• १२ असोज २०८१, शनिबार

श्रीलङ्का टापुको चिलैया र जलाल क्षेत्रमा कटान तीव्र

blog

कटान भएको क्षेत्रमा रोक्थामको प्रयास गर्दै स्थानीय ।

बाबुराम कार्की  

वराहक्षेत्र, साउन १७ गते । सप्तकोसी नदीले सुनसरीको श्रीलङ्का टापुमा कटान गरिरहेको छ । कोशीले टापुको जलाल, शिशौली घाट र चिलैया क्षेत्रमा कटान गरिरहेको छ । 

कोशीमा पानीको बहाव घटेपछि टापु क्षेत्रमा कान तीव्र हुँदै गएको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने टापुमा एक हप्तादेखि कटान हुँदै आएको हो । 

नदीले कटान गर्न थालेसँगै श्रीलङ्का टापुका स्थानीयहरूमा त्रासदी छाएको छ । टापुमा असारदेखि नै कोसीले सामान्य कटान गर्दै आएको थियो । बाढी कम भएपछि कटान तीव्र हुँदै गएको छ । अहिले ७ सय मिटरभन्दा बढी कटान भइसकेको टापुका स्थानीय बद्री राईले बताउनुभयो । कटानको जोखिममा पर्ने जलाल, शिशौली घाट र चिलैया क्षेत्रमा सप्तकोशी नदीले दैनिक कटान गरिरहेको सन्तोष चन्द्रवंशीले बताउनुभयो । उहाँले भन्नुभयो, “टापुमा बसोबास गर्दै आएका स्थानीयहरूलाई हरेक वर्ष आउने वर्षाको चार महिना कहिले कट्छ झैँ हुन्छ ।”    

नदीमा पानीको बहाव घटे पनि कटान भने भइरहेकै छ । कोसीमा पानी घटेसँगै कटानले उग्र रूप लिएको स्थानीय बद्री राईले बताउनु भयो । राईले भन्नुभयो, “कोसीको पानी घट्दा कटान बढी हुन्छ । पानीको रेत कम पानीमा हुने हुँदा कटान बढी हुने गरेको छ ।”

सन्तोषका अनुसार कोशी नदीमा पानीको बहाव घट्दै गएपछि पानीले नदी उकासको बलौटे माटो कटान गर्ने काम तीव्र रूपमा हुँदै आएको छ । साउनको दोस्रो हप्तादेखि नदीको पश्चिमतर्फको भूभाग कटान गर्दा श्रीलङ्का टापुका ६ सय घरपरिवार बाढीको उच्च जोखिममा परेका छन् ।

वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले कोशी कटान क्षेत्र श्रीलङ्का टापुका स्थानीय बासीहरूसँग प्रकोपको पूर्व तयारी बारे स्थानीयहरू सँग छलफल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कटान रोकथामको लागि बोरामा बालुवा भरेर कटान क्षेत्रमा बोरा पुर्‍याएका छौँ । 

टापुका स्थानीय राजकुमार चन्द्रवंशीले कोशी कटानको दीर्घकालीन समाधान गर्न कोशी प्रदेश सरकार, सङ्घीय सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । 

नगरप्रमुख कार्कीले कोशी कटानलाई नियन्त्रण गर्न तत्काल जिल्ला प्रशासन र गृह मन्त्रालयमार्फत बिहार सरकारको ध्यानाकर्षण गराउने तयारीमा लागेको जनाउनुभयो । सप्तकोसी कटानका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा पर्ने दर्जनौँ बस्तीहरू प्रत्येक बर्खामा जोखिममा पर्ने गरेका छन् । 

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ बेलकाको २ र ३ वडा टापुमा पर्छ । १४ किलोमिटर लम्बाइ र ५ किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको टापुमा ७ हजारभन्दा बढीको सङ्ख्यामा मानिसको बसोबास छ ।