• १६ भदौ २०८१, आइतबार

नाडा अटो सो सुरु

‘नीतिगत स्थिरता सुरक्षित गर्दै सरकार अघि बढ्छ’

blog

मङ्गलबारदेखि सुरु भएको ‘नाडा अटो सो’ अवलोकन गर्दै उपभोक्ता । तस्बिर : कविन अधिकारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १२ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने बताउनुभएको छ । मङ्गलबारदेखि सुरु भएको ‘नाडा अटो सो’ को उद्घाटन गर्दै उहाँले नेपालमा गुणस्तरीय उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताउनुभयो ।

देश, जनता र कानुनको ख्याल गरेर सफल व्यवसाय गर्ने व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो । 

मन्त्रीहरूलाई औपचारिक कार्यक्रममा बोलाएर भाषण गर्न लगाउनुभन्दा काम गर्न दबाब दिनुपर्ने बताउँदै उहाँले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको बताउनुभयो ।

बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने गरेको बताउँदै उहाँले कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न सहयोग गर्न आग्रह गर्नुभयो । अहिले मन्त्रीहरूलाई भाषण होइन काम गर भनेर सबैले उत्प्रेरित गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नाडा अटो सो अटो व्यवसायीको ठुलो चाड भएको बताउनुभयो । नयाँ नयाँ प्रविधि देखाउन मात्र होइन जीविका चलाउने आधार भएको भन्दै उहाँले अटोमोबाइलको ठुलो चाड अटो सो हो, अटोमोबाइल जति पारदर्शी व्यवसायी अरू नभएको दाबी गर्नुभयो । व्यवसायलाई त्रास र भयबाट मुक्ति दिलाइदिन सरकारसँग आग्रह गर्दै अहिलेको सरकारप्रति ठुलो अपेक्षा रहेको नाडाका अध्यक्ष चौधरीले बताउनुभयो ।

मङ्गलबारदेखि सुरु भएको अटो सोमा ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा २४ ब्रान्डका चारपाङ्ग्रे, १९ ब्रान्डका दुईपाङ्ग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडी प्रदर्शनीमा राखिएको छ ।

यस्तै प्रदर्शनीमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरणलगायत ३३ कम्पनी अटो सोमा सहभागी छन् । यस्तै सात वित्तीय संस्थाका स्टलसमेत अटो सोमा रहेका छन् । प्रदर्शनीमा १३० वटा स्टल रहेको नाडाले जनाएको छ ।