बर्दीबास समाचारदाता
बर्दीबास, साउन ३१ गते । महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको आयात व्यापारमा गिरावट आएको छ । यसका कारण आर्थिक वर्ष २०८०/८१ को राजस्व लक्ष्यभन्दा ५१ करोड कम सङ्कलन भएको छ ।
जलेश्वर भन्सारको राजस्व ओरालो लागेको पहिलो पटक होइन । गत आव २०७९/८० मा पनि यहाँबाट लक्ष्यको साढे २२ प्रतिशत कम सङ्कलन हुन सकेको थियो । राजस्व असुलीमा यहाँ निरन्तर गिरावट छ ।
कार्यालयका अधिकृत सन्तोष ज्ञवालीका अनुसार विभागले आव २०८०/८१ लागि तीन अर्ब ७६ करोड २३ लाख लक्ष्य तोकेको थियो । असुली भने तीन अर्ब २५ करोड ९८ लाखमा सीमित भएको उहाँले बताउनुभयो । यो असुली लक्ष्यको १३.३६ प्रतिशत कम हो । आव २०७८/७९ मा लक्ष्यभन्दा १८२ प्रतिशत बढी राजस्व सङ्कलन गरेर वाहवाही कमाएको यो भन्सारलाई विभागले सुक्खा बन्दरगाहमा स्तरोन्नति गर्ने प्रक्रिया सुरु गरिसकेको छ । यो अवस्थामा घट्दो राजस्व असुलीले भन्सारको विविध पक्षलाई बहसमा तानेको छ ।
कार्यालयका अधिकृत ज्ञवालीले राजस्व घट्ने अनेक कारण भएको बताउनुभयो । विशेषतः भारतबाट हुने आयात व्यापारमा देखा परेको आरोहअवरोहले असुली प्रभावित हुने गरेको उहाँको भनाइ छ । यसमध्ये राजस्वमा सबैभन्दा बढी योगदान पु¥याउँदै आएको पेट्रोलियमको घट्दो आयात राजस्व असुली ओरालो लागने प्रमुख कारण भएको उहाँ बताउनुहुन्छ ।
भन्सारको रेकर्ड अनुसार आयात घट्दा आव २०७८/७९ मा पेट्रोलियमबाट लक्ष्यको ५८.६३ प्रतिशत मात्र असुली हुन सकेको थियो । आव २०८०/८१ मा त्यसमा पनि गिरावट आई साढे ५२ प्रतिशतमा सीमित भएको छ ।
ज्ञवालीले भन्नुभयो, “चुनावी वर्ष भएकाले भारतले खाद्य सुरक्षाका नाममा कहिले बासमतीबाहेकका चामलमा प्रतिबन्ध त कहिले प्याजमा अतिरिक्त निर्यात कर र धानमा प्रतिबन्ध लगाउने जस्ता कारणले वर्षभरि घट्दो क्रममा रहेको आयातको असर पनि राजस्व असुलीमा परेको हो ।”
पेट्रोलियमबाहेक जलेश्वर भन्सार नाकाबाट सबैभन्दा बढी कोइलाबाट २४ करोड ७१ लाख, आलुबाट १४ करोड १७ लाख, चामलबाट १० करोड ८३ लाख र सिमेन्ट बनाउने कच्चा पदार्थबाट आठ करोड ६३ लाख राजस्व सङ्कलन भएको छ । भिट्ठामोड भन्सारबाट पाम आयल र प्लाइउड मात्र भारत निकासी भएको अधिकृत ज्ञवालीले जनाउनुभयो ।
भन्सार चुहावट नियन्त्रणमा सुरक्षा निकायको सक्रियता बढे पनि प्रमुख नाकामा रहेका समसी, मटिहानी, रघुनाथपुर जस्ता छोटी भन्सारले पूर्ण क्षमतामा काम गर्न नपाउँदा आयात व्यापारले गति लिन नसक्ने अर्को प्रमुख कारण भएको सीमा व्यापारीले बताएका छन् ।
राजविराजमा लक्ष्यभन्दा बढी राजस्व
यता सप्तरी समाचारदाताका अनुसार आर्थिक वर्ष २०८०/८१ मा राजविराज भन्सार कार्यालयले लक्ष्यभन्दा २४.१६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा छ करोड ५० लाख ३५ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको राजविराज भन्सार कार्यालयले आठ करोड ७४ लाख सात हजार ६०६ रुपियाँ सङ्कलन गरेको हो ।
कार्यालयको तथ्याङ्क अनुसार सबभन्दा बढी असारमा लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ भने सबभन्दा कम पुसमा भएको राजविराज भन्सार कार्यालय बेल्हीका सूचना अधिकारी अजयप्रकाश भगतले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार असारमा ५३ लाख ६९ हजार रुपियाँ सङ्कलनको लक्ष्य रहेकोमा एक करोड १९ लाख ५६ हजार ९८७ रुपियाँ राजस्व सङ्कलन भयो । त्यस्तै पुसमा ५५ लाख ५८ हजार सङ्कलनको लक्ष्यमा २९ लाख ४२ हजार ५२९ रूपियाँ मात्र सङ्कलन हुन सकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
राजस्व सङ्कलनको दृष्टिकोणले राजविराज भन्सार कार्यलयका लागि गएको आव अघिल्लो आवभन्दा राम्रो थियो ।
आव २०७९/८० मा पाँच करोड ९९ लाख ३१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको कार्यालयले पाँच करोड आठ लाख ९७ हजार १९६ रुपियाँ मात्र सङ्कलन गरेको थियो । आव २०८०/८१ का लागि राजविराज भन्सार कार्यालयले आठ करोड ८१ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो ।