• १२ असोज २०८१, शनिबार

जिल्ला कारागार खोटाङमा कैदीबन्दीबिच झडप

blog

राजकुमार भट्टराई

खोटाङ, साउन १७ गते । जिल्ला कारागार खोटाङका कैदीबन्दीबीच झडप भएको छ । कारागारमा रहेका तीन कैदीले एकआपसमा कुटाकुट गरेको बताइएको छ ।

कारागारका नाइके कैदी रोहिणी कार्की तथा कैदी सन्तोष परियार र सुवास बिकबिचमा बुधबार साँझ कुटाकुट भएको कारागारका प्रशासक सोमप्रसाद आचार्यले जानकारी दिनुभयो । कैदी सन्तोष र सुवासको आक्रमणबाट रोहिणीको बायाँ हातमा चोट लागेको छ । आफूमाथि प्रहार भएको बेल्चा छेक्ने क्रममा उनको हातमा चोट लागेको हो । घटनालगत्तै जिल्ला अस्पतालमा लगेर उनको हातमा प्लाष्टर गरिएको आचार्यले बताउनुभयो ।    

झगडामा सन्तोष र सुवासको टाउकोमा पनि समान्य चोट लागेको छ । घट्ना दोहोरिन सक्ने सम्भावनालाई विचार गर्दै सन्तोष र सुवासलाई अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । कैदीबिचमा कुटाकुट भएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम खड्का कारागार पुग्नुभएको थियो । 

कारागारमा खटिएका प्रहरीको सहयोगमा झगडालाई केहीछिनमै साम्य पारिएको कारागार प्रशासक आचार्यले बताउनुभयो ।  

सन्तोष र सुवासलाई चार-पाँच महिनाअघि मात्रै झापा र झुम्काबाट दिक्तेल कारागार सारिएको थियो । उनीहरुले कारागारमा ‘ग्रुपिजम’ सुरु गरेपछि तनावको स्थिति सिर्जना भएको बताइएको छ ।