• २७ पुस २०८१, शनिबार

सङ्कटमा शिला शालिग्रामको अस्तित्व

blog

शिला शालिग्राम जाने बाटोमा सेतीखोला बग्दै । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, भदौ १८ गते । शिला शालिग्रामसम्म जाने बाटोमा खोला बगेपछि नजिकै गएर शिला शालिग्राम दर्शन गर्न समस्या भएको छ । सेतीखोलाले धार परिवर्तन गरेर बग्दा शिला शालिग्रामको अस्तित्व नै मेटिने हो कि भनेर कतिपयले चिन्तासमेत व्यक्त गर्न थालेका छन् । 

गुल्मी, स्याङ्जा र पर्वतको सङ्गमस्थल सेतीवेनीमा रहेको शिला शालिग्राम दर्शन गर्न गल्याङ नगरपालिकाबाट आएका सन्तोष भट्टराईले टाढैबाट दर्शन गरेर फर्किएको बताउनुभयो । पहिले शिला शालिग्राम छोएरै दर्शन गर्ने गरेको बताउँदै उहाँले अहिले शिलासम्म जाने बाटोमा खोला बगेपछि टाढाबाटै दर्शन गर्नु परेको बताउनुभयो । 

शिला शालिग्रामको दर्शन गर्न पुगेका पर्वतका राजु तिवारीले पनि नजिकैबाट दर्शन गर्न नपाएको गुनासो गर्नुभयो । शिला शालिग्राम दर्शन गर्न योजना बनाएर आए पनि नजिकैबाट दर्शन गर्न नपाएको उहाँले बताउनुभयो । पहिलेभन्दा अहिले सेतीखोलाले धार परिवर्तन गरेर बगेपछि समस्या आएको तिवारीको भनाइ छ । 

शिला शालिग्राम संरक्षणमा पनि सरोकारवाला कसैको ध्यान जान सकेको छैन । शिला शालिग्रामको वरपरबाट लगाइएको पर्खाल पनि भत्किएको छ । यसका कारण शिला शालिग्राम परिक्रमा गरेर दर्शन गर्ने अवस्थासमेत नरहेको र दर्शन गर्नेका लागि पनि जोखिम छ । तीन जिल्ला र दुई प्रदेशको सङ्गम स्थलमा शिला शालिग्राम रहे पनि संरक्षणमा केन्द्र, प्रदेश र स्थानीय सरकारले चासो देखाएको पाइएको छैन । 

गुल्मीका ८३ वर्षीय खिमानन्द पाण्डेले पर्खाल भत्किएको करिब पाँच वर्ष पुग्दासमेत फेरि पर्खाल लगाउने र संरक्षणमा कसैको ध्यान नजानुले धर्मकर्मप्रतिको विश्वास घट्दै गएको दुःखेसो पोख्नुभयो । स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सेती खोलाले धार परिवर्तन गरेकै कारण शिला शालिग्राम दर्शन गर्नबाट वञ्चित हुनु परेको स्वीकार गर्नुभयो ।

 सेतीखोलाको पर्वत तर्फबाट लगाइएको पर्खालका कारण उक्त समस्या देखा परेको उहाँको तर्क छ । शिला शालिग्रामको प्रचारप्रसार र दीर्घकालीन सोचका साथ पहिले तीन जिल्लाका तीन वटै स्थानीय सरकार एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

शिला शालिग्रामको संरक्षणका लागि एक पटक संयुक्त बैठक बसेर डिपिआर गर्ने गरी योजना बनाएको उक्त योजना कार्यान्वयन गर्न दुई स्थानीय सरकारले चासो नदेखाएको उहाँको आरोप छ । स्थानीय सरकारको बजेटबाट शिला शालिग्राम संरक्षणमा नसकिने भएको हुँदा प्रदेश र सङ्घबाट उचित बजेटको व्यवस्था गर्नुपर्ने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । 

गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शिला शालिग्रामको संरक्षणनिम्ति आफू सधैँ तयार रहेको बताउनुभयो । शिला शालिग्राम संरक्षणमा एक्लैको पहलले नहुने भएकाले संयुक्त रूपमा केन्द्रबाट नै पहल हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।