• १२ असोज २०८१, शनिबार

आश्रमका लागि आजदेखि महायज्ञ

blog

बर्दीबास समाचारदाता

बर्दीबास, साउन २१ गते । सडक मानव आश्रमका लागि ‘हाम्रो मायाको घर’ निर्माण गर्न बर्दीबासमा सोमबारदेखि २९ गतेसम्म आयोजना हुने शिवपुराण महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । यो तयारीसँगै बर्दीबासमा धार्मिक चहलपहल सुरु भएको छ । 

आयोजक शिवपुराण महायज्ञ मूल समितिका अध्यक्ष हिरा गौतमका अनुसार श्रावण शुक्ल प्रतिपदाको शुभसाइतमा शिवपुराण महायज्ञको उद्घाटन हुने छ । महायज्ञको पूर्वाङ्गमा सोमबार बिहान कलशयात्राको आयोजना गरिने कार्यक्रम छ । पुराण स्थलबाट एक हजारभन्दा बढी कन्याको सहभागितामा सुरु गरिने कलशयात्राले नगर परिक्रमा गरी रातु नदीबाट पवित्र जल लिएर पुनः पुराण स्थलमा पुगेपछि महायज्ञको उद्घाटन हुने छ । महायज्ञकी प्रमुख आकर्षण एवं परिकल्पनाकार भागवत मञ्जरी राधिका दासी आफ्ना धार्मिक टोलीसाथ आइतबार यहाँ आउनुभएको छ । महायज्ञका लागि बर्दीबास–१ मा भव्य पण्डाल लगाइएको छ भने आइतबार बिहान पुराणप्रति आस्था जगाउने सामग्रीसहित जिप, अटोरिक्सा, ट्याम्पो गरी करिब दुई सय सवारीले नगर क्षेत्रमा धर्मयात्रा निकालेका थिए । 

महायज्ञलाई व्यवस्थापन गर्न विभिन्न २२ वटा उपसमिति गठन गरिएको ‘हाम्रो मायाको घर’ सञ्चालनका लागि गठित समितिका अध्यक्ष कृष्ण गौतमले जनाउनुभयो । त्यसमध्ये आर्थिक, प्रचारप्रसार र बोर्ड संयोजक गरी तीन उपसमिति क्रियाशील छन् । महायज्ञमा एक लाखभन्दा बढी दर्शनार्थी सहभागी हुने अनुमान गरिएको छ । त्यस्तै आवश्यकता अनुसार स्वयंसेवक, भोजन व्यवस्थापनलगायतका समिति पनि सक्रिय हुँदै जाने उहाँले बताउनुभयो । 

यहाँ पहिलो पटक आयोजना हुन लागेको महायज्ञप्रति पेसाकर्मी पनि उदार देखिएका छन् । 

होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले पुराणमा सहभागी हुन आउने दर्शनार्थीका लागि भोजनमा १५ प्रतिशत तथा आवास (लजिङ) मा २५ प्रतिशत छुटको घोषणा गरेको छ । यसबाहेक आयोजकलाई सचिवालय उपलब्ध गराउनुका साथै पुराणमा सहभागी हुन आएका करिब ३० जनाको धार्मिक सांस्कृतिक टोलीलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको सङ्घका उपसचिव नारायण घिमिरेले बताउनुभयो । 

अर्कोतर्फ महायज्ञमा सहभागी हुन आउने धर्मपरायण नरनारीका लागि बर्दीबासस्थित यातायात व्यवसायी सङ््घले प्रचलित भाडादरमा ३० प्रतिशत छुटको घोषणा गरेको छ । 

अध्यक्ष कृष्ण गौतमका अनुसार जसको कोही छैन त्यसका लागि हामी छाँै भन्ने उदार चित्तले निर्माण गर्न लागिएको यो संस्थाप्रति सबैलाई प्रेरित गर्ने उद्देश्यले महायज्ञबाट यसको शुभारम्भ गर्न लागिएको होे । महायज्ञमा सहभागी हुन आउने दर्शनार्थीको सहजताका लागि मधेश प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले दुई थान घुम्ती शौचालय हस्तान्तरण गरेको छ । ‘हाम्रो मायाको घर’ का लागि १५ जना दाताले बर्दीबास–२ मा करिब डेढ करोड रुपियाँ  बराबरको साढे पाँच कट्ठा जग्गा दान दिएपछि यसको निर्माण प्रव्रिmया सुरु भइसकेको छ । बाहिरी पर्खाल निर्माणको काम सकिएको छ । दुईतले र अढाईतले गरी दुई वटा भवनको डिपिआर पनि तयार छ । 

दुवै भवन निर्माणका लागि आवश्यक ११ करोड रुपियाँको स्रोत जुटाउने पहिलो अभियानको थालनी महायज्ञबाट गर्न लागिएको हो । महायज्ञ सुरु हुनुअघिदेखि नै धमाधम सहयोगको घोषणा हुन थालेकाले आयोजकलाई आशावादी बनाएको छ । महायज्ञको दानदातव्यबाट सवा करोडदेखि डेढ करोड रुपियाँसम्म जुट्ने महायज्ञ मूल समितिको विश्वास छ । थप सहयोग सङ्घ, प्रदेश र स्थानीय सरकारबाट जुटाउन प्रयास गरिने समितिले जनाएको छ । महायज्ञ आयोजनामा करिब २५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।