• २७ पुस २०८१, शनिबार

चार किमी पार गर्न घण्टौँ

blog

केदार तिमल्सिना 

बनेपा, भदौ २१ गते । निर्माण व्यवसायी कम्पनीले समयमा नै सडक विस्तारको काम समयमा सम्पन्न नगर्दा अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा वर्षायाम सुरु भएसँगै यात्रुले दैनिक घण्टौँसम्म सास्ती बेहोर्न बाध्य भएका छन् । वर्षा सुरु भएसँगै विस्तार भइरहेको अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा वर्षाका कारण हिलो भई दैनिक सवारीसाधन फस्ने समस्याका कारण चार किलोमिटर दुरीको यात्रा गर्न नागरिकले घण्टौँसम्म कुर्नुपर्ने अवस्था छ । 

गौरी पार्वती निर्माण सेवा प्रालिले गत चैत १९ भित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी ठेक्का लिए पनि उक्त कम्पनीले अर्को निर्माण कम्पनीलाई पेटी ठेक्का दिएका कारण सडकको काम हुन नसकेको हो । उक्त कम्पनीले ठेक्का सम्झौता भएको मितिले २२ महिनामा काम सम्पन्न गर्ने भन्दै २०७९ जेठ २० गते सम्झौता गरेको थियो । 

पेटी ठेक्का दिएको निर्माण कम्पनीले काम नगरेपछि गौरी पार्वती निर्माण कम्पनीले काम सुरु गरे पनि समयमा नै राम्रो काम नगरेका कारण वर्षायाममा नागरिकले सास्ती खेप्नु परेको छ । स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, नागरिक समाजले सडक निर्माणको कामलाई गति दिन खबरदारी, आग्रह गरे पनि निर्माण कम्पनी र सडक विभागलगायका निकायले गम्भीर नभएका कारण सडकको काम समयमा नै हुन नसकेको स्थानीयको आरोप छ । 

अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा धुलिखेल चोकदेखि नै पहिरो आई वर्षाको पानी बिच सडकबाट जाँदा सडकमा खाल्डो परेको छ । यस्तै राजमार्गको धुलिखेलको पकुचादेखि पाँचखालको सीमा क्षेत्र खावासम्मको सडकमा रहेको हिलोमा फसेर मोटरसाइकल, कार, जिप, यात्रुवाहक बसलाई हिँड्न समस्या भएको छ । 

सो सडकमा हिलोका कारण सवारी जाम भएपछि बनेपा–रविओपी–पाँचखाल सडकलाई विकल्पका रूपमा प्रयोग गरे पनि उक्त सडकमा समेत सवारीको चाप बढेर सडक जाम हुँदै आएको छ । निर्माण कम्पनीले वर्षाको समयमा अवरोध हुने सडक खुलाउन कामदारको व्यवस्था गरेको छैन भने डोजरलगायतका उपकरण भए पनि डोजर चलाउनका लागि इन्धन र चालक नभएको भन्दै निर्माण व्यवसायी पन्छिने गरेका छन् । वर्षाको समयमा राजमार्गमा नागरिकले सास्ती बेहोर्नु परेको भन्दै मङ्गलबार पाँचखाल र धुलिखेलका नागरिक डिभिजन सडक कार्यालय भक्तपुरमा तालाबन्दी गर्न पुगेका थिए । तालाबन्दी गर्न गएका स्थानीयलाई सडक डिभिजनका कर्मचारीले अवरुद्ध सडक नखुलाएसम्म आफूहरू नफर्किने प्रतिबद्धता जनाएपछि उनीहरू जिल्ला फर्किएका थिए । 

वर्षाका कारण राजमार्ग अवरुद्ध भई नागरिकले सास्ती बेहोर्नु परेपछि बुधबार सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिडिई मेघराज मरासिनीसहितको टोलीले धुलिखेल खावा सडकको अनुगमन गरेको थियो । धुलिखेल नगरपालिका–८ का वडाध्यक्ष विनोद गौतमले अरनिको राजमार्ग अन्तर्गत जिप लाइन, थाक्लेलगायतका केही स्थानमा हिलो भई गाडी फस्ने समस्या भएको बताउनुभयो । सडक डिभिजनका प्रमुख सिडिई मरासिनीले अनुगमनका व्रmममा वर्षाका कारण धुलिखेल–खावा खण्डका केही स्थानमा ठुला खाल्डा भएकाले उक्त खाल्डा पुरेर यातायात सञ्चालन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले सडक मर्मत गरी यातायात नियमित गर्न बिहीबार र शुव्रmबार टिप्पर सञ्चालनमा रोक लगाइने बताउँदै सडकमा राम्रोसँग यातायात चलाउनका लागि निर्माण व्यवसायीले निर्माण सामग्री र उपकरण तयारी गरेको बताउनुभयो । 

धुलिखेल–खावा सडकको ठेक्का पाएको निर्माण कम्पनीको गत चैत १९ बाट म्याद सकिए पनि म्याद थप गरिएको छैन । म्याद सकिएको पाँच महिना बितिसक्दासम्म हालसम्म करिब ३५ प्रतिशत मात्रै काम भएको डिभिजन सडकले जनाएको छ ।