• १२ असोज २०८१, शनिबार

बाढीले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध

blog

चुरे क्षेत्रमा राति परेको भीषण वर्षाले क्षति पुर्‍याएको पूर्वपश्चिम लोकमार्गस्थित बेलगाछी पुल ।

रवीन्द्र उप्रेती 

बर्दीबास, साउन १६ गते । चुरे क्षेत्रमा मङ्गलबार राति परेको भारी वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको बाढीले सडक कटान गर्दा पूर्वपश्चिम लोकमार्ग रातिदेखि अवरुद्ध भएको छ ।

बाढीले बर्दिबास-५ स्थित जङ्गली क्षेत्रमा पर्ने फबेलगाछी पुलको पश्चिमतर्फको अप्रोच कटान गर्दा लोकमार्गमा आज राति २ बजेदेखि दुइतर्फी आवागमनमा समस्या भएको छ । बाढीले कटान जारी राखेकोले प्रहरीले पूर्वतर्फको गाडीलाई गौशाला रोड र पश्चिमतर्फका सवारीलाई लक्ष्मिनिया चोकबाट हुलाकी सडक हुँदै गन्तव्यतर्फ पठाएको छ । डाइभर्ट भएका गाडीले करिब ६० किमी घुमाउरो बाटो क्रस गर्नुपरेको छ ।

इलाका प्रहरी बर्दिबासका डिएसपी रेवतीरमण पोखरेलका अनुसार जङ्गली क्षेत्रमा सडक कटान गरेकोले रातिदेखि नै घटनास्थलमा व्यापक सुरक्षा परिचालन गरिएको छ । कटान क्षेत्रमा सडक कार्यालयले बिहान ८ बजेदेखि मर्मत प्रयास गरिरहेको छ ।

सडक डिभिजन कार्यालय जनकपुरका डिइ दीपककुमार झाले मर्मत कार्य तीव्रगतिमा भइरहेको बताउनुभयो । बाढीले १० मिटर लम्बाइ र करिब अढाई मिटर गहिरो खाल्डो पारेकोले अपराह्नपछि मात्र लोकमार्ग खुल्न सक्ने बताउनुभयो ।