• १२ असोज २०८१, शनिबार

पुल निर्माणपछि नदी वारपार गर्न सहज

blog

हाल निर्माण भएको झोलुङ्गे पुल ।

राजकुमार भट्टराई

खोटाङ, साउन १७ गते । खोटाङको डिकुवा बाईटारका नागरिकले ढुङ्गा चढेर नदी वारपार गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । सुनकोसी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि ढुङ्गा चढेर नदी वारपार गर्नु पर्ने बाध्यता सधैका लागि अन्त्य भएको हो ।  

हलेसी तुवाचुङ नगरपालिका–२ बाईटार, बलुई, टारगाउँ लगायतका स्थानीय सदियौँदेखि ढुङ्गाबाट सुनकोसी वारपार गर्दै आएका थिए । ढुङ्गा चढेरै उनीहरूका कैयौँ पुस्ता अस्ताए। उक्त गाउँको सदियौँदेखिको समस्या बल्ल अहिले अन्त्य भएको छ । डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्ने पुल बनेपछि उनीहरूको ढुङ्गा चढ्नुपर्ने बाध्यता सेँधैका लागि अन्त्य भएको हो । 

पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत् प्रदेश सरकारबाट प्राप्त ३ करोड ५० लाखमा बाईटार–चिपटार जोड्ने पुल निर्माण गरिएको हो । २०७८ कात्तिक २६ गते बनिसक्नु पर्ने पुल नेपाल फूलबारी–स्वर्णिम–अन्सुमन जेभी काठमाडौँको ढिलासुस्तीका कारण झण्डै तीन वर्ष ढिला सम्पन्न भएको हो । नेपाल फूलबारी–स्वर्णिम–अन्सुमनले ३० महिनामा सक्नेगरी २०७६ वैशाख २६ गतेदेखि पुल निर्माणको ठेक्का लिएको थियो । 

साबिकको डिकुवा–३ बाईटार र बलुई तथा साबिकको डिकुवा–२ टारगाउँका करिब ११० परिवार ढुङ्गाबाट नियमित नदी वारपार गर्दै आएका थिए । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका स्थानीयले समेत सहरबाट ‘नुनदेखि सुन’ ल्याउन सोही घाट प्रयोग गर्दैआएका छन् ।   

चरम ढिलासुस्तीकाबिच निर्माणाधीन पुलको टावर २०७९ चैत १० गते ढलेको थियो । उदयपुरतर्फको टावर ढलेसँगै पुलको काम वर्ष दिन ठप्प भयो । पुलको काम अलपत्र भएको अवस्थामा प्रदेश सांसद भूपेन्द्र राईको दबाबमा २०८० फागुन २९ गतेदेखि पुल निर्माणको काम सुचारु भएको थियो । 

पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई निरन्तर दबाब दिएपछि नेपाल फूलबारी–स्वर्णिम–अन्सुमन जेभीले साउन पहिलो साता पुल निर्माणको काम पुरा गरेको हो । पुलको काम सकिएपछि साउन ६ गते सबै कामदार हिँडेको स्थानीय सुनकोसी प्रावि बाईटारका प्रधानाध्यापक विशाल राईले बताउनुभयो ।