• १२ असोज २०८१, शनिबार

बगरफाँटका दुईसय घरमा खानेपानी वितरण

blog

बगरफाँट खानेपानी योजनामा निर्माण भएको पानी सङ्कलन ट्याङ्की । तस्बिर:ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, साउन १६ गते । बेनी नगरपालिका-२ बगरफाँटमा घरघरमा मिटर सहितको खानेपानीका धारा निर्माण गरिएको छ । बगरफाँट खानेपानी योजनाबाट यहाँका दुई सय पाँच घरधुरीमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको हो । 

घरमा निर्माण भएका धाराबाट पानी आउन थालेपछि स्थानीयहरु खुसी भएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय म्याग्दीले दुई वर्षअघि सञ्चालन गरेको ‘एक घर एक धारा’ योजना गत असारमा सम्पन्न भएर पानी वितरण भएसँगै वर्षौं देखिको खानेपानी समस्याबाट बगरफाँटवासीहरु मुक्त भएका छन् ।  

पाँच करोड २४ लाख ३५ हजार रुपियाँ लागत अनुमान गरिएको योजनामा हालसम्म कार्यालयका तर्फबाट खरिद गर्ने सामग्री बाहेक एक करोड ४४ लाख ७५ हजार एकसय १५ रुपियाँ उपभोक्तामार्फत् खर्च भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका इन्जिनियर नविन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार योजनाको करिब ५५ लाख रुपियाँ पाइप खरिदको भुक्तानी दिन बाँकी छ । उपभोक्ता समितिको कार्यालय भवन बनाउन र पानी शद्धीकरण योजनाको संरचना बनाउन बाँकी रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘उपभोक्ताले गर्नुपर्ने कामहरु सकिएको छ । घर-घरमा मिटर सहितको खानेपानीका धारा निर्माण भएर पानी वितरण भएको छ । उपभोक्ता समितिको कार्यालय भवन र पानी शुद्धीकरण योजना सम्पन्न गर्न बाँकी छ ।’’ 

गाउँमा पहिला खानेपानीको समस्या थियो, गाउँका टोलटोलमा बनाएका धाराहरुमा पालो कुरेर पानी भर्नुपर्ने अवस्था थियो बगरफाँट खानेपानी उपभोक्त समितिका सचिव चन्द्रबहादुर घिमिरे भन्नुभयो, ‘‘खानेपानी योजना सम्पन्न भएर घरघरमा पानी वितरण भएपछि बगरफाँटवासीले वर्षौँदेखि भोग्दै आएको खानेपानी समस्याबाट मुक्त भएसँगै खुसी भएका छन् ।’’ उहाँका अनुसार योजना सम्पन्न गर्न २० प्रतिशत गाउँलेले श्रमदान गरेका छन् । 

स्थानीयवासी, उपभोक्ता समिति र योजना कार्यन्वयन गर्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयको सक्रियताले योजना समयभित्रै नै सम्पन्न भएको उहाँले बताउनुभयो।  

कोप्रे, लहरेनीको मुहान र बाङ्गेराबाट पानी ल्याएर ५० घनमिटरका तीनवटा पानी संकलन ट्याङ्कीबाट घरघरमा पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष दीपक मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मुहानमा पानी जम्मा गर्ने च्याम्बर ३ वटा र वितरण च्याम्बर एकवटा निर्माण गरिएको छ ।

योजनामा पाँच हजार दुई सय ७१ मिटर मुख्य र पाँच हजार पाँच सय ४७ मिटर वितरण पाइप लाइन निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष मल्लले बताउनुभयो । योजना सम्पन्न गर्न आर्थिक वर्ष २०७९-८० मा ५३ लाख ११ हजार आठसय ५२ रुपियाँ र २०८०/८१ मा  ९१ लाख ६३ हजार दुईसय ६० रुपियाँ बजेट कार्यालयका तर्फबाट उपभोक्तालाई प्राप्त भएको उहाँको भनाइ छ ।  

खानेपानी नियमित सञ्चालन गर्नका लागि एकजना कर्मचारी नियुक्त गर्ने र आयोजनाको दिगो व्यवस्थापनका लागि महसुल निर्धारण गरिने उपभोक्ता समितिका सचिव घिमिरेले बताउनुभयो  । उपभोक्ता समितिको कार्यालयका लागि भवन निर्माण र पानी शुद्धीकरण योजनाका लागि थप बजेट माग गरिएको सचिव घिमिरेले बताउनुभयो ।