• १२ असोज २०८१, शनिबार

पर्यटकीय स्थल बन्दै जोरपोखरी

blog

राधा लुइटेल

फिदिम, साउन १७ गते । पाँचथरको हिलिहाङ गाउँपालिका–६ मा अवस्थित जोरपोखरी धार्मिक र पर्यटकीय स्थलको प्रसिद्धि पाउन थालेको छ । सदरमुकाम फिदिमदेखि २७ किलोमिटर पूर्वोत्तरमा अवस्थित यो पोखरी र आसपासमा रहेका एक दर्जनभन्दा धेरै स्थलको प्रचारप्रसार र भौतिक संरचना निर्माणसँगै यो क्षेत्र धार्मिक तथा पर्यटकीय स्थलका रूपमा चर्चा हुन थालेको हो ।  

फिदिम हुँदै अगाडि बढ्ने मेची राजमार्गले छोएको जोरपोखरी क्षेत्रमा सिद्व र सिंंह गरी दुई वटा पोखरीस‘गै सानो पाथीभरा, ब्रह्म वेदाश्रम गुरुकुल, युमा माङहिम र शिवालयसहित दर्जनभन्दा धेरै धार्मिक स्थल छन् । आगेजुङ गुम्बा, शिवगङ्गा र हिलिहाङ पुग्नसमेत जोरपोखरी भएरै जानुपर्ने भएकाले पछिल्लो समय धार्मिक पर्यटकको वृद्वि भएको स्थानीय होटल व्यवसायी कर्णश्याम लावती बताउनुहुन्छ ।

जानकारहरूका अनुसार करिब पाँच दशकअघिसम्म जोरपोखरी क्षेत्रमा घनाजङ्गल मात्र थियो । यहाँ कालो मृगसहित विभिन्न प्रजातिका वन्यजन्तु पाइन्थे । २०४० को दशकमा मेची राजमार्ग विस्तार गर्दा जङ्गल क्षेत्र मासिनुका साथै यहाँको पोखरीसमेत सुक्न थाल्यो । पछिल्लो समय सरकारी र निजी क्षेत्रबाट संरक्षण गर्न थालिएसँगै यहाँ पानीको मात्रा बढ्न थालेको हो । अहिले सिंहपोखरीमा थोरै भए पनि सिद्धपोखरीमा भने पर्याप्त पानी छ । जहाँ राता, सेता र कत्ले माछा पौडिरहेका भेटिन्छन् । 

यो क्षेत्रमा केहीअघिसम्म विभिन्न स्थानका योगी र सन्यासी आएर ध्यान गर्ने गर्थे । पछिल्लो समय यो सङ्ख्यामा केही कमी आए पनि घुम्न आउने पर्यटकको सङ्ख्या भने उल्लेख्य वृद्वि भएको बह्म योगाश्रम जोरपोखरीका शिक्षक भूपेन्द्र पौडेल बताउनुहुन्छ । यहाँको गुरुकुलमा संस्कृत पढाइ हुन्छ । यहाँ विभिन्न समयमा धार्मिक अनुष्ठान, लक्ष्य हवन, कोटि हवन आदिको आयोजना गरिन्छ । साउनका सोमबार र बालाचतुदर्शी जस्ता पर्वमा यहाँ धार्मिक पर्यटकको घुइँचो लाग्छ ।

समुद्री सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा पर्ने यो क्षेत्रमा झापाको बिर्तामोडबाट इलाम, फिदिम हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्गले छोएका कारण सहजै पुग्न सकिन्छ । हिलिहाङ गाउ‘पालिकाले यस क्षेत्रलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन गुरुयोजना बनाउने तयारी गरिरहेको अध्यक्ष समरबहादुर अधिकारी बताउनुहुन्छ ।