नवराज सुवेदी
नुवाकोट, साउन १८ गते । नुवाकोटमा पछिल्लो समय पूर्वाधार निर्माणका व्रmममा जिल्लाका अधिकांश ग्रामीण भूभाग सडक सञ्जालले जोडिएको छ । गाउँ गाउँमा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवा विस्तार भइरहको छ तर गाउँका युवालगायत सर्वसाधारण सहज जीवनयापन र ठुला अवसरको खोजीमा गाउँ छोड्ने र विदेश पलायन हुने बढ्दा सरकारी नीति र लक्ष्यबिच सामञ्जस्य मिल्न नसकेको देखिएको छ ।
जिल्लाका अधिकांश ग्रामीण क्षेत्र र सदरमुकाम विदुरबिच अहिले पहुँचमार्ग विस्तार भइसकेको छ । कृषि उत्पादन र बजारीकरणमा सघाउ पु-याउने उद्देश्यले सिँचाइ सुविधासहित जिल्लामा पूर्वाधार विकास भए पनि सहज जीवनयापन र अवसरको खोजीमा युवा र सर्वसाधारणले गाउँ छोड्ने वा विदेश पलायन हुने क्रम नरोकिँदा पूर्वाधार विकासको क्षेत्रमा गरिएको सरकारी लगानी उपयोगविहीन बन्न थालेको हो ।
दुई दशकअघिसम्म काम विशेषले ग्रामीण क्षेत्रबाट सदरमुकाम धाउन भालेको डाँकोसँगै झिसमिसेमै घर छोड्नुपर्ने बाध्यता थियो तर पछिल्लो समय यातायातको पहुँच विस्तारसँगै अहिले सदरमुकाम विदुरसँगको दुरी डेढघण्टामा छोट्टिएको छ । पछिल्लो वर्षमा विदुर र बेलकोटगढी नगरपालिकासहित किस्पाङ, म्यागङ, सूर्यगढी, शिवपुरी लिखु, पञ्चकन्या तथा तार्केश्वरलगायत पालिका क्षेत्रका कच्ची धुले सडकको ठाउँमा करोडौंँ लगानीमा करिब चार सय किलोमिटर सडक कालोपत्रेमा परिणत भएको छ । साथै लिखु, तादी र सूर्यगढीलगायतका बेँसी र पहाडी क्षेत्रमा गरी करिब १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको सिँचाइ कार्यालय नुवाकोटका कार्यालय प्रमुख थमबहादुर थापामगरले बताउनुभयो ।
मुलुकको विकास र समृद्धिको मुख्य आधार युवा शक्ति हो तर युवा जनशक्तिले देशमा अवसर नदेखेर बिदेसिने व्रmम बढ्दो छ । आर्थिक उन्नतिको आकाङ्क्षा र पारिवारिक दायित्वको बोझले अरू जिल्लामा जस्तै नुवाकोटमा पनि वैदेशिक रोजगारीको सपना बुन्दै राहदानीका लागि दैनिक सयौँ युवाको जिल्ला प्रशासन कार्यालयमा भिड लाग्ने गरेको छ । ग्रामीण भेगमा जनघनत्व पातलिएसँगै भौतिक पूर्वाधार र सेवा क्षेत्रमा गरिएको लगानी उत्पादनमूलक बन्न सकेको छैन । साथै लाभग्राही सङ्ख्या घट्दा उत्पादन, आयात प्रतिस्थापन तथा बजारीकरण र पूर्वाधार निर्माणबिच तादात्म्य मिल्न सकेको छैन ।
यता राज्यले नागरिक दायित्व अन्तर्गत शिक्षा र स्वास्थ्यलाई सर्वसाधारणको पहुँचमा पु-याउने लक्ष्यसहित आधुनिक भौतिक संरचनासहित सेवा ग्रामीणस्तरमा पु-याएको छ । सामुदायिक विद्यालयमा दिवा खाजादेखि विद्यालय नर्ससम्मको सुविधासहित मावि र उच्च मावि कक्षा सञ्चालन भइरहेको छ । जिल्लाका १२ स्थानीय तहका ८८ वडामा तीन प्राथमिक उपचार स्वास्थ्य केन्द्र, ६४ उपस्वास्थ्य चौकीसहित ११० वटा स्वास्थ्य संस्था सञ्चालन भइरहेका छन् । जिल्लाको घट्दो जनसङ्ख्या दर र बालबच्चाको भविष्य र गुणस्तरीय शिक्षाका लागि सर्वसाधारणको आकर्षण सहरी क्षेत्रतर्फ बढेसँगै त्यसको प्रभाव सहरी क्षेत्रको सेवा क्षेत्रमा परेको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा सेवाग्राही र शिक्षण संस्थामा विद्यार्थीको चाप घटेसँगै विद्यालयको स्तर तथा कक्षा घटुवाको व्रmम बढेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले बताउनुभयो ।