• १३ साउन २०८१, आइतबार

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित

blog

मलेखु (धादिङ),  असार ३१ गते । धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो ।  

गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिनुभएको छ । “चारैतिरबाट पहिरोले घेरेको छ । गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ । एउटा घरको शौचालय बगिसक्यो”, उहाँले भन्नुभयो, “गएराति १२ बजेतिर पानी प र्‍याे, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ ।”

मकैबारीको भित्रभित्रै चिरा परेको छ । गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरु छन् । एउटा भत्किने बित्तिकै सबै भत्किने खालका घर छन् । पहिरोको मुखमै परेको नोर्बु लामासहित तीन÷चार परिवारले राति नै घर खाली गरेको पूर्ण तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस्तीभन्दा तल्लो भागबाट बारीका गराहरु भासिन थालेका छन् । जमिन चिरा परेर बग्न थालेको छ । पहिरो झर्ने सङ्केत देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन खतरा बढेको जनाइएको छ । अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।

किचेत गाउँमा विशेष गरी तामाङ समुदायको बसोबास छ । सो गाउँ जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब ५५ किलोमिटरको दूरीमा छ । बर्खा लागेपछि सो स्थानमा पुग्न यातायात सेवा अवरुद्ध हुने गर्दछ । रासस