• १६ भदौ २०८१, आइतबार

संसद्को पुस्तकालयबारे सांसद स्वयं अनविज्ञ

blog

सङ्घीय संसद् सचिवालयको पुस्तकालय शाखाले पुस्तकालय दिवसको सन्दर्भमा आयोजना गरेको ‘संसद् पुस्तकालय: प्रयोग र महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रम ।

काठमाडौँ, भदौ १४ गते । सांसदहरू स्वयंले संसद् सचिवालयको पुस्तकालयबारे अनविज्ञता प्रकट गरेका छन् । शुक्रबार सङ्घीय संसद् सचिवालयको पुस्तकालय शाखाले पुस्तकालय दिवसको सन्दर्भ पारेर सिंहदरबारमा आयोजना गरेको ‘संसद् पुस्तकालय: प्रयोग र महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, एमालेका सांसद शान्ति चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीलगायतका सांसदहरूले संसद् सचिवालयको पुस्तकालयमा पुस्तकको व्यवस्थापन समेत राम्रोसँग नगरेको गुनासो गर्नुभएको छ ।

उपसभामुख रानाले सो पुस्तकालयमा जथाभाबी पुस्तक फालिएको अवस्थामा भेटिएको उल्लेख गर्नुहुँदै  त्यसलाई व्यवस्थित बनाउन सचेत गराउनुभयो । उहाँले पुस्तकालय संसद् सचिवालयमा छ भनेपछि सांसदहरूले जाने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने काममा लाग्नुर्पे जिकिर गर्नुभयो ।

उपसभामुख रानाले भन्नुभयो, ‘‘पुस्तकालयमा पुस्तकहरू नै राम्रोसँग राखिएको छैन । त्यत्तिकै फालिएको अवस्था छ । यस्तो नगरौँ । त्यहाँका अद्भुत चिजहरूलाई संरक्षण गरेर राखौँ । संसद् सचिवालयको पुस्तकालयमा बनाउने जिम्मा हाम्रो हो । जाऔँ । त्यसको प्रभावकारी सञ्चालनमा लागौँ । पुस्तकालय छ भन्ने हामीलाई थाहा छ तर जान्दैनौँ । त्यो पुस्तकालय शाखाको कमजोरी होइन ।’’

एमालेका सांसद चौधरीले आफूलाई संसद् सचिवालयमा पुस्तकालय छ भन्ने थाहा नभएको बताउनुभयो । उहाँले पछिल्लो घटनाक्रमबारे अध्ययन गर्ने काम फेसबुक लगायतका सामाजिक सञ्जालबाटै हुने गरेकाले पनि पुस्तकालयबारे चासो दिन अवस्था नरहेको पनि बताउनुभयो । सांसद चौधरीले सांसदहरूको भूमिका प्रभावकारी हुने खालको सामग्रीहरू सो पुस्तकालयमा राख्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी नयाँ सांसदहरू छौँ र यहाँ पुस्तकालयको व्यवस्था गरिएको छ भन्ने कुरा स्वयं मलाई पनि थाहा थिएन । अघि नै माननीयज्यूहरूले भनिसक्नुभयो, अहिले यो सबै अध्ययन गर्न फेसबुकहरू छँदैछ । यसकारणले पनि पुस्तकालय गएर अध्ययन गर्ने काम बिग्रिएको छ । पहिलेका सांसदहरूको भन्दा अहिलेका सांसदहरूको भूमिका प्रभावकारी नभएको कुरा पनि आयो । यसमा म महसुस गर्दै पहिलाका सांसदहरूको भूमिका पनि हेर्‍यौँ हामीले । जुन विषयमा केन्द्रित भएर संसदमा छलफल हुनुपर्ने, त्यतातिर नगएर हामी चुनावी भाषण जस्तो मात्रै गर्ने चलन संसदमा भित्रिएको छ ।’’

सो पुस्तकालयमा आफू एक पटक पुगेको र खोजेको पुस्तक नपाएपछि फेरि दोहोर्‍याएर नगएको राप्रपाका सांसद रोशन कार्कीको स्पष्टीकरण थियो । उहाँले पछिल्लो सन्दर्भ सामग्रीहरू पनि सो पुस्तकालयमा व्यवस्था गर्न सङ्घीय संसद् सचिवालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कार्कीले भन्नुभयो, ‘‘पुस्तकालयमा खोजिएको किताब पनि भेटिएन । पुस्तक पनि व्यवस्थित ढङ्गले राखेको पाइएन । राम्रो नभएपछि म फेरि फर्केर त्यो पुस्तकालयमा गएको छैन । अब म फेरि एकचोटी जान्छु । माननीयहरू किन त्यहाँ आएनन् भन्ने कुराको पछाडि कारणहरू पनि खोज्नुपर्छ । लेटेष्ट सामग्रीहरूको अभाव छ ।’’

सांसदहरूले सो पुस्तकालयको अध्ययन सामग्रीका लागि पूर्व सांसदहरूको अनुभव पनि उपयोगी हुने धारणा पनि राखेका थिए ।