• ८ मंसिर २०८१, शनिबार

प्रसूति सेवा लिनेको सङ्ख्यामा वृद्धि

blog

प्रादेशिक अस्पताल गौरमा बिरामीको सङ्ख्या बढदो । तस्बिर : सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र
गौर, साउन १९ गते । 
रौतहटको प्रादेशिक अस्पताल गौरमा प्रसूति सेवा लिने आउनेको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले सेवा सुविधामा व्यापक सुधार गरेपछि सुरक्षित प्रसूति सेवा लिन प्रादेशिक अस्पतालमा आउने गर्भवती महिलाको सङ्ख्यामा वृद्धि भएको हो ।

प्रादेशिक अस्पताल गौरमा अहिले दैनिक २०–२२ जना गर्भवती महिला प्रसूति सेवा लिन आउने गरेका छन् । त्यसमध्ये तीनदेखि चार जना गर्भवती महिलाको शल्यक्रियाबाट प्रसूति सेवा दिने गरेको प्रादेशिक अस्पताल गौरका मेसु डा. मुरारी ठाकुरले बताउनुभयो ।

प्रादेशिक अस्पताल गौरमा प्रसूति विशेषज्ञ चिकित्सकसहित १४ जनाभन्दा बढी नर्सिङ कर्मचारीहरू रहेका छन् । यहाँ चौबिसै घण्टा सेवा प्रदान गर्ने गरिन्छ ।

निजी अस्पतालमा प्रसूति गराउँदा खर्च धेरै हुने गरेको तर सरकारी अस्पतालमा प्रभावकारी ढङ्गले प्रसूति सेवा प्राप्त हुने गरेका कारण गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

यस्तै अस्पतालमा आउने बिरामीहरूको स्वास्थ्य सेवाको मध्यनजर राख्दै आइसियु सेवा, भिडियो एक्स-रे, डिजिटल एक्स-रे मेसिन, इसिजी सेवा, ओपिडी, इमरजेन्सी सेवा, वार्ड सेवा, शल्यक्रिया व्यवस्थापन, प्रसूति सेवा, जेनरल सर्जरी निःशुल्क औषधी, ब्लड बैङ्क सेवा, २४ घण्टा ल्याब जाँच सुविधा लगायत समुचित खानेपानी, सरसफाइमा सुधार गरेपछि मधेश प्रदेशको अस्पतालमध्ये प्रादेशिक अस्पताल गौर  ८९ अङ्क ल्याई दोस्रो स्थान ल्याउन सफल भएको डा. ठाकुरले जानकारी दिनुभयो ।

मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य बाबुलाल साहले मेसु डा. ठाकुर आएपछि अस्पतालको स्वास्थ्य सेवामा विगतभन्दा व्यापक सुधार भएको बताउनुभयो ।