• २७ पुस २०८१, शनिबार

विपतका कारण थातथलो छाड्दै

blog

असार ३१ गतेको भीषण बाढीले जोखिममा पारेको बाह्रबिसे नगरपालिका–३, खाग्दल बस्ती ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, भदौ १८ गते  ।  यस वर्षको बर्खायाममा सिन्धुपाल्चोकमा ४८ घरपरिवार बाढीपहिरोको उच्च जोखिममा परेका छन् । त्यसमध्ये १३६ परिवार थातथलो छाडेर विस्थापित भएका छन् । जिल्ला विपत् व्यवस्थापन समितिको प्रतिवेदन अनुसार बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, बलेफी गापा, त्रिपुरासुन्दरी गापा, जुगल गापा, हेलम्बु गापा, पाँचपोखरी थाङपाल गापाका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन् । 

उक्त समितिका सूचना व्यवस्थापक अधिकृत रविराज धितालका अनुसार भोटेकोशी गापामा मात्रै यस वर्षको बर्खाले २२५ परिवार जोखिममा परे । तीमध्ये १० परिवार उच्च जोखिममा छन् । उनीहरूलाई स्थानीय सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । २०७३ सालमा भोटेकोशीमा आएको बाढीले पनि सो पालिकाको लिपिङ बजारका करिब दुई सय घर बाढीले बगाएको थियो । 

पहिरोले भोटेकोशी गापा–१, लिस्तीमा २८ परिवार जोखिममा पारेकामा पाँच परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । वडा नं २ मा ५८ परिवार जोखिममा पर्दा दुई परिवार विस्थापित भएका छन् । ३ नं. वडामा ५०, ४ नं. वडामा ५८ र ५ नं. वडामा ६० परिवार जोखिममा परेको धितालले जानकारी दिनुभयो । 

बाह्रबिसे नगरपालिकामा ३२ परिवार जोखिममा परेका छन् । तीमध्ये २६ परिवारलाई सुरक्षित स्थानमा सारिएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो । विस्थापित परिवारलाई सुरक्षित स्थानमा टेन्ट, त्रिपाल, आधारभूत आवश्यकताका सामग्रीका साथ स्थानान्तरण गरिएको बस्नेत बताउनुहुन्छ । सो नगरको वडा नं. १ मा ११ परिवार, २ नं. वडामा पाँच परिवार, ३ नं. वडामा १० परिवार, ५ नं. वडामा छ, ६ नं. वडामा छ परिवार उच्च जोखिममा परेको उहाँले थप्नुभयो । त्यसमध्ये २६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

बलेफी गापामा १३ परिवार जोखिममा परे । जुगल गापामा २८ परिवार विस्थापित भएका छन् । उता, हेलम्बुमा २८ परिवार जोखिममा पर्दा २४ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । पाँचपोखरी थाङपाल गापामा १९ परिवार विस्थापित भएका छन् । बाढीपहिरोले घरबस्ती जोखिम र स्थानीयलाई विस्थापित बनाए पनि यस वर्ष बाढीपहिरोले सिन्धुपाल्चोकमा मानवीय क्षति नभएको समितिले जनाएको छ । भोटेकोशी नदी, सुनकोशी नदी, इन्द्रावती नदी, ब्रह्मायणी नदी, लार्के, याङ्ग्री नदीका साथै ठाडो खोला, र सहायक खोलाको बाढीले बस्ती उच्च जोखिममा पारेको हो ।