• १२ असोज २०८१, शनिबार

बढ्दै सर्पदंशका बिरामी, छैनन् विशेषज्ञ चिकित्सक

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन १८ गते । सिन्धुलीको दुधौली नगरपालिका–७ निवासी ३७ वर्षीय सम्झना थापा विषालु गोमन सर्पको टोकाइबाट बिरामी भएर स्थानीय दुधौली नगर अस्पतालमा भर्ना भई उपचार गरिरहनुभएको छ । अस्पतालका अनुसार मङ्गलबार बिहान ५ः३० बजेतिर घरको काम गर्न बाहिरभित्र गर्ने व्रmममा करेसामा गरेको ढलानको चेपमा लुकेर बसेको गोमन सर्पले उहाँको खुट्टामा टोकेको थियो । अहिले उहाँको स्वास्थ्यमा सुधार हुँदै आएको छ ।

उहाँको उपचारमा संलग्न अस्पतालका चिकित्सक (एमडिजिपी) सुमनसिं कार्कीले बिरामी थापालाई २० भायल एन्टिस्नेक भेनम दबाइ चलाई उपचार गरेको र स्वास्थ्यमा सुधार हुँदै आएको जानकारी दिनुभयो । उक्त अस्पतालमा अहिले दैनिक विषालुबाहेक अन्य सर्पले टोकेका चार/पाँच जना बिरामीलाई इमर्जेन्सीमा राखेर उपचार गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सर्पले टोकेका बिरामीलाई उपचार गर्न नगरपालिकाले सहयोग गरिरहेको छ । सर्पले टोकेको दुई वर्षको बालिकालाई यहाँ उपचार सम्भव नभएपछि भेन्टिलेटरमा राखेर धरान पु-याई उपचार गरेर ल्यायौँ । सबै खर्च नगरपालिकाले बेहोरेर सहयोग गरेको छ ।”

त्यसो त दुधौली नगर अस्पतालमा सर्पले टेकेका बिरामीको उपचार गर्ने विशेषज्ञ चिकित्सक छैनन् । त्यस्ता बिरामीको उपचार गर्न सम्बन्धित विशेषज्ञ चिकित्सक अस्पतालमा नभएपछि कार्यरत एमडिजिपी चिकित्सक कार्कीलाई नै नगरपालिकाले सर्पले टोकेका बिरामीको उपचार गर्ने तालिम दिलाएर काम चलाएको स्थानीयले बताएका छन् । त्यस्तै दुधौली नगरपालिका–५ निवासी नरबहादुर पुलामीकी दुई वर्षीय छोरीलाई पनि केही दिनअघि घरको जाँतोको छेउमा रहेकोे प्वालमा हात हाल्दा गोमन सर्पले डसेर घाइते बनायो । सर्पको टोकाइले बेहोस बालिकालाई दुधौली नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि धरान पु-याएर बचाएको बालिकाका अभिभावक नरबहादुर पुलामीले जानकारी दिनुभयो ।

हरेक वर्ष गर्मी मौसमको सुरुसँगै असोज/कात्तिकसम्म दुधौली नगरपालिकासहित कमलाखुँज क्षेत्रका बासिन्दा गोमन र करेत जस्ता विषालु सर्पको बिगबिगीबाट त्रसित हुने गरेका छन् । त्यस क्षेत्रमा विषालु सर्पदंशका बिरामीको उपचारका लागि सर्पसम्बन्धी विशेषज्ञ चिकित्सक नहुँदा समस्या हुँदै आएको छ । दुधौली नगर अस्पताल व्यवस्थापन समितिका सदस्य अर्जुन कार्कीले यो वर्ष गर्मी मौसम सुरु भएसँगै सर्पले टोकेका २५ जनाभन्दा बढी बिरामीको अस्पतालले उपचार गरेको र पाँच जना गोमन र करेत जस्ता विषालु सर्पले टोकेको बिरामी रहेका जानकारी दिनुभयो । 

उहाँका अनुसार त्यस क्षेत्रमा गोमन, करेत, धामन, हररा, ढोडियालगायतका सर्पको बिगबिगी हुने गरेको छ । गत वर्ष दुधौली नगरपालिकामा गर्मी मौसममा सर्पको टोकाइबाट ४६४ जना बिरामी भएका र तीमध्ये चार जनाको ज्यान गएको थियो । जिल्लाका नौ वटा स्थानीय तहमध्ये दुधौली नगरपालिका विषालु सर्पको जोखिम क्षेत्र हो । दुधौली नगरपालिकाको १४ वटा वडामध्ये तराई क्षेत्रमा पर्ने वडा नं. १ देखि १२ सम्मका वडामा बर्सेनि गर्मी मौसममा विषालु सर्पको बिगबिगी हुने गरेको छ । नगरपालिकाले सर्पको टोकाइका बिरामीको उपचार गर्न आवश्यक औषधी र चिकित्सकको व्यवस्था गरी निःशुल्क उपचारको सुविधा दिएको छ ।  दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारू सर्पले टोकेका बिरामीको सम्पूर्ण उपचार खर्च र चिकित्सकको तलब सबै नगरपालिकाले बेहोर्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नगर अस्पतालमा सर्पको टोकाइसम्बन्धी उपचार गर्ने विशेषज्ञ चिकित्सक नभए पनि कार्यरत चिकित्सकलाई त्यससम्बन्धी तालिम दिएर काम चलाएका छौँ ।” सर्पले टोकेका बिरामीलाई आवश्यक पर्ने सबै दबाइ नगरपालिकाको सिफारिसमा स्वास्थ्य विभागले निःशुल्क उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । स्थानीय तह गठन हुनुअघि दुधौली नगरपालिकाका बासिन्दाले विषालु सर्पको टोकाइबाट बच्न प्रत्येक घरले वार्षिक १५० रुपियाँ उठाई आफैँले शुल्क तिरेर चिकित्सक खोजेर ल्याई उपचारको व्यवस्था गरेका थिए । स्थानीयस्तरमा विषालु सर्पले टोकेका बिरामीको उपचार गर्न सुविधासम्पन्न सरकारी अस्पताल नहुँदा बिरामीलाई समस्या पर्ने गरेको स्थानीयको गुनासो छ ।