• ८ मंसिर २०८१, शनिबार

करेन्ट लागेको प्रहरी जवानको ज्यान पत्रकारले जोगाए

blog

प्रहरी जवान यादव करेन्ट लागेर ढलेको ठाउँमा रमिते हेर्नेहरुको भीड । तस्बिर : शिवशंकर मिश्र

बारा समाचारदाता

बारा, साउन २४ गते । करेन्ट लागेर ढलेका एकजना प्रहरी जवानको ज्यान पत्रकारले बचाएका छन् ।

सिंहदरबार कार्यरत प्रहरी जवान सन्देश यादव बिदामा घर आएको बेला कलैया भरत चोकमा बिहीबार अचानक करेन्ट लागेर ढल्नु भएको थियो । बाराको देवताल गाउँ पालिका–६ रौवाही टोलमा सो घटना भएको थियो ।  

प्रहरी जवान यादव ढलेको दृश्य स्थानीयले रमिते हेरिरहेको अवस्थामा ती पत्रकारले लठीको सहाराले विद्युतको तार चुँडाएर करेन्ट मुक्त गराएको नेपाल पत्रकार महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डेले बताउनु भयो ।  तार छुटाउन प्रयोग हुने काठ पूर्णरुपमा सुकेको हुनुपर्छ । भिजेको वा काँचो काठले छोयो भने छुनेलाई पनि करेन्ट लाग्ने खतरा रहन्छ । 

उहाँको अनुसार प्रहरी जवान यादव पिसाब फेरेपछि हात धुन सोही ठाउँको सार्वजनिक चापाकलबाट तल आउने क्रममा विद्युतकाे तार छुँदा करेन्ट लागेर ढल्नु भएको थियो।

करेन्ट लागेर बेहोस भएका प्रहरी जवान यादवको कलैया प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप नेशनल मेडिकल कलेज बिरगंजमा उपचार भइरहेको बारा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनु भयो ।

विद्युत प्राधिकरण कलैयाको कर्मचारीहरुको लापरबाहीको कारण यसरी भरत चोकमा ज्यान जाने गरी भएको घटना ति स्थानीयहरु विरोध जनाएका छन् । 

करेन्ट लागेर गम्भीर घाइते भएको प्रहरी जवान यादवको सम्पूर्ण जिम्मेवारी प्राधिकरणले लिने र तार चुडेको खबर कहीबाट आउना साथ छिटो मर्मत सम्भार नगरेमा त्यसको  जवाफ प्राधिकरणले लिनुपर्ने स्थानीय युवा राजेश रौनियारले चेतावनी दिनुभयो ।

विद्युतको तार नभएर पोल खडा राख्ने स्पोटिङ तारमा करेन्ट प्रवाह हुँदा यस्तो घटना भएको प्राधिकरण कलैयाका प्रमुख ऋषि कुमार वर्णवालले जानकारी दिनुभयो ।

कलैया आसपासको क्षेत्रमा ३५–४० वर्ष पुरानो विद्युतको संरचनाहरु रहेको तथा नयाँ जडानका लागि टाटा कम्पनीले ठेक्का लिएको उहाँले बताउनु भयो । 

तार छुँडाल्ने कार्य गोरखापत्र दैनिकका बारा समाचारदाता शिवशंकर मिश्रले गर्नुभएको थियो ।