• १२ असोज २०८१, शनिबार

राष्ट्रिय परिचयपत्रका लागि दुई लाखभन्दा बढीको रजिष्ट्रेसन

blog

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन गराउँदै स्थानीय । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १७ गते । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवा सुविधा लिनका लागि पनि अनिवार्य गर्न थालेपछि पछिल्लो समयमा बाँकेमा राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन गराउनेहरू ह्वात्तै बढेका छन् । 

जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको जानकारी अनुसार जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार ७५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि रजिष्ट्रेसन गराएका छन् । ती मध्ये ५४ हजार ३३३ जनाले जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचयपत्रका लागि रजिस्ट्रेसन गराएको र अन्यले विभिन्न वडाहरूमा रजिस्ट्रेसन गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । उहाँले परिचय पत्रका लागि रजिस्ट्रेसन गराएर नम्बर लिएर जाने धेरै भएपनि परिचय पत्रको कार्ड लिन आउने भने निकै कम सङ्ख्यामा रहेको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय बाँकेमा तयार भएर आएका ३४ हजार २५१ परिचय पत्रका कार्डमध्ये सात हजार ७४५ कार्ड मात्र सम्बन्धित व्यक्तिहरू लिन आएको प्रजिअ रिजालले बताउनुभयो । २६ हजार ५०६ वटा कार्ड जिल्ला प्रशासनमा आएपनि सम्बन्धित व्यक्तिहरू लिन नआउँदा वितरण हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले विभागको निर्देशन अनुसार अहिले प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको कार्ड वितरण स्थगन गरिएको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनरी गाउँपालिकाका केही वडा, राप्तीसोनारी गाउँपालिका–९ तथा नरैनापुर गापाका वडा नं १, २, ३, ४ र ५ नम्बर वडाका लागि ‘रजिस्ट्रेसन’ को काम भइरहेको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी माझीले थप्नुभयो, “अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि गाउँगाउँमा धमाधम काम भइरहेको छ ।” जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार केही वर्षअघि टोली परिचालन गरेर राष्ट्रिय परिचयपत्र बनाइएकोमा उक्त टोलीले जिल्लामा २० हजारको रजिष्ट्रेसन गरेको थियो । 

पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउनेहरूमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका नागरिकहरू बढी भएको जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन शाखाले जनाएको छ ।