• १२ साउन २०८१, शनिबार

एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

blog

तस्बिर:रासस

चितवन, असार २७ गते । चितवनमा एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ ।

रत्ननगर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताउनुभयो । उपजलाई छुट्टाछुट्टै च्यामबर र तापक्रममा राखिने उहाँले जानकारी दिनुभयो । “कृषि उपज एक वर्षसम्म  शीतभण्डारमा राख्न सकिनेछ”, उद्यमी श्रेष्ठले भन्नुभयो । यहाँ भण्डारण गरिएका कृषि उपज भाटभटेनीसँगै आवश्यकताअनुसार अन्य स्टोरमार्फत बजारमा पठाइने छ । 

उद्यमी श्रेष्ठले भन्नुभयो, “अब मूल्य नपाएर कृषि उपज सस्तोमा बिक्री गर्नु पर्दैन ।” उत्पादन खेर जाने समस्या उहाँ आफैँले भोगेकाले शीतभण्डारलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । किसानलाई प्रेरित गरेर त्यहाँ उत्पादित वस्तु खरिद गरी ग्रेडिङ, लेबलिङ र प्याकिङ गरेर भण्डारण गरी आवश्यकताअनुसार बजार पठाउने उहाँको लक्ष्य छ । उद्यमी गुरुङले चितवनसँगै जनकपुर, भैरहवा, नेपालगन्ज र इटहरीमा पनि १० हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

“चितवनमा सम्पन्न भएपछि अन्य ठाउँमा शीतभण्डार निर्माण गरिनेछ”, उहाँले भन्नुभयो । रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीले शीतभण्डार निर्माणबाट चितवनको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । शीतभण्डार निर्माणपछि उत्पादन सडेर जाने अवस्था अन्त्य हुने उहाँहरूको भनाइ छ । ‘एग्रीवस्तु प्रालि’का प्रबन्ध निर्देशक आशिष् उपाध्यायले किसानलाई लक्षित गरेर ल्याएको यो परियोजनाले नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो । रासस