• ७ मंसिर २०८१, शुक्रबार

जलेश्वर महादेवको महात्म्य

blog

पौराणिककालको मिथिला अथवा विदेह राज्यको राजधानी भनेर जनकपुरधामको परिचय दिने गरिन्छ । यस राज्यका जनकवंशी राजाहरूमध्ये शिरध्वज जनक महाराज सबैभन्दा चर्चित रहेकाले अहिलेसम्म उहाँको गुणगान हुने गर्छ । जानकी वा सीताका पालनहार राजा जनकको मन्दिर जनकपुरधाममा छ । हुन त यो मन्दिरभन्दा बढी चर्चा र पर्यटकको रोजाइमा जानकी र राममन्दिर पर्छन् ।

जनकपुरधाम पुग्ने प्रायः पर्यटक तथा धार्मिक भ्रमणमा रहेका व्यक्ति जलेश्वर, मटिहानी र रतवारा भ्रमण गर्न चुक्छन् । यो ठाउँ जनकपुरबाट १५ किलोमिटर मात्र टाढा छ । आरामदायी चारचक्के साना सवारीसाधनदेखि टुकटुके, ट्याम्पोबाट मात्र नभई सार्वजनिक यातायातबाट समेत यी ठाउँको भ्रमण गर्न सकिन्छ । यस क्षेत्रभित्र साउन महिनामा घुम्दा शिवमय अर्थात् हरेक ठाउँका शिवालय सोमबारका दिन श्रद्धालुले भरिभराउ भेटिन्छन् । 

जनकपुरधाम पुगेर यी ठाउँ घुम्नैपर्ने केही जानकारी यस्ता छन् । जलेश्वर महादेवको नामबाट जहाँ जल र ईश्वरको मिलन हुन्छ, त्यही जलेश्वर हो भनेर नामकरण भएको हो । १६ भ¥याङमुनिको जलगुफाभित्र महाशिवलिङ्ग अवस्थित रहेकाले भाग्यले जुराएका बेला मात्र जलेश्वर महादेवको प्रत्यक्ष दर्शन हुने गर्छ । यस महालिङ्गको स्थापना स्वयम् रुद्रले गर्नुभएको मिथिला महात्म्यमा उल्लेख छ । यस अर्थमा यो स्थान प्राचीन मिथिला राज्यभन्दा पनि पुरानो छ । 

यहाँ जलेश्वर महादेवसँगै उमा महोदरी शक्तिपीठको पूजा गर्न सकिन्छ । यो मन्दिर सतीमाताको नामले प्रसिद्ध छ । सतीमाताको पतन भई वामस्कन्द (बायाँ काध) यहीँ झरेकाले यो शक्तिपीठको नाम वामस्कन्द उमा महोदरी हुन गएको हो । महोदरीकै नामबाट महोत्तरी हुन गएको मन्दिरका पुजारी उपेन्द्र पाठक बताउनुहुन्छ । जलेश्वर महादेव, उमा महोदरी शक्तिपीठ, मटिहानी र रतवारा क्षेत्र महोत्तरी जिल्लाका प्रमुख पर्यटकीय स्थलमा पर्छन् ।

जलेश्वरमा धेरै धार्मिक पोखरी घुम्न सकिन्छ । धार्मिक ठाउँहरूमा हुने पोखरीलाई सरोवर भन्ने गरिएकोमा यस ठाउँमा ‘सर’ भनेर सम्बोधन गरिन्छ । सरोवरको छोटो रूप सर हो । जसमध्ये मुख्य रूपमा वरुणसर, पुरनदहसर, भृगुसर, सुखदेवसर छन् । प्राचीनकालमा जलका देवता वरुण एवं ऋषिमुनि भृगु र सुखदेवलगायतले यी सरोवरको निर्माण गराएकाले उहाँहरूकै नामबाट नामकरण भएको मानिन्छ । त्रिपुर भष्म गरिएको धनुषलाई जलेश्वरकै दहमा राखिएकाले एउटा सरोवरको नाम पुरनदह हुन गएको हो । धार्मिक कर्म गर्नेहरू यस सरोवरमा नुहाउने गर्छन् । 

लेखक मोहनप्रसाद खनालले नेपाली कला पुस्तकमा चर्चा गर्नुभएको काठमाडौँ उपत्यकाका पुरानो मूर्ति जस्तै देखिने सयौँ वर्ष पुराना गणेश, सूर्य, विष्णु र भैरवका मूर्तिहरू जलेश्वरमा अवलोकन गर्न सकिन्छ । महिनाको पहिलो सोमबार एवं विशेष अवसरमा जल निकालिएपछि प्रत्यक्ष रूपमा जलेश्वर महालिङ्गको दर्शन र पूजा गर्न सकिन्छ । मन्दिरभित्र रहेको सयौँ वर्ष पुराना वटवृक्ष (बर) को रुखमुनि बसेर केहीबेर ध्यान गर्न सकिन्छ । यस वटवृक्षमुनि थुप्रै ऋषिमुनिले साधना गरेका इतिहास छ । जलेश्वरमा एउटा प्राचीन गढी छ । जलेश्वरगढीको नाम रहेको यस स्थानमा गढीमाईको मन्दिर छ । पर्यटकहरू यस ठाउँमा समेत पुग्ने गरेका छन् । यसबाहेक हरेक पाँच वर्षमा महापूजा हुने संसारीमाई, दसैँमा खुल्ने त्रिशूलीमाई र जलेश्वर राजदेवीलगायतका मठमन्दिर प्रसिद्ध धार्मिक स्थलका रूपमा रहेका छन् । नेपालमा समुद्री सतहबाट सबैभन्दा होचो स्थानमा जलेश्वर महादेव मन्दिर र नगरपालिका अवस्थित छ । विकिपिडियाले यो स्थान समुद्री सतहदेखि ५३ मिटरमाथि रहेको देखाउँछ । जलेश्वरको माछा र जेरीको स्वाद अन्य ठाउँभन्दा फरक रहेको व्यवसायी उमेश साह बताउनुहुन्छ । स्थानीय पोखरीमा उत्पादित हुने रौह, भकुरा, नैन्ही, सिल्वर, बिगहटलगायतका सानाठुला माछाको स्वाद यहाँ लिन सकिन्छ । पुराना निबन्ध तथा पाठ्यपुस्तकमा जलेश्वरको माछाबारे चर्चा गरिएका छन् ।

एक दिन जलेश्वर भ्रमणपश्चात् विश्राम गरेर अर्को दिन मटिहानी र रतवारा घुम्न सकिन्छ । अर्कोतर्फ जनकपुरधामबाट ग्रामीण बाटो हुँदै मटिहानीमा लक्ष्मीनारायण मठ र संस्कृत पाठशाला घुमेर साँझ जलेश्वरमा विश्राम गर्नेहरू समेत भेटिन्छन् । समय अभाव हुनेले एक दिनमै यी तीन वटै स्थानको भ्रमण गर्न सक्छन् । 

रामजानकी विवाहका बखत वेदी निर्माणलगायतका धार्मिक प्रयोजनका लागि यस ठाउँबाट माटो खनेर लगिएकाले मृतखनी अपभ्रंश भई मटिहानी हुन गएको नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । अहिलेको लक्ष्मीनारायण मठ सेनवंशी राजा मणिक सेनको समयमा निर्माण भएको हो । हुन त मटिहानी, जलेश्वर र रतवारासम्मको क्षेत्रलाई प्राचीनकालमा ऋषिमुनिले तपस्या स्थलका रूपमा प्रयोग गरेका थिए किनभने गाउँठाउँ र पोखरीको नाम यिनै ऋषिमुनिको नामबाट रहन गएको छ । बिहीबार मटिहानी पुग्नेले त्यहाँको लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्नुका साथै सयौँ वर्ष पुराना चार वटा घन्ट हेर्न सक्छन् । यी घन्टहरू विसं १८८४, १९२५, १९३० र १९३१ मा तत्कालीन दाता तथा महन्थले चढाएका हुन् । मठनजिकै रहेको ३०५ वर्ष पुरानो संस्कृत पाठशालामा घुम्न सकिन्छ । यसै ठाउँमा १८० वर्षअघि बालागुरु षडानन्दले १० वर्षसम्म अध्ययन गर्नुभएको थियो । जनकपुरधामबाट मटिहानी पुगेको अवस्थामा सिमरदही पुगी ऋषि शाण्डिल्यको नामबाट अपभ्रंश भइबनेको सारीगाउँ भएर सुखदेव पोखरीसम्म पुग्न सकिन्छ । पुनः सो पोखरीबाट भृगु आश्रम हुँदै जलेश्वरसम्मको यात्रा गर्न सकिन्छ ।

जनकपुरधामबाट जलेश्वर भ्रमणपछि मटिहानी एवं रतवारा घुम्न सकिन्छ । जलेश्वरबाट रतवारा तीन किलोमिटर उत्तर तथा मटिहानी छ किलोमिटर पूर्वतर्फ छ । सिमलवनको दह अपभ्रंश भई सिमरदही हुन गएको हो । अर्को प्रसङ्ग अनुसार रामजानकी विवाहको समयमा यहाँ दही भण्डारण भएकाले सिमरदही नाम हुन गएको स्थानीय श्यामकुमार चौधरी बताउनुहुन्छ । यहाँको लक्ष्मीनारायण मठमा नरसिंह भगवान्को शालिग्राम छ । यसै दुर्लभ शालिग्रामको दर्शन गर्न धार्मिक पर्यटक सिमरदही मठसम्म आउने गर्छन् । रतवारामा विसं १८९० मा राजा राजेन्द्र शाहकी भित्रिनीले लक्ष्मीनारायण मन्दिर पुनर्निर्माण गरेका कारण गाउँकै नाम रानी रतवारा हुन गएको हो । त्यहाँ रहेको घन्ट पनि त्यही सालमै झुन्ड्याइएको हो । यस लक्ष्मीनारायण मन्दिर परिसरभित्र पारसनाथ महादेव मन्दिर र कर्णाटकालदेखि आधुनिककालसम्मका मूर्ति देख्न पाइन्छ । पूर्ण कदको नारायण, गरुडलगायतका पुराना मूर्ति छन् । पुराना ताम्रपत्रहरू पनि यहाँ हेर्न सकिन्छ ।

नेपालमा प्रायः कम चर्चा हुने कामदेवको मन्दिर रतवारामा रहेको स्थानीय सौरभ पारसमणि पासवान बताउनुहुन्छ । कामदेवले महादेवको ध्यान भङ्ग गर्न जाँदा त्रिनेत्रको ज्वालाबाट भस्म भएका थिए । मटिहानी, सिमरदही जस्तै रतवारा मन्दिरको अगाडि सुन्दर पोखरी छ । नेपाल–भारत सीमानाको जनजीवन अध्ययन गर्न चाहनेका लागि समेत मटिहानी र जलेश्वर महत्वपूर्ण क्षेत्र हो । सन् १८१४–१६ मा भएको नेपाल–अङ्ग्रेज युद्धको मात्र नभई त्यसभन्दा अगाडि कान्तिपुरको सेनालाई सहयोग गर्न पुगेका अङ्ग्रेज सेना र त्यसभन्दा पनि पहिले गोर्खा सेनाविरुद्ध सेन राजालाई सहयोग गर्न आएका मिर कासिमको सेनालाई यस क्षेत्रका बासिन्दाले असहयोग गरेका थिए । यी युद्धसँग जोडिएका थुप्रै कथा यस क्षेत्रमा सुन्न सकिन्छ । मटिहानी विरजा (विगही) र दुधमतीको सङ्गमस्थलमा अवस्थित रहेकाले विभिन्न उत्सवका बेला नदीमा नुहाउने परम्परा छ । जलेश्वर र रानी रतवारा रातु नदीको किनारमा अवस्थित छन् ।