• १२ असोज २०८१, शनिबार

वाल्मीकि आश्रम जान भारतले बाटो नदिएपछि ...

blog

वाल्मीकि आश्रम जान पहुँच मार्ग निर्माण गर्दै स्थानीयबासी । तस्बिर: बोमलाल

बोमलाल गिरी

नवलपुर, साउन १७ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका स्थानीय जनश्रमदान गरेर वाल्मीकि आश्रमसम्म पुग्ने पहुँच मार्ग  निर्माणमा जुटेका छन् । भारतले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा रहेको झोलुङ्गे पुलदेखि वाल्मीकि आश्रमसम्म पुग्ने पहुँच मार्ग  निर्माणका लागि आवश्यक पर्ने मेसिनरी सामान लैजान बाटो प्रयोग गर्न नदिएपछि स्थानीयले जनश्रमदान गरेरै पहुँच मार्ग बनाउन सुरु गरेका हुन् ।

मङ्गलवारदेखि सुरु भएको श्रमदानमा स्थानीयको उल्लेख्य सहभागिता रहेको र साउन भित्रै काम सम्पन्न हुने विनयी त्रिवेणी गाउँपालिका वटा नम्बर ६ का अध्यक्ष नरेन्द्र शाहले जानकारी दिनुभयो । 

‘‘पहिले नै सम्पन्न हुने कामका लागि भारतले आफ्नो भूमि प्रयोग गरेर मेसिनरी सामानहरू लैजान नदिएपछि विनियोजन भएको रकम पनि फ्रिज भयो, अध्यक्ष शाहले भन्नुभयो, जसका कारण जनश्रमदान गर्नु पर्ने अवस्था आयो, आश्रममा जान आफ्नै भूमि प्रयोग गर्न पाउने भएपछि स्थानीयको उत्साहजनक सहभागितामा जनश्रमदान चलिरहेको छ ।’’ उहाँले दुई ठाउँमा ठुला पहाड भएकाले अप्ठ्यारो भए पनि साउन भित्रै पहुँच मार्ग निर्माणको काम सकिने बताउनुभयो ।

पहुँच मार्ग निर्माणका लागि बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा २० लाख रुपियाँ विनियोजन गरेको थियो । उक्त बजेटबाट झोलुङ्गे पुलको पूर्वी मुखदेखि वाल्मीकि आश्रमसम्म पहुँच मार्ग र पुलको पूर्वी मुखमा सेनाको चेक पोस्ट बनाउने गरी ओम निर्माण कम्पनीले वैशाख २५ गते सम्झौता गरेर वैशाख २६ गते निकुञ्जबाट कार्यादेशसमेत लिएको थियो ।

पहुँच मार्ग र सेनाको चेकपोस्टको लागि जेसिबीको प्रयोग गर्नु पर्ने भए पनि जेसिबी लैजान भारतको वाल्मीकि टाइगर रिजर्भको वन क्षेत्रको बाटो प्रयोग गर्ने अनुमति नदिँदा बजेट फ्रिज भएको थियो भने टेन्डर पनि रद्द भएको थियो । 

बजेट फ्रिज भएपछि अलपत्र रहेको पहुँच मार्गलाई स्थानीयले आफ्नै सक्रियतामा निर्माण गर्न सुरु गरेका हुन । ज्यालादारी मजदुर र स्थानीयको श्रमदानको सहयोगमा करिब २९ सय मिटर लामो पहुँच मार्ग निर्माणमा जुटेको अध्यक्ष शाहले बताउनुभयो । पहुँच मार्ग निर्माणका छुट्टाइएको बजेट फ्रिज भएपछि पाँच लाख रुपियाँ आर्थिक सहयोग उठाई ज्यालादारी मजदुरसमेत लगाएर काम गरिएको उहाँको भनाइ छ । झोलुङ्गे पुलको पश्चिम तर्फ नेपाली सेनाको चेकपोस्ट निर्माणको काम भने सकिएको छ । 

भौगोलिक हिसाबले चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम चितवनको सडक सञ्जालसँग जोडिएको छैन । आश्रम पुग्ने जो कोहीले पनि हिउँदमा डुङ्गा र वर्षमायामा पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध  कटेर भारत विहार राज्यको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर वाल्मीकि आश्रम  पुग्नुपर्ने बाध्यता थियो ।

आश्रम चितवनको माडीमा रहे पनि सडक सञ्जालले नछोएका कारण त्यसको संरक्षण र रेखदेखको जिम्मा विनयी त्रिवेणीकै रहेको छ । पहुँच माग सञ्चालनमा आएमा वाल्मीकि आश्रम पुग्नका लागि भारतीय भूमि प्रयोग गर्नु पर्ने बाध्यता हट्ने छ । 

भारतीय भूमि प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले निकै कडाइ गर्ने गरेको छ । बाटोमा पर्ने वाल्मीकि टाइगर रिजर्भ वन पोस्टमा टिकट काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँ ठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई सहजै आश्रममा पुग्न कठिन हुने गरेको गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रस्वर भुसालले बताउनुभयो । 

पुल र पहुँच मार्ग निर्माण भएसँगै नेपालकै बाटो प्रयोग गरेर आश्रममा पुग्न सहज हुने र यसले त्रिवेणी र यस क्षेत्रको धार्मिक पर्यटनमा थप टेवा पुर्याउने कार्यकारी निर्देशक भुसालको भनाइ छ ।