• १३ साउन २०८१, आइतबार

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

blog

सिन्धुपाल्चोक,  असार ३१ गते । याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पु र्‍याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको  आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पु र्‍याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । 

जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडक अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधन चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उहाँले बताउनुभयो । त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताउनुभयो । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।

 मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिब्रिज’ पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल बाढीको  जोखिममा परेको छ  । यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिब्रिज’ बाढीले बगाएको छ । रासस