• १२ असोज २०८१, शनिबार

गृहिणीले बनाउन थाले सेनेटरी प्याड

blog

सर्लाही समाचारदाता

सर्लाही, साउन १८ गते । ग्रामीण भेगमा पर्ने सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका गृहिणी आफैँले सेनेटरी प्याड बनाउन जानेपछि खुसी भएका छन् । उनीहरूले महिनावारीका सम्बन्धमा राम्रोसँग बुझ्ने अवसरसमेत पाएका छन् । हरिवनस्थित बागमती सेवा समाज नेपालले वल्र्ड भिजनसँगको साझेदारीमा हरिपुर्वा र पर्सामा सञ्चालन गरेको ‘बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसिप परियोजना’ अन्तर्गत घुम्टोभित्र सीमित तराई मूलका महिलालाई महिनावारी भएको समयमा प्रयोग गर्नयोग्य सेनेटरी प्याड बनाउन सिकाएको हो । 

रूपान्तरण कक्षामा सहभागी बालबालिकाका आमालाई सहभागी गराई महिनावारी स्वच्छतासम्बन्धी अभिमुखीकरण प्रदान गर्दै प्याड बनाउन सिकाइएको हो । हरिपुर्वा नगरपालिका–१ की सुनिताकुमारी रजकले महिनावारी हुँदाको डर र लाज हराएर गएको बताउनुभयो । 

उहाँले महिनावारी भएका बेला यसअघि प्याडका रूपमा जस्तोसुकै कपडा प्रयोग गरे पनि अहिले आफैँलाई घरमै सफा र स्वच्छ सुतीको कपडा प्रयोग गरेर सेनेटरी प्याड बनाउन सिक्दा खुसी लागेको बताउनुभयो । “महिनावारीको समयमा जथाभाबी फोहोर कपडा प्रयोग गर्दा अनेक रोगको सामना गर्नु प-यो तर अब त आफैँले यी यसरी प्याड बनाउन सिकियो,” आफूले बनाएको प्याड देखाउँदै उहाँले भन्नुभयो, “अब त महिनावारीबारे कुनै किसिमको भ्रम छैन ।” हरिपुर्वा नगरपालिका–२ की प्रमिलादेवी साह पनि यो उमेरमा आएर बल्ल महिनावारी र सेनेटरी प्याडबारे थाहा पाएकोमा खुसी हुनुहुन्छ । “पहिले यस्ता कुरा केही थाहा थिएन, महिनावारी हुँदा फोहोरमैला जे भए पनि त्यही कपडा प्रयोग गरिन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले अभिमुखीकरणमा सहभागी भएपछि मात्रै महिनावारी सामान्य प्रव्रिmया हो भन्ने थाहा पाइयो, प्याड पनि आफैँ बनाउन सक्ने भयौँ ।”  

हरिपुर्वा र पर्साका महिलालाई सामूहिक रूपमा भेला पारेर सेनेटरी प्याड बनाउन सिकाइएको हो । गृहिणी महिलालाई आफ्ना छोरीको उमेरका किशोरीले प्याड बनाउन सिकाएका छन् । बागमती सेवा समाज नेपालले किशोरी उमेरका ‘रूपान्तरण लिडर’ परिचालन गरेर घरमा नै सफा कपडाको प्रयोग गरेर गृहिणीलाई सेनेटरी प्याड बनाउन सिकाएको छ । पर्सा गाउँपालिका–३, नारायणपुरकी रविता मण्डलले अभिमुखीकरणमा सहभागी भएपछि महिनावारीबारे बुझ्ने र आफैँले प्याड बनाउन जान्ने अवसर पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्ना छोरी र छरछिमेकीलाई समेत घरमै प्याड बनाउन सिकाउन सक्ने भएको छु ।” 

‘रूपान्तरण लिडर’ मनीषाकुमारी गाउँमा महिनावारी स्वच्छता कक्षा सञ्चालन गरी किशोरी तथा महिलालाई सेनेटरी प्याड बनाउन र प्रयोग गर्न सिकाइरहेको बताउनुभयो । यादवले भन्नुभयो, “सुरुमा आमाहरूसमेत महिनावारीको कुरा गर्दा साह्रै लजाउनुहुन्थ्यो तर अहिले त आफैँ प्याड बनाउन सक्ने हुनुभएको छ ।”