महोत्तरी समाचारदाता
महोत्तरी, साउन ३१ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बुधबार भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीको उद्घाटन गरिएको छ । जलेश्वर नगरपालिका–२ को प्रादेशिक अस्पतालअगाडि मधेश प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा मन्त्री साहले जनभावना अनुसार कामकाज गर्न कर्मचारीलाई निर्देशन दिँदै कार्यालय स्थापना भएपछि महोत्तरीका जनतालाई भू तथा जलाधार संरक्षणसम्बन्धी कार्यक्रमबाट लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले प्रदेशमा महोत्तरीसहित पर्सा, रौतहट र सिराहामा मात्रै भू तथा जलाधार व्यवस्थापन कार्यालय रहेकोमा प्रदेश सरकारले प्रदेशका आठै जिल्लामा कार्यालय स्थापना गर्ने गरी काम गरिरहेको बताउनुभयो ।
देश सङ्घीयतामा प्रवेश गरेसँगै खारेज भएका साबिकका जिल्ला भूसंरक्षण कार्यालयले सञ्चालन गर्दै आएका भू तथा जलाधार संरक्षणसम्बन्धी एकीकृत कार्यक्रम यो कार्यालयबाट गरिने जानकारी भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीका प्रमुख बेचनकुमार महतोले दिनुभयो ।
उहाँले उपलब्ध स्रोतसाधन एवं स्वीकृत कार्यक्रम तथा बजेटका आधारमा महोत्तरी तथा धनुषाको महत्वपूर्ण र संवेदनशील जलाधार क्षेत्रको एकीकृत संरक्षणका माध्यमबाट खेतीयोग्य भूमिको संरक्षण तथा उत्पादकत्व वृद्धि गरी कार्य गर्ने जानकारी दिँदै उत्तरको चुरे क्षेत्रदेखि दक्षिणको दसगजासम्म यस कार्यालयको क्षेत्राधिकार रहेको बताउनुभयो ।
उहाँले स्थानीय तहसँगको सहकार्य र समन्वयमा सहरी खानेपानीका जलाधार क्षेत्र संरक्षण, कुवा, पोखरी संरक्षणलगायतका महत्वपूर्ण जलाधार क्षेत्रको संरक्षण तथा संवर्धन गरी बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको चाप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सघाउ पु¥याउने मुख्य जिम्मेवारी यस कार्यालयको रहेको बताउनुभयो । उहाँका अनुसार हरित क्षेत्र निर्माणका लागि समेत यो कार्यालयले कामकाज गर्ने छ ।
चुरे विनाशका कारण यस क्षेत्रका बासिन्दा विगतदेखि नै खानेपानीको समस्याबाट आक्रान्त रहँदै आएको समयमा यो कार्यालयको स्थापनाले महोत्तरीवासी खुसी भएका छन् । विगतमा जलाधारसम्बन्धी कामका लागि सिराहाको लहान पुग्नुपर्ने अवस्था महोत्तरीमा कार्यालय स्थापनासँगै हटेको छ ।
उद्घाटन समारोहमा मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरे, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहित वन मन्त्रालयका विभिन्न महाशाखा प्रमुख तथा मधेश प्रदेशका सम्पूर्ण भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुखको उपस्थिति थियो ।