• १६ भदौ २०८१, आइतबार

‘नेपालमा बाघ बस्न सक्ने क्यारिङ क्यापासिटी कति ?’

समस्याग्रस्त बाघको सङ्ख्या बढ्यो

blog

फाइल तस्बिर

वसन्त पराजुली 

नारायणगढ, भदौ १२ गते। पछिल्लो समय संरक्षित क्षेत्रबाट घाइते बाघ मानव बस्तीमा निस्किने क्रम बढेसँगै बाघ मानवबिचको द्वन्द्व बढ्ने देखिन्छ। बाघ मानवबिचको द्वन्द्व बढ्नु अगावै समस्याग्रस्त अवस्थामा आउन सक्ने बाघको पहिचान गरेर व्यवस्थापन गर्नु जरुरी छ। 

यू.एस.आइ.डि. जल जङ्गल कार्यक्रमका जैविक विविधता प्रमुख डा. बाबुराम लामिछाने अहिले देशैभर बाघ पाइने संरक्षित क्षेत्रमा बाघ मानवबिचको द्वन्द्व बढ्न सक्ने अवस्था आएको बताउनुहुन्छ। 

डा. लामिछानेले सन् २०१७ मै  ‘समस्याग्रस्त  बाघको पहिचान र तुलनात्मक भिन्नता’ विषयमा अध्ययन गर्नुभएको थियो। अहिलेको अवस्थामा समस्याको समाधानका लागि बाघको दिगो व्यवस्थापन जरुरी रहेको उहाँको भनाइ छ । 

डा. लामिछानेले  गर्नुभएको सो अध्ययनले नै ५ प्रतिशतसम्म बाघ समस्याग्रस्त हुनसक्ने औंल्याउनुभएको छ । पछिल्लो गणना अनुसार नेपालमा ३५५ बाघ छन्। सन् २०२२ मा बाघको गणना भएको अवधिले पनि यो समय दुई वर्ष पूरा भइसकेका कारण  यो सङ्ख्या अझै बढ्न सक्ने बताइन्छ। यो तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा १८ वटा बाघ समस्याग्रस्त छन्। चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शाही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा मात्रै अहिले बाघ पाइन्छन्। 

पछिल्लो समय भरतपुर २ का ६० वर्षीय पशुपति श्रेष्ठलाई  आक्रमण गर्ने  ५ वर्षको बाघलाई उद्धार गरेर सौराहा लगियो। गत साउन २१ गते उद्धार गरिएको बाघलाई साउन २२ गते  निकुञ्जको पूर्वी क्षेत्रमा लगेर  छाडियो।

बाघ–मानव द्वन्द्व कसरी घटाउन सकिन्छ भनेर अध्ययन अनुसन्धान गर्नुभएका इकोलोजिष्ट हरिभद्र आचार्य पछिल्लो समय बाघको सख्या बढेकै कारण वासस्थानको खोजीमा  संरक्षित क्षेत्रभन्दा बाहिर आइरहेको बताउनुहुन्छ। 

नेपालभरि कति बाघको उद्धार भयो भन्ने तथ्याङ्क कतै भेटिँदैन। चितवन राष्ट्रिय निकुञ्जले भने विगत एक वर्ष एक महिनामा  १३ वटा बाघ चितवन र नवलपरासीबाट उद्धार गरेको जनाएको छ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार नेपालमा एक वर्षमा ११ बाघको मृत्यु भएको छ भने बाघको आक्रमणबाट २१ जना मानिसको मृत्यु र १५ जना घाइते भएका छन्। बाघकै कारण ४८१ पशु क्षति भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ। 

यसरी बाघले मानिस र पशुलाई मार्ने क्रम देखिने हो भने बाघ र मानिसको द्वन्द्व बढ्दै जाने चिन्ता विज्ञमा छ। यसरी समस्याग्रस्त हुने बाघलाई नियन्त्रणमा लिने र थुनेर राख्ने कामले मात्रै समस्याको समाधान नदिने उनीहरुको बुझाइ छ। छिमेकी देश भारतमा मान्छे खाने बाघलाई मार्ने गरिन्छ। पछिल्लो पटक सन् २०२२ को अक्टोबर ९ गते भारतको बिहारमा १० जना मानिस र घरपालुवा जनावर खाएको बाघलाई गोली हानेर मारियो। 

नेपालमा वन्यजन्तु ऐनमा मान्छे खाने बाघ र बहुलाएको हात्तीला मार्न पाउने कानुनी व्यवस्था छ। तर कार्यान्वनमा आउन सकेको छैन। विभागमा योजना शाखाका प्रमुख समेत रहनुभएका इकोलोजिष्ट आचार्य बाघ व्यवस्थापनको विकल्प नभएको बताउनुहुन्छ। 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  दिलबहादुर पुर्जा बाघको व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन योजना आवश्यक देख्नुहुन्छ। बाघ बस्न सक्ने क्यारिङ क्यापासिटीका बारेमा अध्ययन गरेर त्यसको क्षमताका आधारमा राख्न सकिने हो भने यसले द्वन्द्व घटाउने उहाँको निष्कर्ष छ।