• १२ साउन २०८१, शनिबार

दाइजो हटाउन अभियान चलाउनुपर्ने : मन्त्री साह

blog

लहान समाचारदाता 

लहान, साउन १२ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले मधेश प्रदेशमा दाइजो प्रथा हटाउन जातीय सङ्गठनहरू मिलेर अभियान चलाउनुपर्ने बताउनुभएको छ । 

शौण्डिक चौरासी समाजको चौथो महाधिवेशनलाई शुव्रmबार लहानमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री साहले तराई मधेशमा विद्यमान दाइजो प्रथा हटाउन सरकारी अभियानले मात्रै सम्भव नरहेकाले समाजका सबै जातजातिका बृहत्तर हितका लागि गठन भएका जातीय सङ्घ संस्थाले यसमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

शौण्डिक चौरासी समाजले तेली, हलुवाई, कलवार, जयसवाल, गुप्ता, रौनियार सबैलाई समेटेर वैश्य समाज गठन गरी यसको दायरा बढाए मात्रै राजनीतिक अधिकार र सामाजिक कार्यहरू गर्न सकिने सुझाव उहाँले दिनुभयो । 

मन्त्री साहले सप्तरी–१ मा सुँडी समाजका नामबाट सञ्चालनमा ल्याइएको धर्मशालामा सबै जातजातिलाई सामाजिक कार्य गर्न दिइरहेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “जातीय सङ्घ संस्थालाई चुनावको समयमा मत सङ्कलन गर्ने कार्यमा मात्रै प्रयोग गर्नु हुँदैन । दाइजो प्रथा हटाउन, मृत्युभोजको दायरा घटाउन, बालबालिकालाई विकृतिको दलदलमा फस्नबाट रोक्न र ज्येष्ठ नागरिकलाई सम्मान दिन काम गर्ने बेला आएको छ ।”

पूर्वउपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राजनीतिक सङ्कीर्णताले कहीँ कतै पनि विकास हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दाइजो प्रथा घर घरको समस्या भएको छ । यसलाई हटाउन सामाजिक जागरण आवश्यक छ । त्यस्तो सामाजिक जागरणका लागि जातीय सङगठनहरू मिलाएर अगाडि बढ्नु पर्छ ।” 

अल्पसङ्ख्यक र बहुसङ्ख्यक समुदायको बिचमा रहेको दुरीलाई समेत अन्त्य गर्न शौण्डिक समाजले पहल थाल्नुपर्ने पूर्वमन्त्री महासेठले सुझाव दिनुभयो । उहाँले थप्नुभयो, “सुँडीले सुँडी जाति खोजेर विवाह गर्ने परम्परा तोडेर अन्तरजातीय विवाहलाई समेत बढावा दिए दाइजो प्रथालाई हटाउन बल मिल्ने छ ।”

कार्यव्रmममा सिरहा–१ का सङ्घीय सांसद रामशङ्कर यादवले लहानको सहरी क्षेत्रमा आधा दर्जन जातीय सङ्घ संस्थाले करोडौँको भवन निर्माण गरेर कार्यालय, सदन सञ्चालनमा ल्याए पनि सामाजिक जागरण ल्याउन, विकृति हटाउन कुनै कार्यव्रmम सञ्चालनमा ल्याउन नसक्नु विडम्बना भएको भन्दै शौण्डिक समाजले समाजलाई जोड्ने कार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी शौण्डिक समाजका जयप्रकाश चौधरी, मनमोहन साह, नागेन्द्रप्रसाद साहलगायतले शौण्डिक सुँडी समाजको एकता र जातीय सङ्गठन निर्माण गरेर सामाजिक विकृति हटाउन अग्रसर हुन सुझाउनुभयो । लहान नगरपालिकाका पूर्वनगरप्रमुख शौण्डिक समाजका अध्यक्ष मुनि साहको अध्यक्षतामा चौथो महाधिवेशनमा समाजका विभिन्न क्षेत्रमा कार्य गर्ने स्वजातीय अगुवाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।