• ९ मंसिर २०८१, आइतबार

निहुरोकै भरमा धानिन्छ परिवार

blog

सडक किनारमा निहुरो बिक्री गर्दै महिला ।

उर्लाबारी समाचारदाता

उर्लाबारी, साउन ३१ गते । न खनजोत गर्नुपर्ने, न त मल, जल र बल नै चाहिने । रोप्नु पनि नपर्ने, गोडमेल पनि नचाहिने । जङ्गल पसेर टिप्ने, सडक छेउमा बसेर बेच्ने गरेर धेरैको परिबार धानिँदै आएको छ । निहुरोको व्यापारबाट मध्यमोरङको पूर्वपश्चिम राजमार्ग आसपासका सयौँ परिवारले घरखर्च मात्र चलाएका छैनन् । उपचार खर्च र छोराछोरी पढाउने खर्च पनि जोहो गर्दै आएका छन् । 

मोरङको बेलबारी–१०, भाउन्नेका निसान मिश्र र निश्चल मिश्र विद्यालय बिदा हुनेबित्तिकै जङ्गल जाने गर्नुहुन्छ । निसान १० र निश्चल ८ कक्षामा पढ्नुहुन्छ । उहाँहरू दैनिक करिब तीन सय मुठा निहुरो टिप्नुहुन्छ । व्यापारीलाई दिँदाभन्दा आफैँ सडक किनारमा बसेर बिक्री गर्दा राम्रो आर्थिक लाभ हुन्छ । त्यसैले उहाँहरू बिहानभरि निहुरो टिप्ने र दिनभर सडक किनारको कलभर्टमा बसेर निहुरो बेच्ने गर्नुहुन्छ । पाँच वर्षअघि उहाँहरूले निहुरो टिप्न सुरु गर्दा प्रतिमुठा १० रुपियाँमा बिक्री हुन्थ्यो । अहिले ठेकेदारलाई दिँदा २५ रुपियाँ र आफैँ बिक्री गर्न बस्दा ४० रुपियाँसम्ममा बिक्री हुन्छ । शनिबार र छुट्टीको दिन उहाँहरू हजार बाह्र सय रुपियाँको निहुरो बिक्री गर्नुहुन्छ । 

१६ वर्षीय निसान भन्नुहुन्छ, “जङ्गलभरि मान्छे हुन्छन् । गाउँका मानिस परिवारैसहित निस्किन्छन् । खाजा मात्र होइन, भात पनि उतै खान्छन् । १२ बजेपछि विराटनगर, धरान र काठमाडौँका व्यापारी राजमार्गका चोक चोकमा गाडी लिएर आउँछन् । घरको काम बित्नेले व्यापारीलाई बिक्री गर्छन् । फुर्सदिलाहरू आफैँ बसेर बेच्छन् ।” निसानका अनुसार लेटाङ, कानेपोखरी, भाउन्ने र लक्ष्मीमार्गबाट दैनिक सानो पिकअपमा छ/सात गाडी निहुरो बाहिर जान्छ । निहुरोको थोक व्यापार गरिरहनुभएका गोकुल बस्नेत भन्नुहुन्छ, “खेतीपातीमा भन्दा निहुरो खोज्न फाइदा हुन्छ । खेत रोप्ने खेताला पाइन्न । गाउँका सबै ढोकामा ताला लगाएर निहुरो खोज्न जान्छन् ।” बस्नेतका अनुसार यो वर्ष ढिलो गरी पानी परेकोले असारको पहिलो सातादेखि निहुरो निस्कियो । त्यसयता दुई करोड रुपियाँभन्दा बढीको निहुरो बिक्री भइसक्यो । पूर्वपश्चिम राजमार्गको कानेपोखरी–भाउन्ने सडक किनारमा निहुरो लिएर बसिरहनुभएकी प्रश्ना लिम्बूले भन्नुभयो, “दैनिक ३०/३५ मुठा निहुरो टिप्छु । प्रतिमुठा २५ रुपियाँले बिक्री गर्दा दैनिक सात सय रुपियाँ कमाइ हुन्छ ।”  प्रश्नाका साथीहरू झुमा, पुनम र सुमन पनि सरदर छ/सात सय रुपियाँ कमाइ हुने बताउनुभयो ।  

बिदाको दिनबाहेक आफन्त र छिमेकीसँग निहुरो टिप्न जाने बालबालिका पनि कम छैनन् । अधिकांश स्कुले बालबालिका बिहानभरि जङ्गलमा भेटिन्छन् । सानो डोकोमा अलिकति खाजा र पिउने पानी बोकेर बिहान ५:३० बजेतिर निस्किएका उनीहरू ९ बजे  खाना खान घर पुग्ने गर्छन् । १० बजे विद्यालय पुग्छन् ।

निहुरो टिप्ने बालबालिका र तन्नेरी मात्र होइन वृद्धहरू पनि उत्तिकै भेटिन्छन् जङ्गलमा । सफा मौसम भएको दिन जङ्गलमा दुई हजारभन्दा बढी मान्छे निहुरोको खोजीमा हुने गरेको स्थानीय निहुरो खरिदकर्ता सनत साह बताउनुहुन्छ । १० वर्षदेखि निहुरो सङ्कलन गरेर ठेकेदारलाई बिक्री गरिरहनुभएका साहले भन्नुभयो, “दैनिक करिब २५ हजार मुठा सङ्कलन हुन्छ  । सङ्कलित सबै निहुरो काठमाडौँ र पश्चिमका सहरमा जाने गर्छ । सङ्कलकसँग प्रतिमुठा २५ रुपियाँँका दरले किनेको निहुरो स्थानीय ठेकेदारले नै काठमाडौँमा लगेर दुई मुठालाई तीन मुठा बनाएर बेच्छन् । ठेकेदारले यातायात खर्च र कर जोडेर तरकारी व्यापारीसम्म पु¥याउँछन् ।

उहाँ भन्नुहुन्छ, “जिरीखिम्तीदेखि  लक्ष्मीमार्गसम्मको करिब आठ किलोमिटर क्षेत्रबाट मात्र दैनिक करिब एक लाख रुपियाँको निहुरो बाहिर जाने गरेको छ । महिनामा सबै दिन अनुकूल मौसम हुन्न । २० दिन मात्र निहुरो गयो भने पनि एक करोड २० लाख रुपियाँको निहुरो बाहिरिन्छ ।