• १२ साउन २०८१, शनिबार

रेलको लिकमा परेर घाइते

blog

जनकपुरमा चल्ने नेपाल रेल । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, साउन १२ गते । रेलको लिकमा हाम फाल्दा एक ३५ वर्षिय युवकको दुबै खुट्टा काटिएको छ । शनिबार बिहान जयनगर–बर्दिवास रेल खण्डस्थित खजुरी स्टेशनको ३ सय मिटर पश्चिमपट्टी गुडिरहेको रेल अगाडि अचानक हामफाल्दा रेलको लिकमा परी धनुषाको जनकनन्दिनी गाउँपालिका ३ महुवाका मिश्री दासको ३५ बर्षिय छोरा श्रीराम दासको दुवै खुट्टा काटिएको हो ।

बिहानको करिब १०ः४९ बजेको समयमा जयनगरबाट जनकपुरधामतर्फ आउँदैगरेको रेल खजुरी स्टेशनबाट छुटेपछि गुडिरहेको रेल अगाडि अचानक हामफाल्दा दासको खुट्टा काटिएको नेपाल रेल्वे कम्पनीका सहायक प्रशासन प्रमुख रिञ्जीत ठाकुरले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “खजुरी स्टेशनबाट छुटेपछि ट्रेनको स्पीड ४० थियो, त्यस्तो स्पीडमा अचानक रेल अगाडि आएर हामफालेका कारण रेल रोक्न सकिएन, ट्रेन रोक्न प्रयास गरिएको थियो ।”

उहाँले यसअघि पनि आत्महत्या गर्ने उद्देश्यले रेलको लिकमा आएर सुतेका घटना सुनाउदै त्यस्तालाई प्रहरीको जिम्मा लगाइएको र दास अहिले अचेत अवस्थामा भएका कारण के कारण हामफालेको भन्नेबारे खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।  दासलाई तत्काल उपचारका लागि जनकपुरधाम प्रादेशिक अस्पताल लगिएको छ ।