• १२ असोज २०८१, शनिबार

शान्ति समाजको देशव्यापी अभियान आरम्भ

blog

काठमाडौँ, साउन १७ गते । मानव अधिकार तथा शान्ति समाजले विकासको अधिकारमा केन्द्रित रही देशव्यापी अभियान आरम्भ गरेको छ । अभियान आरम्भका अवसरमा विकासको अधिकार आधारभूत मानव अधिकार हुनका साथै लोकतन्त्र र शान्तिसँग सम्बन्धित रहेकाले यो अभियान आवश्यक रहेको नागरिक अगुवा डा.देवेन्द्रराज पाण्डेले बताउनुभयो । 

काठमाडौँ महानगरपालिका-८ बागमतीनगरस्थित शान्ति समाज केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै नागरिक स्वाभिमानका लागि यो अभियान आवश्यक रहेको उहाँले बताउनुभयो । विकाससँगै जोडिएको प्रसङ्ग उल्लेख गर्दै शान्ति समाजले विकासको अधिकारमा केन्द्रित रही थालेको देशव्यापी अभियानको नागरिक अगुवा पाण्डेले सफलताको कामना गर्नुभएको थियो । 

शान्ति समाजका सभापति रामकृष्ण बरालले यो अभियानलाई निरन्तर अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा समाजका पूर्वसभापति तथा सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापतिहरु होमकान्त चौलागाई र डा.गङ्गाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेललगायतले विकासको अभियान सात सय ५३ वटै स्थानीय तहमा लैजानुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा विभिन्न तहको जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो । यसैबिच, ‘विकासको अधिकार अहरणीय अधिकार’ भन्ने मूल नारासहित शान्ति समाजले देशव्यापी अभियान प्रारम्भ गरेको छ । यही मूल नारामा केन्द्रित रही २०८१ मा शान्ति समाजको जिल्ला साधारण सभा हुने जानकारी गराइएको थियो । यस क्रममा साउन १२ गते काठमाडौँ शाखाको साधारण सभा सम्पन्न भइसकेको शान्ति समाजले जनाएको छ । विकासको अधिकारअन्तर्गत शान्ति समाजले पहिलो चरणमा कर्णालीको उत्थान र विकासमा योगदान गर्न र हुलाकी मार्ग शीघ्र सम्पन्न गर्न ध्यानाकर्षण गराउँदै आएको  शान्ति समाजले जनाएको छ । रासस