• २७ पुस २०८१, शनिबार

वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन आवश्यक : उपाध्यक्ष सापकोटा

blog

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा बिहीबार काठमाडौँमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्नुहुँदै

काठमाडौँ, भदौ २० गते । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन जरुरी रहेको जिकिर गर्नुभयो ।

उपाध्यक्ष सापकोटाले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्नुहुँदै सबै एकताबद्ध अघि बढ्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले नेपाल नेपालीहरूको भएकाले नेपालीहरूले नै चलाउनुपर्ने बताउनुभयो ।

‘‘जनताले विचार खोजेका छैनन् भन्ने खालका भाष्यहरू बनाउन कोसिस गरिएको छ । प्रियतावादीहरूको रुझान बढ्दै गइरहेको छ । यो परिस्थितिमा हामीले फेरि एक पटक वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन जो हामीले हिजो एकता गरेर पनि रक्षा गर्न सकेनौँ, सबैलाई विशेष रूपमा नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षको हैसियतले जोडदार रूपमा के अपिल गर्दछु ।’’ उपाध्यक्ष सापकोटाको भन्नुभयो, ‘‘अब हामीले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउनका लागि मुख्यतः हामीले राष्ट्रियताको सवाल असाध्यै धेरै पेचिलो भएको छ र हामीले भन्नुपर्छ, सबै एकताबद्ध भएर नेपाल नेपालीहरूको हो । नेपाल नेपालीहरूले चलाउनुपर्छ । हामी कसैको हैकम मान्नेवाला छैनौँ । हामी विश्वशान्तिको पक्षमा दृढतापूर्वक खडा हुनेछौँ भनेर राष्ट्रियताको सवालमा हामीले भन्नुपर्नेछ ।’’

उहाँले अहिले विश्वयुद्धको खतरा मडारिरहेको भन्दै त्यो आँधीबेहरीका लागि तयार हुनुपर्ने बताउनुभयो ।