• १६ भदौ २०८१, आइतबार

साफ यु–२० फुटबल : नेपाल र बङ्गलादेश दुवैको दाबी उपाधि

blog

फाइनलअघि ट्रफी सार्वजनिक गर्दै नेपाल र बङ्गलादेशका कप्तान ।

काठमाडौँ, भदौ ११ गते । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा बुधबार आयोजक नेपाल र बङ्गलादेश भिड्दैछन् । सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने दुवै टोलीका प्रशिक्षकको बुझाइ छ । सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बङ्गलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो ।

तीन पटकको विजेता भारतलाई हराएको बङ्गलादेश उच्च मनोबलमा रहेको छ । यता समूह चरणका बङ्गलादेशलाई २–१ गोलले हराएको नेपाल घरेलु मैदानको फाइदा बटुल्दै पुनः बङ्गलादेशलाई फाइनलमा स्तब्ध बनाउने तयारीका छ ।  

फाइनलअघि मङ्गलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि आफूहरू तयार भएको बताए । नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाइनल पुग्दे दुवै टोली राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताउनुभयो । 

‘‘हामीले समूह चरणदेखि उत्कृष्ट प्रदर्शन गरिरहेका छौँ । अपराजित रहँदै उपाधि जित्ने हाम्रो योजना हो । फाइनलका लागि हामी तयार छौँ । बङ्गलादेश पनि राम्रो खेलिरहेको छ । फाइनलमा जसले राम्रो खेल्छ । उपाधि उसैको हुनेछ,’’ उर्जनले भन्नुभयो । 

यस्तै बङ्गलादेशका प्रशिक्षक मरुफुल हकले फाइनल यात्रासम्म आइपुग्दा उतारचढाव बेहोरेको बताउनुभयो । ‘‘हामी कठिन यात्रा तय गरेर फाइनलमा आएका छौँ । नेपाल बलियो टोली हो । घरेलु मैदानको फाइदा उसलाई धेरै छ । तरपनि हामी फाइनलका लागि तयार छौँ,’’ हकले भन्नुभयो । 

पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो । नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो ।

दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलले हराएर समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटानले प्रतिस्पर्धा गरेका थिए ।