/८० मा ६८९ जना सुत्केरी भएका थिए भने सोही अवधिमा ९६३ जनाले गर्भपतन गराएको पाइएको छ । 

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले आव २०८०/८१ मा ५५१ जना सुत्करी भएका थिए भने ८३० जनाले गर्भपतन गराएको जानकारी दिनुभयो । तथ्याङ्क अनुसार कुस्मा नगरपालिकामा सबैभन्दा बढी गर्भपतन हुने गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा धेरै गर्भपतन गराउनेको सङ्ख्या कुस्मा नगरपालिकामा रहेको छ । कुस्मापछि पैयुँ गाउँपालिका र फलेबास नगरपालिका दोस्रो स्थानमा छन् । 

कार्यालय प्रमुख शर्माका अनुसार निजी अस्पताल, क्लिनिक र जिल्लाबाहिर गएर गर्भपतन गराउनेको सङ्ख्या उल्लेख्य भए पनि त्यसको रेकर्ड भने नभएको उहाँको भनाइ छ । उहाँका अनुसार जिल्लाको उत्तरी भेगका गाउँपालिकाबाट म्याग्दी र बागलुङ जिल्ला अस्पतालमा गएर सेवा लिने गरेका छन् भने दक्षिणी क्षेत्रबाट पोखरा, स्याङ्जालगायतका जिल्लामा गएर सेवा लिने भएकाले यसको सङ्ख्या अझै बढ्ने उहाँको भनाइ छ । 

दम्पतीले नचाहँदा नचाहँदै गर्भ रहेमा निश्चित अवधिभित्र सुरक्षित गर्भपतनको सुविधा सरकारी स्वास्थ्य संस्थाबाट लिन सकिन्छ । पछिल्लो समय भने असुरक्षित र अवैध यौन सम्बन्धबाट रहेको गर्भलाई समेत अस्वीकार गरी महिलाले गर्भपतन गराउने गरेका छन् । महिलामा चेतनास्तर बढेका कारण समयमै गर्भपतन गराई अनिच्छित गर्भ रोक्ने गरेको र केही महिला असुरक्षित यौन सम्बन्धका कारण पनि गर्भपतन गराई सुरक्षित हुने गरेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रवीण शर्माले भन्नुभयो, “गर्भपतन गराउनु नकारात्मक होइन ।”