• १२ असोज २०८१, शनिबार

गुल्मीका ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेदका मुद्दा दर्ता

blog

गुल्मी जिल्ला अदालत । तस्बिर: तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास,साउन १८ गते । गुल्मीका ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी गुल्मी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । जस मध्ये ४३ मुद्दा फर्छ्यौट भएको र २२ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो । 

पन्थीका अनुसार गत आर्थिक वर्षमा अदालतमा ३८३ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा  फर्छ्यौट भएको र ७३ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेका छन् ।  पुरुष वादी भएका ६५ मध्ये ४३ र महिला वादी भएका ३१८ मध्ये २६७ मुद्दा  फर्छ्यौट भएका छन् । 

आर्थिक वर्ष २०७९।०८० मा ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा दर्ता गराएका थिए  । सम्बन्ध विच्छेद सम्बन्धी परेको कुल ३८२ थान मुद्दाहरू मध्ये ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा दर्ता गराएका थिए ।

मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुषले पनि सोझै अदालतमा गई सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा दर्ता गर्न सक्ने भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएको पन्थीले बताउनुभयो  ।

विशेष गरी श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीले आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडा र परपुरुषसँगको सम्बन्धका कारण पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने गरेको उहाँको भनाइ छ ।

यस्तै महिलाहरूले पुरुषसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी  ३०९ थान मुद्दाहरू मध्ये २७२ थान मुद्दाहरू फर्छ्यौट भएको र ३७ थान मुद्दा फर्छ्यौट गर्न बाँकी रहेका  थिए । महिलाहरूले पुरुषसँग सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नुका कारणहरूमा घरेलु हिंसा , कुटपिट लगायतका कारणहरू रहने गरेको अदालतले जनाएको छ ।

गत आर्थिक वर्ष जिल्ला अदालत गुल्मीमा कुल ६७४ थान मुद्दा रहेकोमा ४८० थान मुद्दा फर्छ्यौट भएको र बाँकी १९४ मुद्दा रहेको अदालतले जनाएको छ ।

अदालतको लक्ष्य  अनुसार वार्षिक रूपमा फैसला गर्नुपर्ने मुद्दाको सङ्ख्या ४५४ मध्ये असार मसान्तसम्म ४८० थान मुद्दा फर्छ्यौट भएकोले लक्ष्य भन्दा २६ मुद्दा बढी फर्छ्यौट भएको सूचना अधिकारी कमल पन्थीले  बताउनुभयो ।