• १६ भदौ २०८१, आइतबार

निगमका दुई वाइडबडी जहाज ग्राउन्डेड

blog

काठमाडौँ, भदौ १२ गते ।  नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि रहेका चार वटा जहाजमध्ये दुई वटा वाइडबडी जहाज ग्राउन्डेड भएका छन् । प्रमुख पर्यटकीय सिजन र दसैँतिहार जस्ता ठुला चाडपर्वको समय नजिकिँदै गर्दा निगमका दुई प्रमुख जहाज विस्तृत मर्मतसम्भार (सी–चेक) का लागि ग्राउन्डेड भएका हुन् ।

असार ९ गते एउटा ए ३३० वाइडबडी ‘अन्नपूर्ण’ (सी–चेक) का लागि इटालीको नेपल्समा पठाएको निगमले आज (बुधबार) अर्को वाडबडी ए ३३० वाइडबडी ‘मकालु’ पनि सि–चेकका लागि इटाली पठाउन लागेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, “हरेक दुई वर्षमा अनिवार्य गर्नुपर्ने विस्तृत मर्मतसम्भारका लागि मकालु जहाजलाई इटालीको नेपल्स पठाउन लागिएको हो । मङ्गलबार जापानको नारिताबाट फर्केपछि उक्त जहाज बुधबार राति ११ बजे दुबई जाने यात्रु बोकेर सी–चेकका लागि उतैबाट इटाली पुग्ने तय भएको छ ।”असार ९ गते इटाली पुगेको जहाजको मर्मत कार्य जारी रहेकाले अबको एक साताभित्र नेपाल आइपुग्ने उहाँले बताउनुभयो ।

त्यस्तै निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले इटालीमा रहेको वाइडबडी जहाजको इटालियन कम्पनी एटिटेक एसपिएमा परीक्षण भइरहेको बताउँदै मर्मतको सिलसिलामा जहाजमा थप मर्मत गर्नुपर्ने र पार्टपुर्जाको व्यवस्था गर्नुपर्ने देखिएकाले सी–चेक गर्न थप समय लागेको जानकारी दिनुभयो ।