• ९ मंसिर २०८१, आइतबार

रेसुङगा विमानस्थलबाट उडान पुनः सुरु

blog

रेसुङगा विमानस्थलबाट उडान भर्दैगरेको जहाज । तस्विरः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, भदौ ८ गते । झण्डै दुई महिनापछि रेसुङगा विमानस्थलबाट पुनः उडान सुचारु भएको छ । गत असार १४ गतेदेखि खराब मौसमका कारण रेसुङगा विमानस्थलबाट उडान हुन नसकेको नेपाल एयरलाइन्स रेसुङगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । 

मौसम सफा रहेमा प्रत्येक हप्ताको शुक्रबार नियमित उडान हुने थापाले बताउनुभयो । भदौ ७ गते शुक्रबार काठमाडौँबाट –१२ जना यात्रु लिएर उडान भरेको विमानले रेसुङ्गाबाट खाली गएको थापाले बताउनुभयो । लामो समयसम्म नियमित उडान नभएका कारण र यात्रुहरू पनि विमान आउने नआउनेमा अन्योल भएका कारण यहाँबाट यात्रु नभएको उहाँको भनाइ छ । 

पहिले हप्ताको एक दिन शुक्रबार मात्र उडान भर्दै आएको जहाजले यात्रुको अत्यधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्र उडान गर्नेगरी कार्यतालिका रहेको थापाले बताउनुभयो । 

काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्य तालिका रहेको उहाँले बताउनुभयो । हवाई यात्रामा गुल्मी जोडिएसँगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरु घुम्नका लागि गुल्मी आएको रेसुङगा नगरपालिका गुल्मीले जनाएको छ ।

हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीनसय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँचसय रुपियाँ भाडा कायम गरेको स्टेसन प्रमुख थापाले बताउनुभयो । जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ किलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गत वर्षको वैशाख २९ गतेबाट व्यावसायिक उडान सुरु गरिएको थियो ।