• १२ असोज २०८१, शनिबार

आफ्नै भवनबाट सेवा प्रवाह गर्दै इलाका प्रशासन कार्यालय रामपुर

blog

इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवन । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), साउन १७ गते । इलाका प्रशासन कार्यालय रामपुरले आफ्नै भवनबाट सेवा दिन थालेको छ । रामपुर नगरपालिका–५ बेझाँडमा निर्माण भएको सुविधा सम्पन्न भवन बाट कार्यालयले सेवा दिन थालेको हो । 

२०७३ सालमा स्थापना भएको कार्यालयले स्थापनादेखि नै रामपुर ५ बेझाँडस्थित भाडाको घर बाट सेवा दिँदै आएको थियो । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाह समस्या हुँदै आएको थियो । १४ कोठा सहितको साढे २ तल्ले भवन बाट गत साउन ७ देखि सेवा दिन सुरु गरिएको कार्यालय प्रमुख गणेश बहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार भवन निर्माण बाँसुरी मोबाइल जेभि रामपुर ४ पाल्पाले भ्याट सहित चार करोड ६८ लाख ६८ हजार ८५३ रुपैयाँ लागतमा २०८० पुस २२ भित्र सम्पन्न गर्ने गरी २०७९ असार २२ मा सम्झौता गरेको थियो । छ महिना म्याद थप पश्चात् निर्माण कम्पनीले गत असार २२ मा भवन निर्माण सम्पन्न गरेको हो । कार्कीले डिपिआर, माटो परीक्षण, भवन निर्माण र कर्मचारी भर्ना गरी कुल चार करोड ५६ लाख ७७ हजार ५७१ को लागतमा भवन निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवन सँगै गार्ड हाउस, क्यान्टिन तथा कम्पाउण्ड निर्माण भएको छ । 

सम्झौता अनुसार समय मै निर्माणको काम सम्पन्न गर्ने गरी काम भए पनि गृह मन्त्रालय बाट समय मै बजेट नआउँदा छ महिना समय थप गर्नु परेको निर्माण व्यवसायी खिम बहादुर केसीले जानकारी दिनुभयो । कार्यालय प्रमुख कार्कीले कोठा अभावका कारण दैनिक सेवा प्रवाहमा असहज हुँदै आएकोमा भवन निर्माण पश्चात् थप सेवा सुचारु गर्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कोठा अभावका कारण सेवा प्रवाहमा असहज भएको थियो । प्रशासनबाट हुँदै आएका कार्य सँगै थप सेवा प्रदान गर्नका लागि समेत सहज हुने भएको छ ।” 

कार्यालयले जिल्लाको ३ पालिका भित्रका १७ वडाका जनतालाई सेवा प्रदान गर्दै आएको छ । हाल सम्म कार्यालय बाट नागरिकता प्रदान सँगै सँगै नाबालक परिचय पत्र, दलित, जनजाति प्रमाणित लगायतका सेवा प्रवाह हुँदै आएको छ । भवन निर्माण सँगै इलाका प्रशासन बाटै राष्ट्रिय परिचय पत्र र राहदानी सेवा प्रदानको लागि प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय औसतमा दैनिक ६० नागरिकता जारी हुने गरेको कार्यालयले जनाएको छ । इलाका प्रशासन कार्यालय रामपुरको सेवा क्षेत्र रामपुर नगरपालिकाको १० वटै वडा, पूर्वखोला गाउँपालिका वडा नं. १ र निस्दी गाउँपालिकाको वडा नं. १ देखि ६ सम्म रहेको छ ।