हरिप्रसाद कोइराला
उर्लाबारी, असार २८ गते । सङ्घ र प्रदेश सरकारका विभिन्न कार्यक्रम अन्तर्गत मोरङका आठ वटा पालिकाले शीत भण्डार निर्माणका लागि आर्थिक अनुदान पाएका छन् ।
पालिकामार्फत् उपलब्ध भएको अनुदान रकमबाट धेरै जसो पालिकाले शीत भण्डारको प्रक्रियाअघि बढाउन सकेका छैनन् । कतिपय पालिकाले शीत भण्डार निर्माणको जिम्मा सहकारीहरूलाई दिएका छन् । सहकारीले शीत भण्डार त बनाएका छन् । तर सेयर सदस्य र गैर सदस्यलाई सेवा शुल्क फरक फरक सेवा शुल्क लिएर सेवा दिइरहेका छन् ।
मोरङको ग्रामीण क्षेत्रका किसानले कुनै समय फलफूल र तरकारीको बिउँ भण्डारण गर्न विराटनगरका शीत भण्डार पुर्याउनु पर्ने बाध्यता थियो । हाल त्यो बाध्यता हटेको छ । तर सरकारी अनुदानको प्रयोग नाफा कमाउने सहकारी संस्थालाई दिँदा सहकारीमा सेयर नभएका किसानले महँगो सेवा शुल्क तिरेर सेवा लिनु परिरहेको छ । आरती बहुउदेश्यीय सहकारी संस्था लि. पथरीशनिश्चरे–१ ले सरकारबाट ४० लाख रुपियाँ अनुदान प्राप्त गर्याे । नगरको वडा नं. ३ मा सहकारी संस्थाले अनुदान सहित ६० लाख रुपियाँ खर्च गरेर शीत भण्डार निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
सहकारीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र भण्डारीले भन्नुभयो, ६५ फिट लम्बाई र ३५ फिट चौडाईका २ वटा चेम्बरमा निर्माण गरिएको छ । ५० मेट्रिक टन क्षमताको शीत भण्डारमा सहकारी संस्थाले शेयर सदस्य र गैर सदस्यलाई फरक दरमा सेवा दिइरहेको छ ।
मोरङको रङ्गेलीमा सञ्चालनको अन्तिम चरणमा शीत भण्डारलाई प्रदेश सरकारले ७ लाख रुपियाँ अनुदान दिएको छ । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले भन्नुभयो, "जिल्ला कै ठूलो भनेर प्रदेश र सङ्घीय सरकारबाट अनुदान पाएको छ । तर सञ्चालन हुन सकेको छैन । सिंह अनुसार मोरङको बेलबारी–५ मा शीत भण्डार निर्माण गर्न सङ्घीय सरकारको ४ करोड अनुदान प्राप्त भयो । चार वर्षअघि प्राप्त भएको अनुदान पटक पटक फ्रिज भयो ।"
बेलबारी–५ का वडाध्यक्ष डिल्लीबहादुर कट्वालले भन्नुभयो, "०७९ मा म निर्वाचित भएर आउनुभन्दाअघि कै कुरा हो । हामी आएपछि जग्गा खोजेर वडा नं. ४ को सखुवाटोलीमा शीत भण्डारको निर्माण गर्ने प्रक्रिया सुरु भएको छ ।" ५० टन क्षमताको शीत भण्डार निर्माण गर्न अनुदान आएको थियो । तर समयमा जग्गा उपलब्ध नभएकोले काम सुरु नभएको वडाध्यक्ष कट्वालले बताउनुभयो ।
प्रदेश सरकारले सुनवर्षी नगरपालिका ६ झपडतलमा २० मेट्रिकटनको शीत भण्डारका निर्माणका लागि १० लाख अनुदान दिएको थियो । खेतका बिचमा शीत भण्डार निर्माण पनि भयो । तर सञ्चालन होला भन्दा भन्दै १ वर्ष बित्न लाग्यो । न त शीत भण्डारसम्म पुग्ने सडक बन्यो न त शीत भण्डारमा राख्ने उपकरण नै खरिद भएको छ । वडा नं. ६ की वडासदस्य टीका पौडेलले भन्नुभयो, वातानुकुलित (एसी) उपकरण ल्याउन र सडक निर्माण गर्न बाँकी छ ।
सुन्दरहरैँचा –७ गछियामा भने शीत भण्डार निर्माण भएर सञ्चालनको चरणमा पुगेको छ । वडाध्यक्ष भुवन आलेमगरले भन्नुभयो, "प्रदेश र नगरको साझेदारीमा १ करोड ७० लाख रुपियाँमा २ सय मेट्रिक टनको शीत भण्डार निर्माण भएको छ ।" अबको एकसातामा सुचारु हुने वडाध्यक्ष मगरले बताउनुभयो ।
मोरङको कानेपाखरी–४ मा साना किसान सहकारी संस्था लि. बयरवनले २० मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण ग¥यो । १० लाख सरकारी अनुदान प्राप्त गरेको सहकारीले शीत भण्डार निर्माण गरी सुचारु गरिसकेको छ । यस्तै रतुवामाई-४ को झुर्कियामा नगरले प्राप्त गरेको ५० लाख अनुदानमा अरु ३० लाख रुपियाँ थप गरी ८० लाख रुपियाँमा शीत भण्डार निर्माण ग¥यो । नगर प्रवक्ता भूलबहादुर कार्कीले भन्नुभयो, "शीत भण्डार त बन्यो तर प्रयोगमा आउन सकेको छैन ।"
मोरङको कटहरी –१ मा १५ मेट्रिक टन क्षमताको मिनी शीत भण्डार निर्माण भएको छ । प्रधानमन्त्री कृषि परियोजनाको ८० प्रतिशत अनुदान र गाउँपालिकाको २० प्रतिशत लगानीमा शीत भण्डार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीका अनुसार प्रारम्भिक चरणमा १५ मेट्रिक टनको निर्माण गरिए पनि माग र आवश्यकता बढ्दै गए क्षमता विस्तार गरी ५ सय मेट्रिक टन सम्म बनाउन सकिन्छ।