यदुप्रसाद भट्ट
मनाङ, भदौ १२ गते । बिस्तारै मौसममा सुधार भएसँगै मनाङको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ ।
यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनाले पर्यटकको मन जितेको छ त्यसैले विशेष गरी विदेशी पर्यटक हिमाल हेर्ने, आरोहण गर्ने चाहनामा मोहित हुँदै मनाङ प्रवेश गर्छन् । यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन् । यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै मज्जा लिनुको स्वादै बेग्लै हुने गरेको उनीहरूको भनाइ छ ।
जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझै कस्तो होला भन्दै लोभ्याउने गरेको उनीहरू बताउँछन् । कजिनसारा ताल, ड्रोना ताल, गङ्गापूर्ण ताल, क्लिन लेक, ग्रिन लेक, ढुकुरपोखरी, आइसलेक, पोङ्कर ताल, तिलिचो ताल लगायत छन् ।
यी तालले पर्यटकलाई आकर्षित गरेको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ आउने पर्यटक विशेषगरी ताल, हिमशृङ्खला, झरना आदिमा आकर्षित भई रमाउने गरेका छन्, हामीहरू उनीहरूलाई ताल, झरनामा रमाउने र सहजरूपमा पुग्ने वातावरण तयार पार्न लागिपरेका छौँ ।’
झरना र तालतलैयामा सहजै पुग्न विकास निर्माण र नयाँ तालको खोजीमा गाउँपालिका जुटेको उहाँले बताउनुभयो । ‘नयाँ ताल खोजी, भएका तालमा पूर्वाधार निर्माणका लागि बजेट नै छुट्याएका छौँ, हाम्रा गहनाको हामीले नै संरक्षण गर्ने हो,’ उहाँले भन्नुभयो ।
मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल छन् । यहाँ ढुकुर पोखरी, ग्रिन लेक, क्लिन लेक, गङ्गापूर्ण ताल, तिलिचो ताल, आइसलेक, पोङ्कर ताल पर्दछन् । यहाँका तालसम्म पुग्ने बाटो बनाउने र तालसम्म पुग्ने पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको छ । यहाँका तालतलैयासम्म पुग्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि सघाउँदै आएको छ । तालसम्म पुग्ने बाटोमा गाउँपालिकासँगै एक्यापले विभिन्न चिह्न राख्ने काम गरेको जनाएको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यहाँका ताललाई सुरक्षित र संरक्षणका लागि बजेट छुट्याएको बताउनुभयो । यहाँ धेरै ताल रहेकाले कति ताल अझै गुमनाम रहेको उहाँले बताउनुभयो ।
हिमालबाट लुकेर आएको पानीले नै यहाँ अधिकांश ताल बन्ने गरेका छन् । यहाँको विकासका लागि पर्यटकको आगमनले अझै उत्साहित बनाउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । पर्यटनको हबका साथै मनाङलाई फिल्म छायाङ्कनको क्षेत्रसमेत बनाउने गरी विकास गर्नुपर्ने उहाँको भनाइ छ ।
दुई याममा पर्यटक यहाँ घुम्न आउने गर्दछन् । ती यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा छ ।
अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुवात गर्दछन् ।