• १२ साउन २०८१, शनिबार

ठाडी भन्सारबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन

blog

गोलबजार (सिराहा), साउन १२ गते । जिल्लाको भगवानपुर गाउँपालिका-४ ठाडीस्थित भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यभन्दा आधाले घटेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा पाँच करोड राजस्व कम सङ्कलन गरेको हो ।

कार्यालयले गत आवमा नौ करोड नौ लाख ९३ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा चार करोड १९ लाख २२ हजार राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विनय चौधरीले जानकारी दिनुभयो । कार्यालयले राजस्व चुहावट नियन्त्रण, चोरीपैठारी रोक्न नियमित भन्सार गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीबाट चार सय ५० मुद्दा दर्ता भई चार सय २० मुद्दाको टुङ्गो लगाएको सूचना अधिकारी चौधरीले बताउनुभयो । 

कार्यालय प्रमुख मुकेशकुमार पाठकले राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताउँदै पर्याप्त जनशक्ति नहुँदा अवैध चोरी पैठारी नियन्त्रण गर्न कठिनाइ भइरहेको जानकारी दिनुभयो । उहाँले भारतबाट भित्रिने सवारीसाधन, टायल्स तथा मार्बलबाट बढी राजस्व सङ्कलन हुने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय निर्यातको अवस्था पनि कमजोर रहेको उल्लेख गर्नुभयो । वि.सं.२०७५ अघि छोटी भन्सारका रूपमा रहेको उक्त कार्यालय वि.सं.२०७७ देखि ठाडी भन्सारका रूपमा रूपान्तरण भएको थियो । 

यहाँ खाद्य, पशुलगायतको क्वारेनटिन छैन । “खाद्य वस्तु, पशुचौपायाको भन्सार कट्दैन । सोही कारणले राजस्व सङ्कलनमा असर परेका हो”, कार्यालय प्रमुख पाठकले भन्नुभयो । उहाँका अनुसार प्रमुखसहित १९ जनाको स्वीकृत दरबन्दी रहेकामा हाल कार्यालयमा स्थायी नौ र करारमा दुईजना कर्मचारी कार्यरत छन् । ठाडी भन्सार कार्यालयले गत आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि चालु आवमा चार करोड २३ लाख ४२ हजारको लक्ष्य पाएको प्रमुख पाठकले जानकारी दिनुभयो । रासस