• ९ पुस २०८१, मङ्गलबार

युवामा विदेश मोह

blog

अहिलेका युवामा लहैलहैमा विदेश जान खोज्नाले पनि विदेश मोह बढेको देख्न सकिन्छ । विदेश पनि भने जस्तो सजिलै भने छैन । छात्रवृत्ति पाइयो भने अलिकति सजिलो हुन्छ । नत्र त धेरै दुःख गर्नुपर्ने हामी सबैलाई थाहा छ । नेपाली कमाइले विदेशमा सन्तान पढाउन सकिँदैन । विदेशमा अध्ययन गर्दा लाग्ने खर्च धेरै हुन्छ । धेरै नेपाली परिवारका लागि यो ठुलो आर्थिक भार बन्छ । यो हुँदाहुँदै पनि नेपालबाट आँट गरेर विदेश जान्छन् तर त्यहाँ भने कहिले काम नपाउने, काम पाए पनि कलेजको समयमा पाउने भएकाले कतिपय विद्यार्थीले पढाइ छोडेर अन्य काममा व्यस्त हुनुपर्ने अवस्था आएको हामीले सुनेको भोगेकै छौँ । 

नेपाली युवामा विदेश मोह बढ्दै गयो भने देशलाई ठुलो घाटा हुन्छ । ससाना कामहरू एआईले नै गर्न थालेपछि धेरै मानिसले विदेशमा जागिर पनि गुमाइरहेका छन् । भोलिका दिनमा पढ्न भनेर विदेश गएका विद्यार्थीले सानै उमेरमा पढाइ त्याग्न बाध्य भएपछि भविष्यमा राम्रो काम पाउँछन् भन्ने कुरामा विश्वस्त हुन पनि सकिँदैन । 

विदेशमा अध्ययन गर्न वा काम गर्न जाँदा त्यस देशको भाषा, खानपान र रहनसहनको फरकपनले सुरुमा विद्यार्थीले धेरै कठिनाइ महसुस गर्छन् । त्यहाँको शैक्षिक प्रणाली, सामाजिक बनोट र जीवनशैलीमा अभ्यस्त हुन समय लाग्छ । अनि फेरि अध्ययन सकेर नेपाल फर्किएपछि यहाँको कार्यक्षेत्रमा पुनः अभ्यस्त हुन पनि समय लाग्छ । यति मात्र नभई नेपालका शैक्षिक संस्थामा प्रयोग हुने शिक्षण विधि प्रायः पुराना र परम्परावादी छन् । विद्यार्थीलाई पाठ्यक्रमको आधारमा सैद्धान्तिक ज्ञान दिनमा मात्र जोड दिइन्छ, जसले गर्दा उनीहरूले वास्तविक जीवनका समस्या समाधान गर्न सक्षम हुने व्यावहारिक सिप र अनुभव प्राप्त गर्न सक्दैनन् । पढेको विषयवस्तुलाई वास्तविक जीवनमा उतार्न सकिएन भने त्यसलाई के पूर्ण रूपमा शिक्षित भएको मान्न सकिन्छ ? 

नेपालमा धेरै युवा स्वदेशमै बसेर केही गर्ने सोच राख्छन् तर पढाइ पूरा गरेर पनि रोजगारी नपाउनेहरूका लागि विदेश जाने विकल्पबाहेक केही रहँदैन । यसैले, राज्यले रोजगारीका अवसरको सिर्जना गर्न आवश्यक छ । रोजगारीको अवसर सबैलाई राज्यले दिन सक्दैन, यो सत्य हो तर गर्न खोज्नेलाई गर्ने वातावरण सहज र सरल भने गराई दिनु पर्छ । युवाले कार्यलयको प्रक्रियागत झन्झट देखेरै खिन्न हुने अवस्था छ । यसतर्फ राज्यले समयमै विचार गर्नु वाञ्छनीय हुने छ । 

पढ्ने मान्छेले आफ्ना लागि आवश्यक अध्ययन सामग्री आफैँ खोजेका हुन्छन् तर यो सबै विद्यार्थीले गर्छन् भन्ने हुँदैन । अहिले शिक्षण विधि, विश्वविद्यालयको यथास्थितिको कार्यशैली र काम गराइमा व्यापक परिवर्तन आवश्यक छ । हाम्रो विश्वविद्यालयमा अब क्रमभङ्गता चाहिएको छ । विद्यार्थीले समयमै पुस्तक र समयमै शिक्षक पाउनुका साथै वार्षिक क्यालेन्डर अनुसारको काम मात्र भए पनि विद्यालय तथा विश्वविद्यालयमा केही सुधार देख्न सकिन्छ । विश्वविद्यालयलाई अध्ययन र अनुसन्धानको केन्द्र बनाउनु जरुरी छ ।

नेपालको शिक्षा प्रणाली समयसँगै परिवर्तन हुन सकेको छैन । उदाहरणका लागि हामी अझै पनि धेरै वर्षअघिको पुरानो पाठ्यक्रमको आधारमा पढिरहेका/पढाइरहेका छौँ । समय र परिस्थितिसँगै पाठ्यक्रममा उचित संशोधन हुन आवश्यक छ । यस्तो नगरेमा हामी पछाडि नै रहिरहने छौँ । यही कारणले पनि कक्षा १२ सकिनेबित्तिकै विद्यार्थीहरू नयाँ अवसर र सुविधाको खोजीमा उच्च शिक्षा प्राप्त गर्न विदेश जान रुचाउँछन् । युवाको विदेश यात्रालाई क्रमशः घटाउँदै रोक्न नवप्रवर्तन र उद्यममा काम गर्ने वातावरण बनाउनु नीतिनिर्माताको कर्तव्य हो । रेमिट्यान्सको क्षणिक खुसीमा रमाउने कि हालको जनसाङ्ख्यिक लाभलाई सदुपयोग गर्दै दीर्घकालीन योजनामा ध्यान दिने, समय अब ढिलो भइसकेको छ । 

शिक्षा प्रणालीमा परिवर्तन ल्याए पनि हामीले भोगिरहेको राजनीतिक अस्थिरता, आर्थिक अस्थिरता र परनिर्भरता गहिरो समस्या हो तर हामी त्यो समस्या समाधान गर्नुभन्दा पनि त्यसलाई निरन्तर अवज्ञा र अनदेखा गरिरहेका छौँ । नेपालमा भ्रष्टाचार न्यूनीकरण गर्न, दण्डहीनताको अन्त्य र सुशासन गर्न सके मात्र पनि देख्न लायकको परिवर्तन सम्भव छ तर यी काम शब्दमा र कर्ममा भिन्न देखिन्छन् । 

यहाँ सरकारले मात्र काम गर्नु पर्छ भनेर आरोप लगाउने खोजिएको पनि होइन । नागरिकको नाताले सुधारका कदम हामी हरेकले चाल्न सक्छौँ । अन्य देशमा नागरिक पनि जिम्मेवार हुन्छन् तर हाम्रोमा फोहोर फाल्नु हुँदैन, वातावरण सफा राख्नु पर्छ भनेर पढ्ने तर काम भने सबै सरकारले गरिदिन्छ वा गरिदियोस् भन्दै नागरिक कर्तव्य र अनुशासनबाट च्युत हुँदै गएका छौँ । त्यसैले विगतमा जे–जस्तो कार्य भए पनि अब विद्यार्थीले उच्च शिक्षा र राम्रो करिअरका लागि विदेश जानु नपर्ने वतवरणको सिर्जना गर्न नागरिक पनि अग्रसर हुनु पर्छ । 

यो कामका लागि स्वदेशमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण भने निर्माण गर्नु पर्छ । राम्रो शिक्षा प्रदान गर्न समयानुकूल सुधार गर्नु जरुरी छ । विदेशी विश्वविद्यालयबाट डिग्री हासिल गरेपछि नेपाल र विदेश दुवैमा राम्रो रोजगारीका अवसर पाउन सकिन्छ किनकि अन्तर्राष्ट्रिय डिग्रीलाई उच्च मान्यता र मूल्य दिइन्छ । यसले विद्यार्थीलाई करियरमा प्रगति गर्न सहयोग पुर्‍याउँछ । यस्तै वातावरण नेपालमै सिर्जना गर्न सकिए वैदेशिक अध्ययनको प्रवृत्ति केही हदसम्म कम गर्न सकिन्छ । नेपालमा पनि दक्ष प्राध्यापकको अभाव छैन । विदेशीहरू पनि यहाँ आएर शिक्षण गर्ने गरेका छन् । शिक्षा कूटनीति प्रयोग गरेर नेपालमा पनि विदेशी विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि आकर्षित गर्न सकिन्छ । 

धेरै वर्षदेखि चलिरहेको पुरानो पाठ्यक्रमलाई भने परिवर्तन गर्नु पर्छ । समयसँग मेल खाने बनाउनु पर्छ । आजको प्रविधि र समय अनुसार पाठ्यक्रम निर्माण गर्नु पर्छ । हरेक सङ्कायको पाठ्यक्रम, सिकाइ विधि, र शैलीमा सुधार गर्नै पर्छ । व्यावहारिक सिप र अनुशासनमा जोड दिनु पर्छ । परिवर्तित पाठ्यक्रम र अनुभवी प्राध्यापकको शिक्षणले विद्यार्थीलाई व्यावहारिक सिप र ज्ञान प्रदान गर्न मद्दत गर्छ । यसले विद्यार्थीलाई उचित रोजगारी उपलब्ध गराउँछ । जीवन निर्वाह गर्न सहज बनाउँछ, जसले गर्दा विदेश जाने सङ्ख्यामा कमी आउँछ ।  

Author

सोनिका न्यौपाने