• १२ असोज २०८१, शनिबार

फोहोरलाई मोहर बनाउन ‘रिसाइकल’ केन्द्रको शिलान्यास

blog

बर्दीबास समाचारदाता

बर्दीबास, साउन १७ गते । फोहोर व्यवस्थापन देशव्यापी समस्या भएको बेला बर्दीबास नगरपालिकाले फोहोरलाई मोहर बनाउने अभियान सुरु गरेको छ । फोहोरलाई आम्दानीको स्रोतका रूपमा रूपान्तरण गर्न नगरपालिकाले फोहोरमैला प्रशोधन तथा रिसाइकल केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको हो । 

केन्द्रको भवन निर्माणका लागि नगरप्रमुख प्रह्लाद क्षेत्री, उपप्रमुख तारादेवी महतो तथा वडाध्यक्षहरूले मङ्गलबार बर्दीबास–८ स्थित मोडल एग्रो भिलेज परिसरमा संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।  

शिलान्यास कार्यव्रmममा नगरप्रमुख क्षेत्रीले निर्माण द्रुत गतिमा सम्पन्न गरी दुई/तीन महिनाभित्रै फोहोर प्रशोधन कार्य सुरु गरिने बताउनुभयो । केन्द्रमा आधुनिक प्लान्टले प्रशोधन सुरु गरेपछि नगर क्षेत्रका नदी, जङ्गल र गाउँबस्तीमा देखा परेका फोहोरसमेत प्रयोग हुने भएकाले बर्दीबासलाई स्वच्छ, स्वस्थ र सुन्दर नगर बनाउने नगरवासीको सपना साकार हुने बताउनुभयो । 

 मेसिनका लागि प्रशोधन गर्न ठुलो मात्रामा फोहोर आवश्यक पर्ने भएकाले यो प्लान्टले छिमेकी पालिकाका फोहोरलाई पनि व्यवस्थापनमा सहयोग पुग्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “फोहोरलाई प्रशोधन गरी मोहर भिœयाएर सफल नगरपालिका बनाउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको हो ।”

यो प्लान्ट वर्ष दिनअघि नै जडान भइसक्नुपर्ने थियो । पुरानो ठेकेदार भागेपछि नयाँ ठेकेदार हिटा हेभी मेसिनरी रिसाइकल प्रालिले तत्काल डेढ करोड रुपियाँको लागतमा रिसाइकल केन्द्र स्थापना गर्न लागेको हो । यसका लागि नगरपालिकाले एग्रो भिलेज परिसरमा तीन बिघा जमिन हस्तान्तरण गरेको छ । ठेकेदार कम्पनीका प्रमुख तेन्जिङ शेर्पाले तत्काल तीन वटा प्लान्ट जडान गरिने र पछि आवश्यक परे मेसिन थप्दै जाने बताउनुभयो ।

नगरपालिकाका वातावरण प्राविधिक संयोग ढकालले रिसाइकल केन्द्रमा जापानी प्रविधिका फोहोर वर्गीकरण गर्ने ‘एग्रिगेटर’ मेसिन, छुट्याएको फोहोरमध्ये काम नलाग्नेलाई खरानी बनाउने धुवाँरहित ‘इन्सिनेटर’ मेसिन र सिसालगायत नगल्ने फोहोरलाई धुलो बनाउने ‘ग्लास व्रmसर’ प्लान्ट जडान गरिने बताउनुभयो । वर्गीकरण र प्रशोधन गरिएका फोहोरबाट जैविक मल, झोला, घर बनाउने ब्लक जस्ता पुनः प्रयोग गरिने सामग्रीमा उपयोग हुने हुँदा ५०/६० जनाका लागि रोजगारीसमेत सिर्जना हुने जनाइएको छ । 

बर्दीबास नगरपालिकाका १४ मध्ये अहिले तीन वटा वडाबाट मात्र दैनिक छ टन जति फोहोर सङ्कलन हुन्छ । यहाँ जडान हुने एग्रिगेटर प्लान्टको क्षमता भने प्रतिघण्टा एक सय टनसम्म फोहोर वर्गीकरण गर्ने हो । यसका लागि बाँकी रहेका वडा र छिमेकी पालिकाका फोहोरलाई समेत प्रशोधन गर्न सकिने भएको हुँदा यसले अर्थोपार्जनदेखि सभ्य समाज निर्माणमा योगदान पुग्ने ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “कुहिनेलाई जैविक मल र नकुहिने फोहोर रिसाइकल गरी पुनः प्रयोगका लागिसमेत बिक्रि गर्न सकिने भएकाले प्लान्ट सुरु भएपछि मात्र फोहोरभित्र लुकेको मोहर देख्न पाइने छ ।”

ढकलाका अनुसार यो मधेश प्रदेशकै पहिलो रिसाइकल केन्द्र हो । यसअघि वडा नं ६ का वडाध्यक्ष पदम आलेले पुरानो ठेकेदारको लापर्बाहीले पछि परेको यो रिसाइकल केन्द्रको काम द्रुत गतिमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।